घोराही, १८ कात्तिक । भूकम्पका कारण दुखेका कर्णालीका दुई जिल्लाका घाउमा लुम्विनी प्रदेश मलम बनेको छ । लुम्बिनी प्रदेश सरकारले औषधि र स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावितहरुको उपचार र उद्धारका लागि जाजरकोट र रुकुम पश्चिम पठाएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुम पश्चिमका लागि पठाएको हो ।
घाइतेहरुका लागि तत्काल आवश्यक पर्ने औषधिसहित स्वास्थ्यकर्मीको टोली जाजरकोट र रुकुम पश्चिमका लागि प्रस्थान गरिसकेको लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिएका छन् ।
मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेको र तत्काल औषधी र स्वास्थ्यकर्मीको आवश्यकता बढी रहेको बताएपछि लुम्विनी सरकारले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेन्डेन डा. पदमराज न्यौपानेको नेतृत्वमा स्वास्थकर्मीको टोली पठाएको जानकारी दिएका छन् ।
मुख्यमन्त्री चौधरीले भने,‘भूकम्पका कारण घाइते हुनुभएका बिरामीहरुको स्वास्थ्य उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले लुम्विनी प्रदेश सरकारले औषधि र स्वास्थ्यकर्मी पठाएको हो ।’
स्वास्थ्यकर्मीको टोलीमा अधिकांश सरकारी अस्पताल र केही निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी रहेका छन् ।
पछिल्लो जानकारी अनुसार शुक्रवार राती जाजरकोटको जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परेर हालसम्म १ सय ३२ जनाको मृत्यु तथा १ सय ४० जना घाइते भएका छन् । जसअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ ।