को हुन् जमाती समूदाय ?

गजेन्द्र बोहोरा

मुस्लिम समुदायलाई लिएर अहिले भारतमा तीन शब्द निकै चर्चामा छ, मरकज, तबलिग र जमाती ।
यसको अर्थ के हो ?
मरकज भनेको केन्द्र हो, तबलिग भनेको धर्मको प्रचार हो अनि जमाती अर्थात् जमात भनेको समूह ।
सँगै नेपालमा पनि यी शब्दले अहिले आम मानिसमा त्रसित बनाइरहेका छन् । हुन पनि नेपालमा संक्रमण पुष्टि भएका मध्ये १५ जना भारतीय नागरिक छन्, त्यसमा पनि सबैजना मुस्लिम ।
यसको अर्थ कोरोनाको संक्रमण फैलाउने उनीहरु नै होइनन् । तर, अहिले धेरै संक्रमण मुस्लिम समुदायमै देखिएको छ, भारतमा पनि र नेपालमा पनि ।

भारतमा त यो संक्रमणको मुख्य करार तबलिग जमातलाई नै सावित गरिएको छ । भारतमा देखिएका संक्रमितमध्ये धेरै त्यही तबलिगको एउटा अन्र्तराष्ट्रिय भेलामा सहभागी भएका मुस्लिम थिए ।

भारतमा कोरोना संक्रमण फैलिइरहँदा नयाँ दिल्लीमै उनीहरुको एउटा अन्तराष्ट्रिय भेला भयो । जहाँ विश्वभरका हज्जारौं मुस्लिम सहभागी थिए । भारतमा भेटिएका अधिकांश मुस्लिम समुदायका संक्रमित त्यही भेलामा सहभागी भएको पुष्टि भएको छ ।  अनि नेपालबाट पनि थुप्रै मुस्लिम त्यो भेलामा सहभागी भएका थिए ।

तर, नेपालमा भेटिएकाहरु कुन समुदाय(मुस्लिम भित्रकै)का हुन् भन्ने एकीन अझैं भइसकेको छैन ।
भारतीय सञ्चारमाध्यमले तबलिगी जमातलाई जुन प्रकारले प्रस्तुत गरिरहेका छन्, त्यसले भारतमा अहिले धार्मिक विभाजन बढिरहेको छ ।

‘यसलाई धार्मिक रुपमा लिनु एकदमै घातक हो’ मुस्लिम धर्मका एक अध्येयता मौलाना बसिर चर्तुवेदी भन्छन् ‘यो एउटा रोगको संक्रमण हो, यसलाई धार्मिक रंग दिनुहुन्न ।’

सुर्खेत निवासी मौलाना वसिर मुस्लिम समुदायका एक विद्वान धार्मिक गुरु हुन् । उनले मुस्लिम समुदायका धार्मिक ग्रन्थ नेपालीमा लेखिरहेका छन् । धर्मसम्बन्धि उनका धेरै कितावहरु प्रकाशित पनि भइसकेका छन् ।

उनका अनुसार खासगरी वहादी वर्गका ती तबलिगी जमात एक कट्टर समुदायको मुस्लिम समुदाय हो, जसले धर्मबाहेक अर्थाेक केही जान्दैन ।

भारतमा १९२६/२७ तिर भारतमा तबलिगि जमात स्थापना भएको थियो । एक इस्लामिक अनुयायी मौलाना मुहम्मद इलियासले यो जमातको स्थापना गरेका थिए । दिल्लीसँगै जोडिएको मेवातबाट उनले धार्मिक शिक्षाको सुरुवात गरेपछि यो फैंलिदै गयो ।

भारतमा पहिलोपल्ट यो जमातको भेला १९४१मा भएको थियो । त्यो बेला २३ हजार मानिस त्यो भेलामा सामेल भएका थिए । त्यसपछि बंगलादेश, पाकिस्तानलगायतका देशमा पनि यो समुदाय फैलियो ।

खासगरी यो समुदाय साउदी अरबको मरकजबाट बढी प्रभावित रहन्छ ।

‘उनीहरु एकदमै कट्टर हुन् । शिक्षाको कमी छ । धर्मभन्दा अरु केही छैन भन्छन्’ मौलाना वसिर भन्छन् ‘हामी धर्ममा पनि विज्ञान देख्छौं, विज्ञानमा धर्म देख्छौं । उनीहरु मान्दैनन् । त्यसैले यस्तो भएको होला ।’

यसको मतलव उनीहरुकै कारण कोरोनाको संक्रमण भयावह भएको भन्ने उनी मान्दैनन् ।
‘यसलाई धार्मिक रंग नदिएकै राम्रो हो’ वसिर भन्छन् ‘यस्ता विपद्हरु धार्मिक रंग हेर्दैनन् । नेपाल भारतमात्रै होइन, संसारका हरेक देश यो भाइरसबाट संक्रमित छन्, के सबैठाउँमा यस्तै मुस्लिमका कारण भन्ने ?’

उनले यो संकटको समयमा धार्मिक आस्था र कट्टरताबाट माथि उठेर मानवताका लागि सोंच्न आग्रह गर्छन् । र, भन्छन् ‘हामी बाँचे फेरि पनि सँगै बसेर नमाज पढौंला, अहिले घरभित्रै बसौं । आफ्नो अल्लाहलाई घरबाटै सम्झौं । यो मानवता देखाउने बेला हो । हाम्रो धर्म पनि यही हो ।’

नेपालमा जमातीहरु पनि धेरै छन्, जो टोपी नलगाएर नमाज पढ्छन् । जमातीको आश्रयस्थल भनेको मस्जिद नै हो । उनीहरुलाई मस्जिदबाहेक अन्यत्र नबस्न भनिएको हुन्छ ।