प्रधानमन्त्री कप महिला प्रदेशस्तरीय छनोट खेलको फाइनलमा दाङ र रुपन्देही भिड्ने

दाङ, २८ मंसिर । घोराहीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाईनलमा दाङ र रुपन्देही भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा दाङले नवलपरासीलाई ९ विकेट र दोश्रो खेलमा रुपन्देहीले बाँकेलाई १६ रनले पराजित गर्दै फाईनल भेट पक्का गरेका हुन् ।

छनोट प्रतियोगितामा समुह ‘बी’ बाट अपराजित रहेको बाँकेले सेमिफाईनलमा हार ब्यहोर्दै बाहिरिएको छ भने अपराजित रहेको समुह ए को दाङले नवलपरासीलाई हराउँदै फाईनलमा पुगेको छ । घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नवलपरासीले १२ दशमलव १ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।

नवलपरासीकी कप्तान सरस्वती पुनले १७, साक्षी भण्डारीले १६, सुमिना नेपालीले १० रन बनाए । नवलपरासीलाई सस्तैमा समेट्न दाङकी कप्तान सरस्वती जिएमले १ मेडनसहित १ रन पनि नदिएर ३ विकेट लिएकी थिइन । अविजित ३१ रन बनाएकी कमला जिएमले ३ विकेट लिइन भने सर्मिला रोका २ र मधु डिसीले १ विकेट लिएका थिए । ७२ रनको विजयी लक्ष्य पछ्याएको दाङले १ विकेटको क्षतिमा नवौँ ओभरमा सहज जीत हासिल गर्दै फाईनल यात्रा तय गरेको थियो । जसमा लक्ष्मी चौधरीले १२, कमला जिएमले ३१ र कप्तान सरस्वती जिएमले ३ रन बनाएका थिए । नवलपरासीकी सरस्वती पुनले १ विकेट लिइन ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दाङकी कमला जिएम प्लेयर अफ द म्याच भइन । दोश्रो खेलमा रुपन्देहीले बाँकेलाई १६ रनले हराउँदै फाइन प्रवेश गरेको हो । नवलपरासीले ६ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो । सम्मानजनक स्कोर बनाएको रुपन्देहीका लागि कप्तान कृतिका मरासिनीले अविजित १९, श्रुति बुढाथोकीले १०, कृति अधिकारीले २३, सुस्मिता भुसालले ११, कविता खड्काले ६ रन बनाइन ।

बाँकेका गायत्री कश्यपले २, मनिषा रानामगर र शोभा शाहीले समान १÷१ विकेट लिए । १ सय १३ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको बाँके ९ विकेटको क्षतिमा ९६ रनमै समेटिन पुग्यो ।
बाँकेका लागि चमेली चौधरीले अविजित २३ रन, कप्तान रन्जु श्रेष्ठले १२, जिज्ञासा थापाले ६, सुस्मिता बजगाइँले ८, शोभा शाहीले ३, एलिना वर्माले ६, सिमाना मल्लले २, मनिषा रानामगरले ७ तथा गायत्री कश्यपले १ रन बनाए ।

प्रतियोगितामा रुपन्देहीकी कप्तान कृतिका मरासिनी, कविता खड्का, सन्ध्या चापागाइँ र सरु तिवारीले समान २–२ र सुस्मिता भुसालले १ विकेट लिइन । रुपन्देहीलाई जीत दिलाउन कप्तानी भुमिका खेलेकी कृतिका मरासिनी प्लेयर अफ द म्याच भइन । दाङ जिल्ला क्रिकेट संघको आयोजना भएको प्रदेशस्तरीय छनोट खेलको फाईनल खेल शुक्रबार बिहान १० बजेबाट सुरु हुनेछ ।