आजबाट दसै सुरु

घोराही,२८ असोज । आजबाट हिन्दुहरूको महान् चाड दसैँ सुरु भएको छ । नवदुर्गाको पूजा आराधना गर्ने, राम्रो लगाउने, मिठो खाने र मान्यजनका हातबाट टीका आशीर्वाद ग्रहण गर्ने चाडका रूपमा दसैँलाई लिइन्छ ।

नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ । घटस्थापनादेखि नवरात्र आरम्भ हुन्छ । दशौँ दिनमा देवी विसर्जन गरेपछि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा ग्रहण गरिन्छ । अनादिकालदेखि नै विजया दशमीलाई नेपालका सबै समुदायले मनाउँदै आएका छन् ।

वर्षमा चारवटा नवरात्र छन् । पुसमा, चैतमा, असारमा पनि नवरात्र पर्छ । तर, शारदीय दुर्गा पूजा बडादसैँ हो । यतिवेला उपासना गर्नाले देवी विशेष खुसी हुन्छिन् भन्ने विश्वास छ । प्रतिपदा (घटस्थापना)देखि नवमीसम्मको नवरात्रको उपासना बुझ्नलाई हामीले यसको महत्वबारे बुझ्नुपर्छ ।

रात्र भनेको अन्धकार हो । अन्धकार भनेको मोह, तमस, कामवासना वा आशक्ति हो । हाम्रो शरीरका नौवटा इन्द्रियले ग्रहण गर्ने आशक्ति हटाउन र इन्द्रियहरूलाई थप सशक्त बनाउन नवदुर्गाको उपासना गरिन्छ ।

जस्तो– आँखाले त पाप चिताएको हुन सक्छ, मनमा कुविचार पलाएको हुन सक्छ, अन्याय–अत्याचारको कुरा आउला । नौ दिनसम्म लगातार उपासना गरेर यस्ता मोह र आशक्तिमाथि विजय हासिल गरेपछि ती छिद्रहरू थप सबल बन्छन् र सफा हुन्छन्, त्यसैको खुसीमा दशमीको दिन उत्सव मनाउने भनिएको छ ।

परम्परा र देशाचारअनुसार उपासना गर्नुपर्छ भन्ने मलाई लाग्छ । मुख्यतः भगवतीले खोज्ने भनेको श्रद्धा र भक्ति नै हो । पूजाकोठा हुनुपर्‍यो, पूजाआजा हुनुपर्‍यो, भगवतीको स्वरूप हुनुपर्‍यो । सबै किसिमका पूजामा फूलपाती, चन्दन, नैवेद्य, धुप जति पनि छन्, चढाउनुपर्‍यो ।

सकेसम्म चण्डी पाठ गर्ने वा गराउने चलन पनि छ । सम्भव छ भने पुरोहित राख्न पनि सकिन्छ । त्यो सकिएन भने पनि भगवतीको नामको जप गर्न सकिन्छ । किनकि, चारवटा नवरात्रमध्ये शरद ऋतुको यो नवरात्रको महत्व विशेष छ । यसबाट गरेको पूजाबाट म (भगवती) चाँडै खुसी हुन्छु भनेर त चण्डीमै लेखिएको छ ।

कसैले पनि कुनै दीक्षाको मन्त्र लिनुभएको छ भने त्यो जप्नुस् । नत्र एउटै नाम लिए पनि हुन्छ । जस्तो– ‘दुर्गाय नम’, ‘जयकाली जयकाली’ वा ‘जय गोरखकाली’ भने पनि भयो । भगवान्लाई उपचार सामग्री वा भेटी होइन, श्रद्धा र भक्ति चाहिने हो । श्रद्धारूपी फूल चढाऊ भन्नुहुन्छ, त्यति चढाएपछि खुसी हुनुहुन्छ ।

जमरा कहाँ राख्ने ?
घटस्थापनाको दिन पहिले दीप, कलश, गणेशको पूजा गरिन्छ । त्यसपछि जमरा राखिन्छ । घाम नदेखिने ठाउँमा जमरा राख्नुपर्छ । यसको पूजा गर्दा पूर्व तथा उत्तरतर्फ फर्केर गर्नुपर्छ । घरको ईशान कोण अथवा पूर्व फर्केर वा उत्तर फर्केर पूजा गर्दा राम्रो मानिन्छ ।

जमराको रूपमा जौ, गहुँ, मकैलगायत विभिन्न १० प्रकारका अनाज रोपिन्छ । आफूले खाने अन्नलाई प्रसादको रूपमा जमरा बनाउने हो । यसपछि नौ दिनसम्म देवीको आराधना गर्ने, पूजा गर्ने गरिन्छ । दीप, कलश, गणेश तथा नौवटा घडाको स्थापना गर्नुपर्छ ।