लमही नगरपालिका–७ को सेवा आफ्नै भवनबाट
टेकबहादुर पुन
देउखुरी,५ मंसिर । लमही नगरपालिका–७ वनघुस्रीमा वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । लामो समयसम्म भाडाको भवनबाट सञ्चालित वडा कार्यालयले सोमवार आफ्नै भवनबाट सेवा दिन सुरु गरेको हो ।
वडा कार्यालयको भवन करिब ८४ लाख रुपैयाँ लागतमा केएमएस ड्रिलिङ कन्स्ट्रक्सनले निर्माण गरेको लमही नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख सौगात वलीले बताए । वलीका अनुसार सभाहलसहित सुविधा सम्पन्न भवन निर्माण भएको हो । भवन निर्माणसँगै वडा कार्यालयबाट सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष मोहन गिरीले जानकारी दिएका छन् ।
वडाध्यक्ष गिरीका अनुसार वडा कार्यालय भाडामा सञ्चालन गर्दा वार्षिक एक लाख रुपैयाँ खर्च हुने गरेको थियो । ‘वडा कार्यालयको आफ्नै भवन नहुँदा जनतालाई सेवा प्रदान गर्न समस्या हुने गरेको थियो’, वडाध्यक्ष गिरीले भने, ‘आफ्नै सुविधासम्पन्न भवन निर्माण भएपछि सहज हुने भएको छ ।’