दाङ,२१ मंसिर । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता–२०८० को तयारीका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता दाङमा हुने भएको छ ।
दाङ जिल्ला क्रिकेट संघको आयोजनामा पुसको २५ देखि २९ गतेसम्म घोराही उपमहानगरपालिका–१७ गुलरीयास्थीत क्रिकेट रंगशालामामा प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले जानकारी दिएका छन् ।
उनका अनुसार छनोट प्रतियोगितामा दाङसहित बाँके, रूपन्देही, बर्दिया, नवलपरासी र पाल्पा सहभागी हुने भएका छन । प्रदेशस्तरीय छनोट खेलमा खेलाडीहरुले गरेको क्षमता प्रदर्शनका आधारमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरी टिम छनोट गरिनेछ ।नेपाल क्रिकेट संघको वार्षिक खेल तालिका अनुसार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट खेलमैदानमा पुसको पहिलो सातादेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदैछ ।
बिहीबार दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगर,प्रादेशिक क्रिकेट संघका सदस्य बालकृष्ण खत्रीलगायतको सहभागीतामा बसेको बैठकले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले प्रतियोगिताका लागि क्रिकेट संघ दाङका सदस्य विशेष अधिकारीको संयोजकत्वमा रुपेश शर्मा र विकास आचार्य सदस्य रहेको समिति समेत गठन गरेको छ । दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्तीमगरको स्वागत मन्तव्यवबाट सुरुभएको बैठकको संचालन संघका सचिव सञ्जु केसीले गरेका थिए ।
