गुरुकुल एकेडेमीले चुम्यो बबई टि–२० कप क्रिकेटको उपाधि
लक्ष्मण बस्नेत
दाङ,२२ कात्तिक । बबई गाउँपालिकामा संचालित बबई टि–२० कप क्रिकेटको उपाधि घोराहीस्थीत गुरुकुल एकाडेमीले जितेको छ । पुरन्धारा क्रिकेट क्लबको आयोजनामा बबई गाउँपालिका ३ हंसपुर क्रिकेट मैदानमा बुधवार भएको फाइनल खेलमा पुरन्धारा च्यालेन्जर्सलाई ४३ रनले पराजित गर्दै गुरुकुलले उपाधि जितेको हो । उपाधिसंगै गुरुकुलले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पा¥यो । फाइनलमा पराजित पुरन्धारा च्यालेन्जर्स उपबिजेतामा सिमित रहदै नगद २५ हजार,कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
टस जित्दै पहिला ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । गुरुकुलका लागि राजकुमार शाहले सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै वसिर अहमदले २४, आवाज गौतमले १२ र करण घर्तीमगरले नटआउट १० रन बनाए । बलिङ तर्फ पुन्धाराका कप्तान मोहन खत्रीले ३ विकेट लिए । त्यस्तै कृष्ण कार्की, सुजल वलि, हरिस केसी र सुदिप नेपालीले समान १–१ विकेट लिए ।
जवाफी १ सय १४ रनको लक्ष्य पछाएको पुरन्धारा १८.२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्र ७० रनमा सिमित रह्यो । पुन्धाराका लागि सुदिप नेपालीले सर्वाधिक २१ रन बनाए । त्यस्तै बिपिन रावलले १७ रन बनाए । बलिङमा पुरन्धारालाई सस्तैमा रोक्न गुरुकुलका आवाज गौतमले र वीरबहादुर घर्ती मगरले समान ३–३ विकेट लिए । त्यस्तै राजकुमार शाह र वसिर अहमदले २–२ विकेट लिए । फाइनल खेलको प्लेयर अफ द म्याच आफ्नो अल राउन्ड प्रदर्शनले टिमलाई बिजेता बनाउन सहयोग गर्ने आवाज गौतम भए । उनले एक हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरन्धाराका कृष्ण कार्की भए । उनले आठ हजार प्राप्त गरे । त्यस्तै वेष्ट बलर पुरन्धाराका कप्तान मोहन खत्री, बेस्ट ब्याट्सम्यान गुरुकुलका वसिर अहमद भए । दुबै जनाले पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै राईजिङ प्लेयर भएका पुरन्धाराका प्रिन्स थापाले एक हजार पाँच सय रुपैयाँ प्राप्त गरे । त्यस्तै प्रतियोगिताको फेयर प्ले अवार्ड टिमको रुपमा घोराही क्रिकेट एकाडेमी रह्यो । ५ दिनसम्म संचालित प्रतियोगीतामा ६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन समारोह आयोजक पुरन्धारा क्रिकेट क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रमको संचालन क्लबका सचिव टोपेन्द्र थापाले गरेका थिए ।
