घोराही, २९ मङ्सिर । घोराही उपमहानगरपालिका–१३ उपल्लो लापे निवासी दानबहादुर राङु मगरले आठ कट्ठा जमिनमा व्यावसायिक टमाटर खेती गर्दै आउनुभएको छ । टमाटर राम्रो फलेको छ तर जङ्गली जनावरबाट कसरी बचाउने भन्ने जहिल्यै चिन्ता हुन्छ ।
मकै, गहूँ, आलुलगायतका खेती गर्दा वर्षौँदेखि जङ्गली जनावरको समस्या झेल्दै आएपछि ती बालीको खेती गर्न छोडेर टमाटर खेतीमा लागेका दानबहादुर भन्नुहुन्छ, ‘उत्पादन राम्रै हुन्छ तर आम्दानी लिने आधाको मात्रै हो, आधा त बाँदरले सकिदिन्छन्, बाँदरलाई अधिया दिए जस्तै हुन्छ ।’ पहिलेदेखि नै बाँदर र रतुवाले धेरै सताउने गरेर बाली नै बदले पनि यो सास्तीबाट मुक्ति नपाएको उहाँ बताउँनुहुन्छ ।
जङ्गली जनावरबाट टमाटर खेती जोगाउन समस्या बढेको भन्दै उहाँले भन्नुहुन्छ, ‘रातको समयमा रतुवा र दिउँसोमा बाँदर बारीमा पसेर खाने र नोक्सान गर्ने गर्छन्, तिनलाई नजिक पर्न नदिने केही उपाय भए त हाम्रा लागि राम्रै हुन्थ्यो ।’ बाली जोगाउन रातभर नसुत्ने गरेपनि कतिबेला सिध्याउने हुन भनेर पत्तै हँुदैन । बगाले बाँदरको ठुलो हुल बारीमा पसेपछि ठुलो क्षति गर्ने गरेको भन्दै बाँदरलाई भगाउने उपाय खोजी दिन समेत स्थानीय सरकारस्ँग माग गर्नुहुन्छ ।
दानबहादुर जस्तै गुनासो छ, उपल्लो लापेकै कृष्ण शाहीको पनि । १४ कट्ठा बढी जमिनमा टमाटर खेती गनुभएका कृष्णलाई पनि खेती जोगाउन समस्या छ । मकै, गहूँ, आलुलगायतका बाली बँदेल, बाँदरले खाएर भित्राउनै नदिन थालेपछि ती बाली छोडेर टमाटर खेतीमा लागेपनि छुुटकरा पाउन नसकेको उहाँको दुखेसो छ । उहाँले भन्नुभयो,‘मकै, गहूँ, आलु खेती गर्दा बँदेल र बाँदरले भित्राउन नदिएपछि टमाटर त खाँदैन होला भनेर खेती गरेका थियाँै तर अहिले टमाटर पनि बचाउन धौ–धौ भएको छ ।’ जङ्गलमा बाँदरको संख्या बढेको र फलपूmलका बिरुवा नहुदा किसानले गरेको खेतीमा पस्ने गरेको बताउनुहुन्छ ।
पछिल्लो समय जंगली चिउरी फुलेका कारण केही राहत मिलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘जङ्गलमा चिउरी नफुल्दासम्म बाँदर खेतीमा पस्ने भएकाले बारीमै बास हुन्थ्यो तर आजभोलि जङ्गलमा चिउरी फुलेको छ, जस्ले गर्दा चिउरीकै बोटमा बाँदर भुल्ने गरेका कारण धेरै राहत मिलेको छ ।’ टमाटर आपूmहरूका लागि अधिया खेती गरेजस्तै हुने गरेको भन्दै उहाँले भन्नुभयो,‘अन्य खेती हुँदैन,घर व्यवहार चलाउने माध्यम यहि हो तर त्यही पनि सवै संकलन गर्न पाइदैन ।’
उपल्लो लापे मात्रै होइन, मौलाकोट निवासी गंगाबहादुर थापा पनि जङ्गली जनावरबाट टमाटर खेती जोगाउन समस्या भएको बताउँनुहुन्छ । चिसो हावापानी र ओसिलो माटो हुने भएका कारण सिँचाइ नभएपनि टमाटर राम्रो उत्पादन हुने गरेपनि जङ्गली जनावरका कारण जोगाउन धौ–धौ पर्ने गरेको बताउँनुहुन्छ ।
उहाँले भन्नुहुन्छ,‘बाँदर धपाउन गाह्रो, धेरै क्षति गरिदिन्छन् ।’ उहाँले जङ्गली जनावरबाट कृषि बाली बचाउन स्थानीयलाई ठुलो समस्या भएको समेत बताउँनुहुन्छ । उहाँले भन्नुभयो,‘भौगोलिक रूपमा विकट भए पनि टमाटर राम्रो फल्ने भएकाले वर्षभरि घरको जोहो गर्ने मुख्य बाली यही हो तर त्यही बाली पनि राम्रोसँग भित्राउने समस्या किसानलाई रहेको छ ।’
पहाडी क्षेत्र भएकाले सिँचाइको व्यवस्था नहुँदा अन्य कृषि बाली नहुने र टमाटर खेती हुने भएकाले गाउँका अधिकांश किसानको मुख्य पेसा टमाटर खेती हो । उपल्लो लापे र मौलाकोटका करिब २५÷३० घरपरिवार किसानले व्यावसायिक टमाटर खेती गर्दै आएको स्थानीय बताउँछन् ।