१० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट

दाङ, १७ कात्तिक । दश बर्षपछि नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मुलपानी मैदानमा युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट भएको हो । अव नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा खेल्ने भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मुलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडेका थिए ।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।