लैङ्गिक हिंसाको सवालका विषयमा छलफल

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, १ कार्तिक । महिला मानव अधिकार रक्षक सञ्जाल दाङको आयोजना तथा ओरेकको सहकार्यमा लैङ्गिक हिंसाको सवाल सम्बोधनका लागि सरोकारवालाको भूमिका विषयक समन्वय बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम मङ्गलवार घोराहीमा सम्पन्न भएको छ । महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सुशीला पौडेलको अध्यक्षता भएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव शारदा बस्यालले हिंसा प्रभावितका लागि सुरक्षा आवास निर्माणका लागि प्रदेशले छुट्याएको बजेट स्थानीय तहले पहल नगर्दा बजेट कार्यान्वयनमा चुनौती देखिएको बताइन् । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले प्रदेश र जिल्लास्तरका हिंसा पीडितको सुरक्षा आवास भवन बनाउने हो भने नयाँ ढङ्गले सोच्नु पर्ने हुन्छ भन्दै कसैले रोक लगायो भन्दैमा प्रक्रियामा पूर्णविराम लागाउन नहुने बताइन् ।

तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले राम्रो कामका लागि कोही पछि पर्न नहुने बताइन् । बजेट कार्यान्वयनका लागि आ–आफ्नो प्रयासमा इमानदारिता देखाउनु पर्ने बताउँदै कार्यान्वयनको पाटोलाई सक्रिय पार्न महिला अधिकारकर्मीलाई सक्रिय बनाउनु पर्ने बताइन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले संस्थाको नाममा जग्गा नआउँदासम्म भवन निर्माणमा चुनौती रहेको बताइन् । उनले अबका दिनमा हिंसाका घटनाको दर निश्चित नै घटाउने विश्वास दिलाइन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका महिला बालबालिका शाखाकी प्रमुख मोती विश्वकर्मा, शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, नेपाल परिवार नियोजन संघ दाङका सभापति भरतराज देवकोटा, प्रबन्ध निर्देशक बसन्त खनाल, महिला अधिकारकर्मी लक्ष्मी आचार्य, दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारी, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष मिना गिरी, महिला मानव अधिकार रक्षक सञ्जाल लमहीका अध्यक्ष जया रावल, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुवराज गहतराजलगायतले विचार राखेका थिए ।

कार्यक्रममा ओरेक दाङकी संयोजक धना चौधरीले संस्थाले गरिरहेका कार्यको विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण महिला मनव अधिकार रक्षक सञ्जालकी अनिता पोख्रेलले गरेकी थिइन् ।