Goraksha

National Daily

जाजरकोटमा भूकम्पको क्षति, ६७ हजार बढी विस्थापित

गोरक्ष समाचारदाता
दाङ, २३ कार्तिक । गत शुक्रवार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोटमा ६७ हजार बढी नागरिक विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको विवरण अनुसार भूकम्पले घर भत्किँदा विस्थापित बनेका नागरिकको सङ्ख्या ६७ हजार एक सय ७४ छ ।

सबैभन्दा बढी जाजरकोटको कुशे गाउँपालिकाका २५ हजार ८ सय १५ जना विस्थापित बनेका छन् । यसैगरी भेरी नगरपालिकाका १४ हजार ९ सय ९७ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयसँग तथ्याङ्क छ । नलगाड नगरपालिकामा १५ हजार बढी, बारेकोट नगरपालिकाका ५ हजार ६ सय ३२, बारेकोट गाउँपालिकामा ५ हजार ६ सय ३२, चुनीचाँदे गाउँपालिकाका ३ हजार ४ सय ४९ जना, छेडागाड नगरपालिकामा एक हजार ८ सय ७, शिवालय गाउँपलिकाका एक सय ३० जना विस्थापित भएका छन् ।

प्रशासनका अनुसार विस्थापित घरधुरी सङ्ख्या ९ हजार एक सय ८६ छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर झन्डै दुई लाख नागरिक भूकम्पबाट प्रभावित बनेका छन् । प्रशासनको तथ्याङ्क अनुसार जिल्लाभर ३४ हजार ५ सय एक घरधुरीका एक लाख ७९ हजार ८ सय ९३ जना प्रभावित भएका छन् । भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्णरूपमा क्षति भएका छन् भने २७ हजार ७ सय ७ घरमा आंशिक क्षति पुगेको छ ।
सबैभन्दा बढी ५१ बालबालिकाको मृत्यु

जाजरकोटमा भूकम्पका कारण मृत्यु भएका एक सय १ जनामध्य सबैभन्दा बढी मृत्यु बालबालिकाको भएको छ । भूकम्पमा परी ५१ बालबालिकाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यीमध्य २९ जना बालकको मृत्यु भएको छ भने २२ जना बालिकाको मृत्यु भएको छ । सबैभन्दा बढी नलगाड नगरपालिकामा १५ बालक र ११ बालिकाको मृत्यु भएको छ भने भेरीमा ११ बालक र ८ बालिकाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । यसैगरी कुशे गाउँपालिकामा २ बालक र २ बालिका, बारेकोट गाउँपालिकामा १ बालक र छेडागाड गाउँपालिकामा १ बालिकाको मृत्यु भएको छ ।
भूकम्पमा परी ३५ महिलाको मृत्यु भएको छ । सबैभन्दा बढी नलगाड नगरपालिकामा १६ महिलाको मृत्यु भएको छ । यसैगरी भेरी नगरपालिकामा १३, बारेकोट नगरपालिकामा ३, कुशे गाउँपालिकामा २, छेडागाड गाउँपालिकामा १ महिलाको मृत्यु भएको छ । यसैगरी भूकम्पमा परी १५ पुरुषको मृत्यु भएको छ । सबैभन्दा बढी नलगाड नगरपालिकामा १०, भेरी नगरपालिकामा ४ र कुश गाउँपालिकामा १ पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।