गोरक्ष समाचारदाता
दाङ, २८ मंसिर । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी भएका बेला बिदा दिने भएको छ । महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्थासहित प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरेको यो विधेयक राजपत्रमा प्रकाशित भएपछि लागु हुने छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्तोषकुमार पाण्डेले यो विधेयक कार्यान्वयनमा आएपछि महिनावारी बिदा दिने व्यवस्था कार्यान्वयन हुनेछ । ‘प्रदेश मातहतका महिला कर्मचारीले महिनावारी भएको अवधिमा बिदा पाउने व्यवस्था लागु हुनेछ’, प्रवक्ता पाण्डेले भने । गत भदौ २२ गते संसद्मा पेस भएको यो विधेयक ३ महिनापछि गत २१ गते प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको हो । सरकारका प्रवक्ता पाण्डेका अनुसार यो विधेयक लागु भएपछि महिनावारी भएका महिलाले एक दिनको बिदा पाउने छन् । यो व्यवस्था अन्तर्गत महिनावारी भएका बेला एक दिनको बिदा दिइने छ । ‘महिला कर्मचारीलाई महिनावारी भएका बेला बिदा दिने व्यवस्था गरिने छ’, सरकारका प्रवक्ता पाण्डेले भने, ‘महिनावारीका बेला महिला कर्मचारीका लागि एक दिनको बिदाको व्यवस्था हुने छ ।’
लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीका लागि गरेको बिदाको यो व्यवस्थालाई महिला नेतृहरूले राम्रो निर्णय भनेका छन् । नेपाली कांग्रेस राष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाले महिनावारीका बेला सरकारले गरेको महिलालाई बिदा दिने निर्णय सराहनीय काम भएको बताइन् । महिनावारीका बेला रक्तश्राव भई महिलाहरूमा कमजोरी हुने भएकाले बिदा दिएर उनीहरूलाई आराम हुने व्यवस्था सरकारले मिलाउनु राम्रो काम भएको उनले बताइन् ।
‘महिनावारीका बेला महिला रक्तश्राव भई कमजोर हुने अवस्था हुन्छ, यो बेला महिलाले आराम खोजिरहेको अवस्था हुन्छ’, देवकोटाले भनिन्, ‘यस्तो बेलामा सरकारले बिदा दिएर महिलालाई सम्मान गरेको छ, यो सराहनीय काम हो ।’ अहिलेसम्म महिनावारी भएका महिलालाई बिदा दिने व्यवस्था नभएको भन्दै देवकोटाले लुम्बिनी प्रदेश सरकारले राम्रो कामको सुरुवात गरेको बताइन् । ‘अहिलेसम्म महिनावारी भएका महिलालाई बिदा दिने व्यवस्था कतै लागु भएको थिएन’, देवकोटाले भनिन् ‘लुम्बिनी प्रदेशले यसको सुरुवात गरेको छ, यो निर्णय साह्रै स्वागतयोग्य छ ।’
माओवादी नेतृ एवम् लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसीले महिनावारी भएका बेला महिलाले खेप्नु परेको अप्ठेरोलाई सम्बोधन हुने गरी प्रदेश सरकारले गरेको यो निर्णयले महिलालाई ठुलो राहत हुने बताइन् । ‘महिनावारी भएका बेला महिला कर्मचारीलाई पर्ने गरेको समस्यालाई मध्यनजर गरेर बिदा दिनु पर्छ भन्ने हाम्रो आवाजलाई प्रदेश सरकारले सम्बोधन गरेको छ’, केसीले भनिन्, ‘यो महिलाहरूको पक्षमा गरिएको ज्यादै जायज निर्णय र सहुलियत हो ।’ महिनावारीको समयमा महिला कमजोर बन्ने र काम गर्न सक्ने अवस्थामा नरहने भन्दै केसीले यो बेला महिलालाई आरामको अति आवश्यक पर्ने बताइन् ।
‘म पनि महिला हो, महिनावारीको पिरियडमा मलाई पनि कतै जानु नपरे हुन्थ्यो, कुनै काम गर्नु नपरे हुन्थ्यो भन्ने लाग्छ, शरीर धेरै कमजोर भएको हुन्छ’, केसीले भनिन्, ‘यस्तो अवस्थामा सरकारले बिदाको व्यवस्था गर्नु महिलाका लागि ज्यादै राहतको विषय हो ।’ उनका अनुसार महिला सांसदले महिनावारी भएको अवधिमा तीन दिनको बिदा हुनु पर्ने माग गरेका थिए । ‘यसको कार्यान्वयनको पाटो कति सहज हुन्छ, कसरी अगाडि बढ्छ, यो पछिको कुरा हो’, प्रदेश सभा सदस्य केसीले भनिन्, ‘तर हामीले महिनावारीका बेला तीन दिनको बिदा महिलाका लागि व्यवस्था गरिनु पर्छ भनेर आवाज उठाएका थियौँ, जे भए पनि विधेयकमा यो व्यवस्था उल्लेख गरिएको छ, यो हामी महिलाका लागि साह्रै खुसीको कुरा हो ।’
प्रतिनिधि सभा सदस्य एवम् एमाले नेतृ मेनका पोख्रेलले पनि महिलालाई महिनावारी बिदा दिने निर्णयलाई जायज भएको बताइन् । महिनावारी (पिरियड) का बेला महिलाले भोग्नु परेको सास्तीलाई मध्यनजर गर्दै यो समयमा बिदा दिइनुलाई प्रदेश सरकारको राम्रो निर्णयका रूपमा उनले अथ्र्याइन् । ‘महिनावारी हुँदा हुने रक्तश्राव, पेट दुख्ने समस्याका कारण महिला शारीरिक रूपमा अशक्त बनेको अवस्था हुन्छ’, प्रतिनिधि सभा सदस्य पोखे्रलले भनिन्, ‘यो बेलामा बिदा दिइनु महिलाका लागि ठुलो राहत वा सहुलियत हो ।’