कविता : गणतन्त्र कहाँ गयो ?

  •   
  •  

खगराज न्यौपाने
सबैको सहयोगैमा गणतन्त्र यहा भयो
यहितन्त्र यहा आए सबै पूर्ण हुने भयो ।
अत्याचार र अन्याय समाप्त अब हुन्छ हो
काला बजारको काम अवश्य दण्डनीय हो ।

समाजभित्र जे जस्ता देखिन्छन् कुरितीहरु
सबै समाप्त भइ जाने चर्चा छ गाउँमा बरु ।
मल बिउ यथा स्थान निश्चित याममा अब
कृषकजनले प्राप्त गर्नेछन् साच्चिकै सब ।

पहाडी भेगका मान्छे खाद्यान्नको अभावमा
भोकले अब मर्दैनन् भन्थे गाउँ समाजमा ।
अनैतिक जले गर्छ राज्यले दण्ड गर्दछ
शोषणको सबै काम देशले बन्द गर्दछ ।

समाजमा जता हे¥यो शान्ति मात्र छ देखिने
जनले स्वर्गको जस्तो आभाष पाउने भए ।
यस्तै कुरा सबैतर्फ चर्चा हुन्थ्यो समाजमा
नेताहरु यसै भन्थे आफ्ना भाषण बाजीमा ।
लामो समयको पश्चात देशका ठाउँ ठाउँमा

गणतन्त्र यहाँ आको देखिँदैन समाजमा ।
जनले सुविधा पाको छैन यहाँ कतै पनि
किन यस्तो भयो भन्छन् मुक्त भोगीहरु सबै ।
राज्यको ढुकुटी खान्थे यहाँ निश्चित व्यक्तिले
हजारौँ व्यक्तिले आज लुटि खाँदा अचम्म भो ।

सुशान्तिको कतै छैन अनुभूति समाजमा
त्यसैले दिक्क छन् सारा जनता सब ठाउँमा ।
ढुङ्गा माटो सबै आए जलस्रोत सबै सके
मान्छे बेचेर खाँदैछन् न्यायालय पनि सके ।
हत्याराहरुको मान हुन थाल्यो समाजमा
कसरी देश यो उठ्ला विज्ञ भन्छन् बजारमा ।