प्रवृत्तिले देखाउने परिणाम

नारायणप्रसाद श्रेष्ठ
मानवीय आचरण र उसले अंगीकार गरेका कर्म, व्यवहार र प्रवृत्तिले ल्याएको परिवर्तनबाट स्थापित परम्परा र संस्कार नै सामाजिक सभ्यता मानिन्छ । समाजमा जति पनि विचार कर्म र व्यवहार भइरहेका हुन्छन् ती सबै मानिस आफैले स्थापित गरेका मूल्य र मान्यता हुन् । यसै सभ्यता र संस्कार अनुकुल नै मानिसको इच्छा र आकाञ्क्षा परिस्कृत हुँदै विचारमा परिमार्जित भइरहेको हुन्छ । समयको गतिशिलतासँगै विविध विकल्पको खोजी भइरहेको हुन्छ ।
 यही खोज्ने क्रममा हुने संघर्षको परिणामले ल्याउने परिवर्तन र सिर्जनाका नयाँ श्रृंखलाले एक पछि अर्को गर्दै स्थापित हुँदै मर्दै, पुनः जिवित हुँदै सामाजिक रीति र संस्कार परिमार्जित भएको हुन्छ । यसै संस्कारले आधुनिकता पनि मौलाउँदै गएको हुन्छ । यसरी मौलाउँदै विकास हुने मानवीय सोच र चिन्तनमा आउने उतारचढाव र मानवीय आचरण र व्यवहारले समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने गरी प्रवृत्तिमा राम्रो नराम्रो धारणाको विकास भएको हुन्छ ।
परिवर्तनको यही आधारले मानिसको इच्छा र आकाञ्क्षामा परिमार्जित हुँदै अन्य विकल्पको खोजी पनि भइरहेको पाइन्छ । विविधतामा एकता कायम गर्ने नाममा खोजी हुँदै जाने यही सभ्यता र संस्कारभित्र मानव सत्यता पनि प्रकट भइरहेको हुन्छ । सत्य असत्य, राम्रो–नराम्रो, दुःखसुख, सकारात्मक–नकारात्मक भावहरु मानवीय आचरण र स्वभावमा प्रष्टीँदै गएको हुन्छ । यी सबै मानव चिन्तनले समयको गतिसँगै स्वीकारेको हुन्छ र प्रवृत्तिमा विविधता प्रदर्शन गरेको हुन्छ ।
यही कुरा कोही कसैको लागि सत्य र स्वीकार युक्त हुन्छ भने कोही कसैको लागि त्यहि सत्य समयको प्रवाहसँगै प्रदर्शन हुने आचरणमा असत्य र नकारात्मक पनि भइरहेको हुन्छ । यो कुरा सबैले गम्भीर भएर चिन्तन गर्नु पर्दछ । यस्तो हुनुको मुख्य कारण मानव स्वभावले ग्रहण गर्ने संस्कार र व्यवहार, प्राप्ती र अप्राप्ती देखिएकोले यस विषयसँगै देखा पर्ने परिस्थीति नै मानवीय आचरण र स्वभावबाट उत्पन्न विचार र प्रवृत्ति भएकोले यस कुरालाई गम्भीर रुपले चिन्तन गर्नु पर्दछ ।
सामान्य उदाहरण लिऊ– ज्ञानी र अध्ययनशील व्यक्तिलाई जुन उपहार दिइन्छ यदि त्यहि उपहार मोह र आशक्तिमा लगाव हुने व्यक्तिलाई दिने हो भने त्यहाँ भिन्नताको अवस्था देखिन्छ । एउटै बस्तु र क्षण सकारात्मक र नकारात्मक बनेको प्रशस्तै उदाहरण पाइन्छ । यसले आचरण र व्यवहारमा मात्र होइन उसको दिन चर्या र जीवन पद्धती मै फरक अनुभूति हुने परिस्थीति रहन्छ । ज्ञानी र अध्ययनशीललाई यदि पुस्तक दिनु भइ पढ्ने र सोच्ने अवसर दिनुहुन्छ भने त्यो उसको लागि वरदान र सकारात्मक परिस्थीति बन्दछ भने त्यही पुस्तक आशक्ति र मोहमा झुम्मीन रुचाउनेलाई दिनु हुन्छ भने त्यो उसको लागि बोझ मात्र होइन नकारात्मक प्रवृत्ति जागृत गर्ने साधन बन्न सक्छ ।
यसरी एउटै बस्तु सामाजिक सभ्यताभित्रको मानव व्यवहार सकारात्मक र नकारात्मक बन्ने हुँदा मानवीय प्रवृत्तिमा पनि सामाजिक पर्यावरण र वातावरणमा आउने परिवर्तनले विविधता देखिने अवस्था रहन्छ । यसरी एउटै बस्तु मानिसको स्वभाव अनुसार फरक–फरक प्रवृत्तितिर आकर्षित हुने हुँदा प्रवृत्तिले ल्याउने परिणाममा कही सकारात्मक कही नकारात्मक परिस्थीति रहने हुन्छ । यसरी व्यक्तिको आचरण र प्रवृत्तिले देखाउने आचरण अनुकुल सामाजिक मूल्य र मान्यता प्रतिस्थापना हुने हुँदा यसतर्फ सबैले गम्भीर रुपले चिन्तन गर्न जरुरी हुन्छ ।
किनकि हाम्रो आचरण र स्वभावमा देखिने परिवर्तन हामीले निर्धारण गरेका प्रवृत्तिबाट निर्दिष्ट भइरहने हुँदा यो सत्यलाई सबैले स्वीकार्नु पर्दछ । हाम्रो आचरण र स्वभाव कुन दिसातिर उन्मुख छ र हामीले निर्वाह गरेका व्यवहारले कस्तो परिणाम ल्याउँदै छ त्यसतर्फ सबैले सोच्नु पर्दछ । सामान्यतया हाम्रो आचरण र स्वभावमा देखा पर्ने प्रवृत्तिले कस्तो परिणाम ल्याउँदै छ त्यसतर्फ सबैले सोच्नु पर्दछ । समान्यतया हाम्रो आचरण र स्वभावमा देखा पर्ने प्रवृत्ति दुई किसिमले मुखरित भइरहेको हुन्छ । ज्ञान प्रवृत्ति, अर्को मोह र आशक्ति प्रवृत्ति ।
ज्ञान प्रवृत्तिले उज्यालो भविष्यलाई संकेत गरेको हुन्छ भने आशक्ति प्रवृत्तिले मोह र स्वार्थतर्फ मानिसलाई आकर्षित गर्न खोजेको हुन्छ । अर्को कुरा मोह र स्वार्थ भनेको केवल प्राप्तीको विषयभित्र मात्र परिभाषित हुन्छ । जुनसुकै बस्तु चाहे जे होस त्यो मेरो प्राप्तीको विषय हुनुपर्दछ । धन दौलत सुख सुविधा यी मेरो प्राप्तीको विषय वासना हुन भनी जसले आफूलाई स्वार्थतिर आकर्षित गर्दछ । यही प्राप्ती नै मेरो अधिकार हो भनी ठान्दछ भने त्यसभित्र आशक्ति प्रति उसको लगाव बढेको भन्न सकिन्छ । यस्ता प्रवृत्ति भएका व्यक्तिको सोचमा जीवन भनेको प्राप्तीको विषय हो । खानु लाउनु मोजमजा गर्नुलाई नै त जीवन भनिन्छ ।
 बाचेर रमाउन पाइएन भने के को बाच्नु भनी मै खाउ, मै लाउ, मै मोजमजा गरु भनी त्यतैतिर यस्ता आचरण भएकाले ध्यान केन्द्रित गरिहेको हुन्छन् । यस्तो प्रवृत्ति देखिनु र यसैभित्र प्रभावित भएर मोह र आशक्ति नै सबै हो भनी लालायित हुनु भनेको मोहरुपी जालोमा फस्नु हो । यही चिन्तन मानवीय स्वार्थ हो र त्यहि स्वार्थले सामाजिक आदर्श नै अंहकारतिर धकेलिन पुग्दछ । यसले मानिस अंहकारी र घमण्डी हुन पुग्दछ । यस्तो स्वार्थी भावनाले क्षणिकतालाई उपलब्धीको विषय ठान्दछ । यस्तो प्रवृत्ति उन्मुख आचरण र व्यवहारले मानिसलाई सधै असन्तुष्टि बोध गराउछ ।
जति पाउने त्यति पाइरहने अरु प्रति होइन आफैप्रति मात्र केन्द्रित भइरहने स्वच्छाचारी प्रवृत्ति बढ्दै गएको हुन्छ । यस्तो प्रवृत्ति उन्मुख विचार र कर्मले न त कुनै देन दिन सक्छ न त उसले आउने पिढीलाई कुनै नयाँ दर्शन दिन सक्दछ । यसरी आशक्ति प्रवृत्तिले मानिएको विचार चिन्तन र कर्ममा स्वार्थलाई प्राथमिकता दिने परिस्थीति भइरहने हुँदा यस अवस्थामा नयाँ चिन्तनको आशा राख्न बेकार हुन सक्छ । अहिले या रोग नेपालको राजनैतिक वृत चित्रमा सलबलाई रहेको छ । यसलाई विडम्बना मान्नु पर्दछ ।
अर्कोतर्फ ज्ञान प्रवृत्तिले मानिसको विचार र चिन्तनमा आशक्तिको ठिक उल्टो सकारात्मक सोच जगाइरहेको हुन्छ । ज्ञान प्रवृत्ति आफैमा भविष्यको उज्यालो आधार हो । यसले सधै राम्रो नराम्रो छुट्याउँदै, जीवन प्राप्तीको विषय मात्र होइन यो त सेवा र सद्भाव प्रकट गर्ने विचारको खानी पनि हो भनी स्वीकार्य हुन्छ । ज्ञान प्रवृत्तिले सधै जीवनलाई सन्तुलन गतिमा गतिशील गराउँदै अघि बढेको हुन्छ । कुन कुरा योग्य वा अयोग्य छ ? जीवन प्राप्तीको विषयभित्र मात्र गतिशील भएको छ वा यसको अरु कुनै दायित्व छ ?
