दाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

घोराही समाचारदाता
घोराही, २० कात्तिक । दाङमा प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका–६ स्थीत बगाले बिसाउने सामुदायिक वनमा हतियारसँग हिडिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ निवासी ४९ वर्षीय दिलबहादुर राना र सोही ठाउँ निवासी ४५ वर्षीय निमबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् । उनका अनुसार सुराकीका आधारमा खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले भरूवा बन्दुक २ थान, फलामको गोली २३ थान, छर्रा ३७, बारुद करिब १०० ग्राम, खुकुरी २ थान र बन्दुकमा लगाउने केप १२ थान नियन्त्रणमा लिएको छ । पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको समेत प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिएका छन् ।