प्लास्टिकका माला र सडकका क्रस तार हटाउन गाउँपालिकाको अनुरोध

आलोक भावुक
गढवा, ३० असोज। दाङ देउखुरीको गढवा गाउँपालिकाले पालिकाको केही स्थानमा क्रस तारहरु र बजार क्षेत्रमा सडकको पेटीसम्म पसल राखेको पाईएकाले त्यस्ता कार्य नगर्न सम्पूर्ण पालिकाबासीलाई अनुरोध गरेको छ ।

पालिकाले सोमबार एक विज्ञप्ती जारी गर्र्दै गाउँपालिकाबासीहरुमा यस्तो अनुरोध गरेको हो । गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माद्वारा हस्ताक्षरित पत्रमा गढवा गाउँपालिका हुलाकी सडक खण्ड र लमही कोईलाबास सडक क्षेत्रमा केही स्थानहरुमा क्रस तारहरु अत्यन्त होंचो हुनेगरी तानिएकोले ठुला तथा मालवाहक गाडीहरु आवतजावतमा कठिनाइ हुने गरेको र तारहरु चुँडिदा अनावश्यक विवादमा परिने डरले ठुला सवारीसाधनहरु हिड्नै छोडेको अवस्था सिर्जना भएकोले त्यस्ता तारहरुलाई सम्बन्धीत व्यक्तिहरुले यथासिघ्र ब्यवस्थापन गर्नहुन अनुरोध गरेको हो ।

पालिकाको आग्रहलाई व्यवस्था गरिए त्यसबाट हुने क्षति स्वयम् सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने भनिएको छ। त्यसैगरी चार्डपर्वको समयमा बजार क्षेत्रमा सडकको पेटीसम्म पसल राख्ने गरेको पाईएकोले यसबाट सडकमा आवतजावत गर्ने यात्रुहरुमा असहजता उत्पन्न हुने, असोभनिय देखिने, सडक क्षेत्र साँघुरो हुदा सडक दुर्घटना हुन सक्ने भएकोले त्यस्ता कार्य तत्काल रोक्नु हुन साथै नगर्न सबैमा अनुरोध गरिएको छ।

त्यसैगरी वातावरणमा प्रदूषण कम गर्न नजिकिदै गरेको महान पर्व बडा दशै, तिहार तथा छठ पर्वको अवसरमा हुने कुनै पनि कार्यक्रममा प्लास्टिक जन्य फुलमाला प्रयोग नगर्न गराउन सबैमा अनुरोध गरिएको छ।