नवराजका बावु भन्छन् : डर सकियो, अब शान्तसँग बस्छु

सोती नरसंहारको फैसला
सुदन थापा
दाङ, २१ मंसिर । दिउँसो १ बजे अदालतको बहस सकियो । अन्तिम फैसलाका लागि तीन÷चार घण्टा समय लाग्ने न्यायाधीशको बोलीले नवराज विकका बुवा मुनलालको मुटुको ढुकढुकी बढिरहेको थियो । छोराको हत्यामा संलग्नहरू आफ्नै अगाडि छाती खोलेर हिँड्ने हुन् कि भन्ने त्रासदीले मुनला बेचैन बनिरहेका थिए । अभियुक्तहरूको पक्षमा फैसला भइदिने हो कि भन्ने एउटा त्रास, आफ्नै मुद्दाको पक्षमा फैसला भयो भने पनि कम सजायको निर्णय हुने हो कि भन्ने अर्को त्रास ।

अन्तिम फैसलाको पर्खाइमा बसेका मुनलालका लागि मंगलवार साँझ ७ बजेको समय ‘न्यायको घडी’ बनिदियो । छोरा नवराजको हत्यामा संलग्न २४ जनालाई जन्मकैदको फैसलाले मुनलाललाई ठुलो न्यायिक लडाइँमा विजयी प्राप्त गरेको महसुस गराइदियो । साढेतीन वर्ष अघि हत्या गरिएका छोरा नवराज फर्कने त छैनन् तर मंगलवारको फैसलाले नवराजको आत्मालाई शान्ति मिलेको महसुस बावु मुनलालले गरेका छन् । ‘छोरो फर्केर आउने त छैन तर छोराको आत्माले अब शान्ति पायो’, मुनलाल भन्छन्, ‘न्यायको लडाइँमा हाम्रो जित भएको छ, देशमा न्याय मरेको रहेनछ ।’

२०७७ जेठ १० गते गरिएको नवराजको हत्यामा संलग्न २४ जनालाई रुकुम पश्चिम जिल्ला अदालतले जन्मकैदको फैसला गरिदिएको छ । जाजरकोट भेरी ४ रानागाउँका २१ वर्षीय नवराज विवाहका लागि रुकुम पश्चिमको सोती गाउँमा रहेकी प्रेमिका भेट्न साथीहरू सहित पुगेका थिए । विवाह गर्न भन्दै सोती गाउँ पुगेका नवराज र उनका साथीहरूको सामूहिक हत्या भएको थियो ।

नवरजासहित उनका साथीहरूको हत्या भएपछि नवराज सहित मृतक उनका साथीका घरपरिवारले मुद्दा हालेका थिए । अदालतले पुर्पक्षका लागि हत्यामा संलग्नलाई जेल चलान ग¥यो तर शक्तिको आडमा जेलमुक्त हुने हुन् कि भन्ने त्रासदीले नवराजका बावु मुनलालले न्यायका लागि भगवान् पुकारिरहे । ‘ठुलै शक्तिशालीहरूको बलमा दोषी छुट्ने हुन् कि भन्ने डर लागिरहन्थ्यो’, मुनलाल भन्छन्, ‘छोराको हत्या गर्नेहरूलाई धेरैभन्दा धेरै सजाय होस् भनेर पुकार गरिरहन्थेँ ।’

छोराको हत्या भएको साढेतीन वर्षपछि यो मुद्दाको अन्तिम फैसलाका लागि बहस तोकियो । मुनलाल आफूले न्याय पाउनेमा विश्वस्त थिए तर ढुक्क थिएनन् । यो मुद्दा कमजोर बनाएर दोषी उम्काउने राजनीतिक शक्ति प्रयोग भएको उनले सुनिरहेका थिए । ‘ठुलै मान्छे लागिराछन् भन्ने पनि सुनिन्थ्यो’, उनले भने, ‘शक्तिको आडमा दोषीहरू छुट्ने हुन् कि भन्ने पनि लागिरहेको थियो ।’ तर न्यायिक फैसलाले मुनलाललाई जित दिलाइदियो ।

साढेतीन वर्षदेखि अदालतबाट न्याय खोजिरहेका मुनलालले न्यायिक लडाइँ जिते । यो जितपछि मुनलाल घर फर्किएका छन् । न्यायिक फैसलाले उनको मन शान्त बनेको छ । ‘हाम्रो जित भयो, हामी जितेर घर हिँडेका छौँ, के होला भन्ने डर थियो, अब घरपरिवारसँग शान्तसँग बस्छु’, मुनलालले बुधवार गोरक्षसँग भने, ‘१६ गते न्यायका लागि लड्न रुकुम गएका थियौँ ।’

नवराज सहित ६ जनाको सामूहिक हत्या भएको यो घटनामा न्याय मिलेको भन्दै रुकुममा उत्सव समेत मनाइएको छ । पीडित पक्षले रुकुममा न्यायिक लडाइँमा सफल भएको भन्दै प्रदर्शन गरेका थिए । उक्त ¥यालीको ब्यानरमा लेखिएको थियो, ‘छोरा मरे, न्याय मरेन, धन्यवाद अदालत ।’ साढेतीन वर्षदेखि न्यायको पर्खाइमा रहेका पीडित परिवार जिल्ला अदालतको फैसलापछि कानुनी राज्यमा न्याय नमरेको भन्दै खुसी व्यक्त गरे ।

बाजागाजासहित रुकुम पश्चिम जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा परिक्रमासँगै उनीहरूले जिल्ला अदालतलाई फूल बर्साएर ढोक गरेका छन् । ‘भाइ बगाउने भेरीहरू, नबगाउनु फेरि अरू’, ‘न्याय पाए आमाले, शान्ति पाए आत्माले’लगायतका नारा लगाउँदै दलित समुदायले बजार परिक्रमा गरेका थिए । मंगलवार न्यायको जित भएको भन्दै पीडित परिवारले न्यायमूर्तिहरूलाई धन्यवाद व्यक्त गरेका छन् । राजनीतिक संरक्षणबाट न्यायलाई बचाउन सफल भएको भन्दै पीडित परिवारले जिल्ला न्यायाधीश खड्गबहादुर केसीप्रति सम्मान प्रकट गरे । अदालतले पीडालाई मल्हम लगाएको दलित अधिकारकर्मीको भनाइ छ ।

मुद्दामा एक जना नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन (सर्वजित), तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, विष्णु मल्ल, रुकुम पश्चिम ५४ (३६) १, रुकुम पश्चिम ५४ (३६) ३ र रुकुम पश्चिम ५४ (३९) लाई जन्मकैदको फैसला सुनाइएको थियो ।

साढेतीन वर्ष अघि चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको हत्या भएको थियो ।