नारायणप्रसाद श्रेष्ठ
सामाजिक सद्भाव, आपसी मेल र भाइचारको अभिवृद्धि गर्दै जीवनलाई उत्साह, उमंग र सहज दिशातिर लैजाने उद्देश्य बोकेर प्रत्येक वर्ष मनाइने आफ्नै किसिमको विशिष्ट पहिचान बोकेको बडादशैं २०८० यस वर्ष २०८० असोज २८ घटस्थापनासँगै हाम्रो घरआँगनमा भित्रिएको छ ।
सत्य, अविनाशी र अपरिवर्तनशील हुन्छ र झुठ कदापि टिक्न सक्दैन भन्ने मान्यता बोकेको हिन्दू धर्मावलम्बीहरुको महान् चाड विजयादशमीलाई आसुरी शक्तिमाथि दैवीय शक्तिको विजयीको रुपमा पनि हेर्ने गरिएको छ । समाजमा देखिने विविध विकृति र विसङ्गतिलाई हटाइ समुन्नत आदर्श समाज स्थापनामा यस पर्वले सबैलाई प्रेरणा दिन खोजेको छ । सकारात्मक चिन्तन बढाई एकअर्कामा प्रेम र सद्भाव बाँड्दै सम्यमित जीवनशैली अपनाई राम्रो लगाउने, मीठो खाने पर्वको रुपमा पनि यसलाई मान्ने गरिन्छ ।
मनुष्य जीवनको सफलता, अहंकार र घमण्डमा होइन मानवोचित आचरण र व्यवहारमा रहेको हुन्छ भन्ने कुरा दर्शाउँदै संकुचित विचार परित्याग गरी सकारात्मक चिन्तन नै मनुष्य जीवनको सफलताकाको आधार हो भनी यस पर्वले शिक्षा प्रदान गर्न खोजेको छ । अहंकार र घमण्डले ल्याउने परिणामको यथार्थ चित्रण गर्दै (राम र रावणबीचको युद्ध) झुठले कहिल्यै पनि सफलता हासिल गर्न नसक्ने यथार्थ पष्ट्याएको छ । सत्यको आधार नै बलियो हुन्छ भन्ने कुरा बोध गराउँदै मन, वचन र कर्ममा एकरुपता ल्याई अरुको खुशीमा रमाउने चरित्र निर्माण गर्न यस पर्वले सबैलाई घचघच्याइरहेको छ ।
सेवा र समर्पणमा आधारित कर्म, शान्ति र सद्भावपूर्ण जीवनशैली मनुष्य जीवनको यथार्थ हो । यस कुराको बोध गराउँदै आध्यात्मिक सत्यभित्र लुकेको चरित्रभित्र यसले आवद्ध हुन निर्देश गर्न खोजेको छ । भौतिकवादी चिन्तनमात्र जीवनको उद्देश्य होइन, जीवन त आध्यात्मिक सत्यभित्र गतिशील भई भौतिकतालाई प्रयोग गरी अघि बढ्ने सत्य हो । त्यस कुरालाई पनि यस पर्वले बोध गराउन खोजेको छ । यति महत्वपूर्ण उद्देश्य र लक्ष्य बोकेको बडादशैं हाम्रो घरआँगनमा भित्रिएको छ ।
तसर्थ, यस अवसरमा हामी सम्पूर्ण चराचर जगतमा रहेका जीवात्माप्रति सगुनसाकार भएर यसको महिमा र महत्वलाई बुझी हर्षोल्लासपूर्वक मनाउन, रमाउन सुझाउँछौं, शुभकामना र सुस्वास्थ्यको कामना पनि गर्दछौं । आफू एक्लोमा होइन अरुको आनन्दमा आफूलाई आनन्दित बनाउँदै विचारको विविधताभित्र एकरुपता कायम गरी सामाजिक उत्कृष्ट चरित्र निर्माण गर्न प्रेरणा दिँदै जीवनोपयोगी मार्गमा लाग्न उत्साह दिन्छ । यस पर्वले श्रद्धा, विश्वास र अनुशासनबाट मात्रै एकले अर्कालाई आत्मियता देखाउन सक्छ भन्ने मान्यता स्थापित गर्न यस पर्वले खोजेको देखिन्छ ।
आस्था र विश्वासको धरोहर मानिएको, जसलाई पश्चिमी मुलुकले आफ्नो भौतिक विकासको मार्गचित्र मानेका छन्, त्यो वेदशास्त्र जसले सामाजिक उत्कृष्ट जीवन चरित्र निर्माण र व्यवहार गर्न विभिन्न माध्यमबाट विचारको सम्प्रेषण गरेको छ । त्यस्तो महत्वपूर्ण वडादशैं हाम्रो घरआँगनमा आएको छ । मन, विचार र मस्तिष्कमा गुञ्जिएको छ । सबैलाई सकारात्मक चिन्तनका साथ मनाउन उत्प्रेरित गरेको छ । यस्तो दूरदृष्टि बोकेको हिन्दूहरुको आस्थाको धरोहार वडादशैं अहिले हामी खुशी र उमंगका साथ मनाउँदै छौं, मनाउनु पनि पर्दछ ।
