जीवन बोल्ने बिनोदका दुई गीत
दाङ,४ मंसिर । जीवनको एउटै परिभाषा के ? अनुत्तरित यो प्रश्न खोज्ने प्रयास गरेको हुनुपर्छ, सायद विनोद पोख्रेलले । तर उनको खोजले एउटै उत्तर फेला पार्न सकेन ।
जीवनका हरेक पाटाहरु जीवनका परिभाषा हुन् । यीनै पाटाहरुलाई आफ्ना अक्षरमा उतारे विनोदले । अनि जीवनलाई गीतमार्फत परिभाषा गरिदिए उनले ‘हाँस्नु पनि जीवन रैछ, रुनु पनि जीवन ।’ यो गीतले शब्द मात्रै बोलेको छैन, जीवनको अर्थ बोलिरहेको छ ।
हरेक पाटासंग जुध्न सक्ने साहस नै जीवनको परिभाषा बोलेका छन् विनोदले । जीवन भोगाईलाई गीत लेखनीमा उतारेका विनोदको शब्दमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरिदिए । अनि गायक शिशिर योगीले आफ्नो आवाजको माधुर्यता भरिदिए । अनि बोल्यो गीतले ‘जीवन’ ।
लामो समयको शिक्षणकाल पुरा गरेका विनोद साहित्य लेखनीमा समेत उत्तिकै दख्खल राख्छन् । साहित्यमार्फत जीवन खोज्छन् उनी । अनि लेख्छन् र गीतमार्फत अभिव्यक्त हुन्छन् उनका जीवन सम्बन्धी खोजहरु । आफ्नो जीवन भोगाईलाई मार्मिक शब्दमा कोरेका बिनोदले यो गीतसंगै सत्बुद्धिका लागि गौतम बुद्धसंग अर्को गीतबाट गुहार समेत मागेका छन् । समाजलाई बदल्नु जरुरी देखिरहेका विनोदले यो शक्ति आफूलाई प्राप्त होओस् भन्ने कामना गरेका छन् ।
शान्ति, प्रेम र अहिंसाका लागि बुद्धसंग शक्ति मागेका विनोदले यो अनुनयलाई शब्दमा कोरे । संगीतको माधुर्यताले उनको यो अपिल पनि गीत जन्मियो । गायक तथा संगीतकार गोविन्दमधुर आचार्यको संगीत र स्वरमार्फत विनोदले समाजमा देखिएका गल्ती सच्याउनका लागि बुद्धमार्फत शक्ति माग गरे ।
विनोदले गीतमार्फत सत्मार्गमा हिँड्नका लागि सुझाएका मात्रै छैनन्, जीवनलाई सत्मार्गको बाटोमा हिँड्दा आईपर्र्ने चुनौतीहरु समेत बोलेका छन् , अनि जीवनका हरेक पाटालाई सहज लिन सुझाएका पनि छन् । शिशिर योगीले गायकी भरेको विनोदको गीतको भिडियोमा विनोद आफै र उनकी जीवन संगिनी कमला कैद भएका छन् । उनीहरुसंगै कलाकार सुदन थापाले दुखान्त जीवनको कथा भिडियोमा बोलेका छन् ।
यसैगरि खुशी परियार र प्रेम डाँगीले भिडियोमा दुखान्त जीवनको चित्रण गर्दा श्री चौधरीले भने सम्भ्रान्त जीवनशैलीको चित्रण गरेका छन् । आदिम केसीले भिडियो कथाको परिकल्पना गरेको यो गीतको भिडियो सुदन थापाले निर्देशन गरेका छन् भने छायांकन श्री चौधरी र भिडियो सम्पादनको काम नारायण नेपालले गरेका छन् ।
यसैगरि सत्मार्गका लागि गौतम बुद्धसंग शक्तिको अनुनय गरिरहेको विनोदको ‘बदल्नलाई मेरो समाज’ बोलको गीतको भिडियोमा पनि गीतकार विनोद आफै कैद भएका छन् । उनीसंगै बिश्वन्त पोख्रेल, दिपेश गजुरेल र सबि थापाले अभिनय गरेका छन् । भिडियोको निर्देशन दिपेश यास्कोले गरेका छन् ।
गीतको भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस