बाँके,२१ कात्तिक । विगत २६ वर्षदेखि नेपालगन्जबाट प्रकाशित कालपृष्ठ दैनिक पत्रिकाले यहिँ कात्तिक २४ गते मानविय सेवाका लागि नेपालगन्जमा सांगेतिक कार्यक्रम गर्ने भएको छ । आयोजक कालपृष्ठ दैनिकले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक सुनिलसिंह ठकुरीको उपस्थितिमा ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिलसिंह ठकुरी’कन्र्सट आयोजना गर्न लागेको जनाएको हो ।
कालपृष्ठ दैनिकका संचालक एवम् कन्र्सट निर्देशक कमल खत्रीले पत्रकार सम्मेलनमा पहिलोपटक कालपृष्ठ पत्रिकाले गायक ठकुरीको उपस्थितिमा कन्र्सट आयोजना हुन लागेको बताए । ‘आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्र्सटले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भए पनि योगदान गर्नेछ । कालपृष्ठ दैनिकले आयोजना गरेको यस कन्र्सटबाट आम्दानी भएको रकम मानविय सेवामा खर्च गरिनेछ’, पत्रकार सम्मेलनमा खत्रीले बताए ।
कन्सर्टमा सुनिलसँगै करिब एक दशकदेखि नेपालगन्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् । नेपालगन्ज बाँकेस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्र्सटमा प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए । उनले कार्यक्रम स्थिलमा फुड स्टिलसमेत राखिने बताए ।
उक्त कन्सर्टले स्थानीय कलाकारलाई समेत प्रोत्साहन गर्ने बताउँदै खत्रीले ठकुरीसँगै स्थानीय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने बताए । कन्सर्टको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ । कन्र्सट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।
हालसम्म कन्र्सट आयोजनाका लागि नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोगसमेत गरेको आयोजकले जनाएको छ । गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।
सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचारप्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।