माछामा आत्मनिर्भर बन्दै दाङ

विश्व मत्स्य दिवस 
अमरराज आचार्य
दाङ, ६ मंसिर । जिल्ला माछामा आत्मनिर्भरको बाटोमा अगाडि बढेको छ । केही वर्ष अघिसम्म माछाका लागि बाहिर भर पर्नु पथ्र्यो तर अहिले माछाको आन्तरिक उत्पादनले बजार धान्न थालेको छ ।
माछाका लागि अरू जिल्लाको भर पर्ने दाङले अहिले बर्सेनि करिब ६ सय ९ मेट्रिकटन माछा उत्पादन गर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले जानकारी दिए । जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुँदै गएको उनको भनाइ रहेको छ । ‘जिल्लामा ५ देखि ७ प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको छ’, अधिकृत चौधरीले भने । अहिले छिमेकी जिल्लाबाट सीमित मात्रामा माछा आउने गरेको छ ।
जिल्लामा अहिले करिब एक सय ९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । जसमा व्यावसायिक रूपमा एक सय १५ हेक्टरमा माछा पालन भइरहेको छ भने अरू प्राकृतिक तथा कृत्रिम जलाशयमा माछा पालन हुने गरेको छ । जिल्लाका करिब २ सय ८५ जना माछापालक कृषक रहेका छन् । कुनै समयमा कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको जिल्लामा माछा व्यवसायमा अहिले पङ्गास प्रजातिका माछा पालन हुन थालेसँगै माछा उत्पादनमा बढोत्तरी भएको हो । पहिले कार्प प्रजातिमा कमन, सिल्भर, रोहु, नैनीलगायत माछापालन हुन्थ्यो अहिले पङ्गास प्रजातिका बैखालगायत माछा पालन हुन थालेसँगै माछाको उत्पादन पनि बढेको कार्यालयले जनाएको छ ।
जिल्लामा वार्षिक रूपमा उत्पादन हुने माछाको बजार भने बाह्रै महिना धान्ने अवस्थामा अझै पुग्न भने सकेको छैन । खास गरी चैत्र, बैशाख, जेठ महिनामा अहिले बाहिरबाट आउने गरेको छ । बाँकी समय भने यहीको उत्पादनले बजारको माग धान्ने गरेको छ । व्यावसायिक रूपमा माछा पालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र राज्यले माछा पालनका लागि कृषकलाई पनि सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ कृषकको रुची बढ्दै गएको उनी बताउँछन् । राज्यले कृषकलाई माछापालनका लागि प्रोत्साहन गर्नका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यसले पनि कृषकको यसतर्फ आकर्षण बढेको पाइन्छ ।
यद्यपि माछा खाने उपभोक्ताको अवस्थामा भने सुधार आउन चुनौतीपूर्ण छ । स्वास्थ्यका दृष्टिकोणले पनि माछा लाभदायक भए पनि काँडाको डरले माछा खानेको सङ्ख्या अपेक्षा अनुरूप बढ्न नसकेको उनको भनाइ रहेको छ तर माछाको बजार राम्रो रहेकाले कृषकले माछामा घाटा व्यहोर्नु पर्ने अवस्था नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।
१० हजार माछाका भुरा छाडिए
यसैबिच विश्व मत्स्य दिवसको अवसरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको सातताले कृत्रिम जलाशयमा १० हजार माछाका भुरा छाडिएकोे छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी माछाका भुरा छोडिएको हो ।
छाडिएका माछाको संरक्षण गरेर स्थानीय बासिन्दालाई आयआर्जनमा सहयोग पुगोस भन्ने उद्देश्यले माछाका भुराहरू छोडिएको कार्यालयले जनाएको छ । छाडिएका माछाको संरक्षण गर्नका लागि स्थानीय बासिन्दाले भूमिका खेल्नु पर्ने कार्यक्रमका सहभागीले बताएका थिए । राज्यले नागरिकका लागि प्रदान गरेको अवसरलाई सदुपयोग गर्न समेत आग्रह गरेका थिए । घोराही उपमहानगरपालिकाका वडा नं १२ का वडाध्यक्ष द्रोण बहकरीले जलाशयको सदुपयोग गरेर आयआर्जनमा लाग्न आग्रह गरे ।
जलाशयबाट सिँचाइको व्यवस्थापन गरेर रोजगारीको अवसर लिन सक्नु पर्ने बताए । जलासयलाई व्यवस्थित गराउन समिति निर्माण गरेर अगाडि बढ्ने समेत उनले बताए । कार्यक्रममा खजुरी सामुदायिक वन समूहका अध्यक्ष राजेन्द्र बुढा, नेकपा एमाले वडा नं १२ का अध्यक्ष जोगेन्द्र विष्ट, कार्यालयका मत्स्य विकास अधिकृत प्रेम चौधरीलगायत भनाइ राखेका थिए । कार्यक्रम कार्यालयका प्रमुख सुदाम भट्टको अध्यक्षतामा भएको थिए । कार्यालयका अधिकृत शेरबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका योजना अधिकृत कृष्ण न्यौपानेले गरेका थिए । औपचारिक कार्यक्रम पूर्व ¥यालीको समेत आयोजना गरिएको थियो ।