Goraksha

National Daily

गढवामा दश दिने नास्ता बनाउने तालिम

आलोक भावुक

गढवा, २३ कात्तिक। दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाको आयोजना तथा नेपाल युथ फाउण्डेशन नेपालको आर्थिक सहयोगमा सञ्चालित १० दिने व्यवसायिक नास्ता बनाउने तालिमको समापन गरिएको छ ।

आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमामा भएको समापन कार्यक्रममा बोलने बक्ताहरुले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्ह गरेका थिए । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले व्यवसायीक तालिम पश्चात् व्यवसाय गरे मात्र तालिमले सार्थक्ता पाउनुपर्ने बताइन ।

तालिममा सहभागी हुने तर व्यवसयीक रुपमा कार्य नगरेसम्म आत्मनिर्भर बन्न नसकिने उपाध्यक्ष चौधरीको भनाई थियो। त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका ५ का वडाध्यक्ष लेखबहादुर थापाले १० दिने व्यवसायिक नास्ता तालिमलाई उपलव्धी मुलक बनाउनका लागि सिकेको सिपलाई व्यवहारमा लागुगर्नुपर्ने बताए ।

सहकारीहरु सहकार्य गर्दै देश निर्माणमा अहम भुमिका खेल्नु पर्ने समय आएको बताउदै तालिमले मात्र व्यवसाय सञ्चालन गर्न नसकिने बताए । आर्थिक रुपमा पनि मजबुद भए मात्र व्यवसाय सञ्चालन गर्न सकिने र त्यसको लागि सहकारीहरु आपसमा सहकार्य गर्नुपर्ने थापाको भनाइ थियो । गण्वा गाउँपालिका वडा नं. ६ का अध्यक्ष विरबहादुर आले मगरले सिकेको सिपलाई व्यवहारमा लागु गर्दै युवाहरु स्वदेशमै आर्थिक रुपमा आम्दानीका कार्यमा जोडिनुपर्ने बताए ।

युवाहरु दिनप्रतिदिन ठुलो संख्यामा बिदेशिनु देशको लागि राम्रो नभएको भन्दै स्वदेशमै केही गर्न चाहने युवाहरुका लागि वडाले पनि सहयोग गर्ने बताएका थिए । तर त्यसका लागि युवाहरु व्यवसाय सञ्चालनका लागि इच्छुक हुनुपर्ने बताएका थिए ।

त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशोक कुमार यादवले देशमा रोजगारीको अवसर न्युन रहेको बताउदै रोजगारको सिर्जना गर्नु मूख्य चुनौती रहेको बताए । उनले आत्मनिर्भर बन्न स्वदेशमै व्यवसाय गर्न युवाहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर बुढामगरले युवा व्यक्तित्वहरुलाई आयाम बहुद्देश्यीय सहकारी संस्थाले दिएको १० दिने तालिम उत्कृष्ट कार्य भएको बताए । गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापाले तालिम भनेको जिवन बदल्ने माध्यम भएको बताउदै तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न आग्ह गरेका थिए । पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले आफ्नै ठाउँमा केही गर्न चाहाने युवाहरुका लागि राम्रो अवसर भएको बताएका थिए ।

नेपाल यूथ फाउण्डेशन नेपालको तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरीले तालिम पश्चात् परिक्षाको घडि सुरु भएको भन्दै अव उपलव्धीमुलक कार्यक्रममा जोडिन युवाहरुलाई आग्रह गरेका थिए । तालिममा सहभागी २० जनालाई २५ हजार बराबरको व्यवसाय सञ्चालनका लागि आवश्यक सामाग्री सहयोग गरिएको थियो ।