Goraksha

National Daily

कलाका धनी जग्गुलाल, सधैँ ओझेलमा

1 min read

गोरक्ष समाचारदाता
दाङ, ५ मंसिर । उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आएका छन् । पाँचदशक बढी समयदेखि मूर्तिकला सक्रिय रहे, उनी तर घोराही उपमहानगरपालिका–५ ठुलोगाउँ धर्ना निवासी जग्गुलाल ओझेलमै छन् ।

चौधरी काष्ठकलामा अब्बल छन् । सानोमा माटोबाट घोडा, हात्तीलगायत देवीदेवताका मूर्ति बनाउँदा बनाउँदै काष्ठकलामा लागेका चौधरी बाटो वा जङ्गलमा हिड्दा राम्रो काठ देख्दा मूर्तिको आकृति मनमा आइहाल्ने गरेको बताउँछन् । ‘यो बनाउँछु भनेर बन्दैन, काठ देखेपछि के बन्छ भनेर मनमा आउने गर्छ’, जग्गुलाल भन्छन्, ‘त्यही अनुसार काठलाई छिना, बसुला र आरीले कुँदेर मूर्ति बनाउने गर्छु ।’ अन्य काम छोडेर भए पनि आपूm मूर्ति बनाउने काममा लागेको उनी बताउँछन् ।

औपचारिक रूपमा अध्ययन गर्न नपाएका चौधरी काष्ठकलामा भने अब्बल छन् । त्यही कलाका माध्यमबाट काठमा थारु जातिका भेषभूषा, कला, संस्कृतिसँगै देवीदेवता, जनावर, चराचुरुङ्गीका आकृति कैद गर्ने गरेका छन् । कष्ठकला क्षेत्रमा अब्बल मानिने चौधरी सुरुका दिनमा खेलौनाका लागि माटोबाट मूर्ति बनाउँथे । माटोबाट मूर्ति बनाउँदाबनाउँदै उनी काठबाट मूर्ति बनाउन लागेको भन्दै भन्छन्, ‘सुरुमा त के नमिले–नमिले जस्तो लाग्थ्यो तर पछि विस्तारै हात बस्यो ।’

सानोमा ग्वाला गएको समयमा रहरै रहरमा मूर्ति बनाउन थालेका चौधरीले थपे, ‘सानोमा घरमा खेलाउनका लागि आवश्यक हुन्थ्यो र मूर्ति बनाउँथे, त्यो बेला पैसामा बिक्दैन थिए, अहिले मूर्ति बिक्री गरेर पैसा कमाउने समय भएको छ तर उमेरले साथ दिँदैन ।’ आफू थारु जातिको भएकाले सानोमा चाडपर्व, विवाहलगायतका उत्सवमा घरका लागि आवश्यक स–साना मूर्ति बनाउने गरेका चौधरी पछिल्लो समय बिक्रीका लागि समेत बनाउने गरेका छन् ।

उनले बनाएका अधिकांश मूर्ति बिक्री हुने गरेका छन् । रहरैरहरमा बनाएका मुक्ति दुई हजारदेखि पाँच÷सात हजार रुपैयाँसम्मको मुल्यमा बिक्री हुने गरेको उनी बताउँछन् । उनले बनाएका काठका मूर्ति तथा चरा र सर्पसहितका लाठी जिल्लाका विभिन्न ठाउँसँगै पोखरा, काठमाडौंलगायतका ठाउँसम्म बिक्री हुने गरेको उनी बताउँछन् । उनका अनुसार बृद्ध उमेरमा टेक्नका लागि आवश्यक पर्ने र हेर्दा पनि सुहाउने देखिएकाले काठका लाठी धेरै बिक्री हुने गरेको उनी बताउँछन् ।

कतिपय आपूmले बनाएका थारु जाति, कला, संस्कृतिसम्बन्धी मूर्ति घोराही उपमहानगरपालिका–१७ पनौरामा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयमा राखिएको समेत उनी बताउँछन् । लामो समय काष्ठकलाका क्षेत्रमा सक्रिय चौधरीले व्यावसायिक रूपमा पसल नै दर्ता गरेर भने कहिल्यै काम गरेनन् । ‘काठका विभिन्न मूर्ति बनाउने गरे पनि मैले व्यावसायिक रूपमा जानु पर्छ भनेर लागिनँ’, चौधरी भन्छन्, ‘जति मूर्ति बनाएर घरमै बसेर फुर्सदको समय निकालेर बनाएँ ।’ मूर्ति बनाएर बिक्री भएको पैसाले आफ्नो खर्च उठ्ने गरेको उनी बताउँछन् ।

‘अहिले जस्तो पहिले मूर्ति बिक्छन भन्ने थाहा पाएको भए धेरै मूर्ति बनाउने थिएँ तर त्यो बेला मूर्तिको महत्व थिएन’, उनी भन्छन्, ‘अहिले काठमा कुँदिएका वा काठबाट बनाइएका मूर्तिको महत्व बढी छ, राम्रो बिक्री पनि हुने गरेका छन् ।’ चौधरीले फुर्सदको समयमै करिब ६÷७ सय बढी मूर्ति बनाएको बताउँछन् । त्यसमध्ये कतिपय बिक्री भएको र कतिपय अहिले पनि घरमै रहेको बताउँछन् । जसमा थारु जाति, कला, संस्कृतिका मूर्तिसँगै भगवान, जनावर, चराचुरुङ्गी, राजालगायतका मूर्तिका र मादल, सारङ्गी पनि बनाउने गरेको बताउँछन् ।

जनावर तथा चराका तुलनामा थारु जातिले लगाउने लुगा, बाघ, घोडामा गुरुवा चढेका, थारु महिलाले आफ्ना भेषभूषामा सजिएका मूर्ति बिक्री हुने गरेको उनी बताउँछन् । पहिले घोराही, तुलसीपुरलगायतका बजारबाट व्यापारी आएर मूर्ति किनेर लग्ने गरे पनि पछिल्लो समयमा काठमाडौंबाट पनि आउने गरेको उनी बताउँछन् । त्यसो त उनी ‘अर्डर’ अनुसार पनि मूर्ति बनाउने गर्दै आएका छन् । ‘कतिपय मानिसले बनाएका मूर्ति लग्छन् भने केहीले मलाई यस्तो मूर्ति बनाइदिनुस् भनेर भन्छन्’, उनले भने, ‘त्यस्तो अवस्थामा अर्डर अनुसार मूर्ति बनाउने गर्छु ।’

पछिल्लो समय जङ्गलबाट काठ ल्याउन नपाइने र उमेर पनि ढल्कँदै जाँदा कमजोर भएर मूर्ति बनाउने काम कम हुँदै गएको बताउँछन् । ‘सुरुमा जङ्गल जान सकिन्थ्यो, अहिले बुढा भएर मूर्ति बनाउनका लागि जङ्गल जान सक्ने अवस्था पनि छैन’, उनले भने, ‘गाउँघरमै काठ किनेर मूर्ति बनाउने काम गर्दै आएको छु ।’ मृगौला रोगबाट पीडित उनी एउटा मृगौलाले मात्र काम गर्ने भकाले कमजोर समेत भएको बताउँछन् ।