काम, क्रोध, लोभ, मोह र अहंकारको जालोमा लपेटिएको मानव विचारलाई कसरी स्वतन्त्र र प्रेम, सद्भावयुक्त बनाउन सकिन्छ भन्दै मानव विचारमा अन्तरनिहित स्वार्थलाई परित्याग गर्न यस पर्वले प्रेरणा दिएको छ । घृणालाई घृणाले होइन, प्रेम र पवित्रताले तथा सकारात्मक चिन्तनका साथ परिणत गर्न सकिन्छ भन्ने विचारको प्रवाह गर्दै अरुलाई गलत भन्नु भन्दा पहिले आफैलाई सोची, परिवर्तन गर्नुपर्छ भन्ने विचार यस पर्वले दिन खोजेको छ ।
मानिसको चाहना प्रेम, सम्मान र आत्मसन्तुष्टि हो । यसको लागि उसले आफूलाई स्वार्थपरक भावनामा लुटपुट्याउँने पनि सक्छ । परिणाम गलत भएको थाहा हुँदाहुँदै पनि आफै एकात्मक चिन्तनतर्फ लालायित भएको पनि हुन सक्छ । चाहना पूरा गर्ने ध्याउन्नमा गलत परिणाम पनि भोगिरहेको हुन्छ । उसले तसर्थ, त्यसको निराकरणको लागि यथार्थ चित्रण गर्दै आसुरी विचार परित्याग गर्न वडादशैं पर्व र यसभित्र प्रतिपादित विभिन्न ग्रन्थको सारले मानिसलाई सच्चिने अवसर प्रदान गर्न खोजेको देखिन्छ ।
मानिसको विशिष्ट प्रतिभा उसले प्रदर्शन गर्ने मानव व्यहवारमा निर्भर रहने यथार्थसत्यलाई उजागर गर्दै अरुको सकारात्मक कामलाई हार्दिक अनुमोदन गर्न यस पर्वले सबैलाई सचेत गराएको छ । क्षणिक आनन्द र स्वार्थले निम्त्याउने खतराप्रति संकेत गर्दै एउटा झुठले सैयौं झुठ उत्पन्न गर्ने र यही झुठको कारण मानिसको जीवन पतीत हुँदोरहेछ भन्ने कुराको स्मरण गराउँदै झुठ र असत्यलाई सत्यले कसरी पछार्दोरहेछ, विजयी ध्वजा फरपराउँदो रहेछ भन्ने यस पर्वले सिकाएको छ । विनम्रता, आज्ञाकारिता र अनुशासित जीवन शैली तथा नैतिक चरित्रवान बन्न यस पर्वले चेतना जागृत गरेको छ ।
कोही पनि अनैतिक र अमर्यादित भएर जिउन नपरोस् भन्ने उद्देश्य बोकेर आउने वडादशैंले नेपाली आदर्शको विशिष्ट पहिचान बोकेको इतिहास पाइन्छ । शक्तिवान् बन्न अरुको दयामा होइन, आफ्नै माटो सुहाउँदो संस्कृति र संस्कारलाई मजबुत बनाउनुपर्छ भन्ने सन्देश दिँदै आफूमा भएको शक्तिलाई सोही आचरणअनुसार परिवर्तन गर्दै निराशामा होइन उत्साह प्रेरणामा आफूलाई क्रियाशील बनाउनुपर्छ भन्ने सत्य यस पर्वले उद्घाटित गरेको छ ।
कुरामा होइन कर्ममा विश्वास गर्न जान्नुपर्छ भन्ने सन्देश दिँदै मानिस अन्तस्करणदेखि नै शान्ति चाहन्छ र शान्ति र सद्भाव नै जीवनको उद्देश्य हो भन्ने मान्यता राख्दछ । मानिसको अन्तिम उद्देश्य भनेको शान्ति नै भएकोले शान्ति र सद्भाव बाँड्न सत्यवादी असल संस्कारमा हुर्कनुपर्छ भनी सबैलाई घचघच्याउने कार्य यस वडा दशैं पर्वले गर्न खोजेको पाइन्छ ।
मानिसले जानेर वा नजानेर पनि सकारात्मक र नकारात्मक चिन्तन गरिरहेको हुन्छ । तर उसलाई यो थाहा हुँदैन कि उसले गरेको चिन्तन र कर्मले उसलाई किन सन्तुष्टि दिइरहेको छैन ? तसर्थ यसको समाधानको लागि मानवले अन्तहृदयदेखि नै आध्यात्मिक सत्यभित्र प्रतिपादित दैवी र आसुरी शक्तिको कहानी बताउँदै सत्कर्मतर्फ प्रेरित गर्न, मनाउन वडादशैं पर्वको महत्व बुझी आफूलाई परिचालन गराउनु पर्छ भनिएको हो ।