जन्म मरनको चक्रमा रहेको सृष्टिको निरन्तरतामा दौडिरहेको प्राणी मात्र हो वा जीवन खान, लाउन, मोजमजा गर्न मात्र जन्मेको हो ? के यसको अरु कुनै उद्देश्य छैन । मानिस किन प्राप्तीतिर मात्र दोडिरहन्छ ? के यसले भावी पिढीलाई केही आदर्श सिकाउन सक्दैन ? उ भविष्यको उज्यालो बनेर प्रस्तुत हुने उसमा चिन्तन छैन ? यी र यस्ता कुराको गहण अध्ययन र विश्लेषण गर्ने क्षमता ज्ञान प्रवृत्तिले दिइरहेको हुन्छ । यस्तो प्रवृत्तिमा स्वार्थलेभन्दा निस्वार्थले बढी प्राथमिकता बोध गराइरहेको हुन्छ ।
मानिस अरुको लागि बाचेको हुन्छ भन्ने सत्य उजागर गर्दै ज्ञान प्रवृत्तिले समाजको आदर्श गतिमा आफूलाई समाहित गराउने विचार प्रवाह गराइरहेको हुन्छ । हुन त निस्वार्थभित्र प्राप्तीको विषय नपर्ने होइन कही कतै कुनै सेवा र सहयोगी भावना जागृत गर्दा अरुको लागि उ स्वार्थी पनि देखिन सक्छ तर उसले त्यस्तो सोच लिएर सेवामा समर्पण गरेको हुँदैन उसको ध्यान केवल सेवामा मात्र आधारित रहेको देखिन्छ । अरुलाई खुवाएर आफूले खाइन्छ भने यसमा प्राप्तीको स्वार्थ हुँदैन ।
बाच्न र बचाउनको लागि निस्वार्थ सेवा गर्नु भनेकै ज्ञान प्रवृत्तिको सार हो । यसलाई सकारात्मक नकारात्मक ढंगले भनिरहनु पर्दैन । ज्ञानी सबैको पुज्य हुन्छ भने अज्ञानी र आशक्ति प्रवृत्ति उन्मुख आचरण भएको मानिस सीमित व्यक्ति वर्गको लागि मात्र आदरणीय हुन्छ । यो कुरा सबैले बुझ्न जरुरी छ ।
यसरी फरक–फरक प्रवृत्तिले फरक–फरक सोच र चिन्तन प्रवाह गर्ने हुँदा मानिसले यसलाई गम्भीर भएर चिन्तन गर्न जरुरी छ । हुन त मानिस स्वयम् सर्वज्ञ हुँदैन उसलाई समय परिस्थीतिले बाधेको पनि हुन सक्छ आदर्श समाजको परिकल्पनालाई साकार गराउने क्रममा केही स्वार्थका कुराहरु पनि नहोला भन्न सकिन्न । तथापी धैर्य र लगनशील भइ सकारात्मक प्रवृत्ति उन्मुख चरित्रले सधै सिर्जनाका नयाँ विचार प्रार्दुभाव गरिरहेने हुँदा यस सत्यलाई गम्भीर भएर सबैले चिन्तन गरौँ वर्तमान यही खोजिरहेको छ अस्तु ।