यही शिक्षा वडादशैं पर्वले हामीलाई दिन खोजेको छ । विगतमा भएका गल्ती र कमजोरीलाई सच्याउँदै आफूभन्दा ठूला र मान्यजनप्रति आदर सत्कार देखाई आशीर्वाद प्राप्त गर्ने अवसर जुटाउने यस पर्वले नयाँ उत्साह र उमंग जागृत गरोस । सबैमा सकारात्मक चिन्तन बढाई समाज, राष्ट्रलाई समृद्धिको दिशातर्फ डो¥याओस हाम्रो शुभकामना ।
हुन त वडादशैंको बारेमा विविध धर्म र संस्कृति मान्यले तथा भौतिक विकासले साँघुरिएको संसारको गतिविधिले यसलाई हेर्ने दृष्टिकोणमा फरक–फरक दृष्टिकोण राख्न सक्छ । यो संस्कार र संस्कृति ढोङ हो, ढुङ्गाको मूति वा काल्पनिक मूर्ति पूजा गरी राता, पहेँला अक्षता र जमरा लगाउनु बेकार छ पनि भनिएला तर वास्तवमा यस्तो किसिमको दुस्साहस गर्ने चरित्र भनेको रावण प्रवृत्ति हो । यसको वैज्ञानिक आधार थाहा नपाई गलत मानसिकतामा आकृष्ट भएको अवस्था हो । यसले आफू पनि नष्ट अरुलाई पनि नष्ट गराउन सक्छ ।
जुन चरित्र अहिले हिन्दू संस्कारमाथि गर्न खोजिएको आक्रमण र वाह्य आयातीत धर्मप्रति बढेको वितृष्णाले हो । हामी के भन्न चाहन्छौं भने आफ्नै माटोको संस्कृति र संस्कारलाई परिमार्जित गरी विश्वपरिवेशमा आफ्नो वेग्लै पहिचान गराउनुपर्ने अवस्थामा यस्तो विचार बाहिर ल्याउनु र हिन्दू संस्कारमाथि आक्रमण गर्न खोज्नु यो किमारथ राम्रो होइन । यस्तो चरित्र पशुसमानको व्यवहार हुन सक्छ ।
आफ्नो घरआँगनलाई सम्हाल्न नसक्नेले अरुको देखासिकी गर्नु कुनै बहादुरी पनि होइन । बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुलाई पनि बनाउन दिँदैन भन्ने उखान चरित्र चरितार्थ गर्र्दै आफैमा मूर्खता बनाउनु पनि हो । विचारमा स्खलन आउनु पनि हो । मानिस र पशुबीच कुनै भिन्नता नदेखिनु हो । तसर्थ आफ्नै माटो सुहाउँदो सत्यमा आधारित विजयादशमी पर्व हाम्रो आफ्नै मौलिक संस्कृति र संस्कार भएकोले यसलाई बुझेर, रमाउन जरुरी छ ।
तसर्थ सत्य अपरिवर्तन र अविनाशी भएकोले यसको महत्वलाई बुझी आफ्नो गच्छेअनुसार यो पर्वलाई स्वीकार गरौं, हर्षोल्लासपूर्वक मनाऔं । आयो दशैं ढोल बजाउँदै गयो दशैं ऋण बोकाउँदै भन्ने गलत उखानलाई चरितार्थ नहुने गरी प्रेम, मेलमिलाप र सद्भावपूर्ण हिसाबले आफ्नो मर्यादा र हैसियतमा रही वडादशैं मनाऔं । वडादशैंको महिमा र गरिमालाई बुझी खुशी र उमंगको रुपमा ग्रहण गरौं ।
जहाँ मानवीय इच्छा र स्वतन्त्र विचारको मर्यादा हुन्छ, मिलन हुन्छ, आत्मा साटासाट हुन्छ, त्यहीं नै आत्मसन्तुष्टि हुने हुँदा यस पर्वले दिएको यही सत्य ग्रहण गरी टाढाटाढाबाट आएका आफन्त, शुभचिन्तकप्रति प्रेम र सद्भाव बाँडौं । सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया भन्दै आयातीत धर्म र संस्कृतिलाई परित्याग गरी आफ्नै मौलिक र विशिष्ट पहिचान बोकेको वा इतिहासमा बेग्लै पहिचान बोकी विश्वसामू परिचित भएको विजायादशी पर्व मनाऔं ।
ऋतु परिवर्तनसँगै प्रकृतिको सुन्दरतासँग झुलिरहेको धानको बालाबाट चल्ने सुरिलो भाकालाई ग्रहण गरी मनलाई आनन्दित र प्रफुल्लित बनाऔं । हाम्रो संस्कृति हाम्रो संस्कार हामीलाई प्यारो छ– यो नाराका साथ विजयादशमी मनाऔँ । हाम्रो शुभकामना ।