calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

कथा : आशाको दियो बलिरहेको छ

नारायणप्रसाद श्रेष्ठ
गताङ्क…
यसरी घरीे–घरी रामबहादुरले भनेका कुरा गाउँलेहरुले निशब्द भएर सुनिरहेका थिए ।
सासुआमाले मर्ने बेला भन्नु भएको कुरा सम्झ त ! भर्खर जोडिएका छौ । तिमीहरुको दिन छ कमाउन सक्छौ, म त मर्ने बेला भइसक्यो तिम्रो सन्तानको मुख हेरी मर्न पाए हुन्थ्यो, भनी भनेको कुरा के तिमीले बिर्सियौँ ? तिमीहरुको सन्तानले संसारलाई जित्ने छ । तर के गर्नु हाम्रो सन्तानको मुख नदेखि जानुभयो । भाग्यमा जे लेखिएको छ त्यही हुन्छ भन्थे हो र छ ! हाम्रो भाग्यमा पनि जे लेखिएको छ त्यहीँ होला राम्रो कर्म गरेका रहेछौ भने हाम्रो पनि दिन फिर्ने छ ।
तिमीहरु दुई जना कतिखेर सुत्दथियौ, रातभर जागाराम हुन्थ्यौ बा के गथ्र्यौ त्यो मलाई थाहा छैन ? तर म रातभरी मस्त निदाउथे । तर म थोरै बुझ्ने भइसकेपछि झुपे र कालीसँग माथि डाडाँघर त कहिले तल पार्टीमा कितावको झोला भिरेर हिडेको, गोजीमा मसी पोखी निलै भएको त्यो अवस्था अहिले पनि याद छ । दिनरात घामपानी झरी नभनी मेरो लागि बाआमाले जसरी मेहनत गरेका थिए, पसिनाको धारासँगै मलाई हुर्काउन, बढाउन, पढाउन जति मेहनत ग¥यौ, सम्झदा पनि अत्यास लाग्छ आमा !
एक दिन बजार घुम्दै जाँदा साहुजीसँग यसलाई गोली मिठाइ दिनु न भनी माग्दा ला… भनी भुईमा फालेको र तिमीले भुईबाट टिपी धोतीको सप्कोले पुछ्दै मेरो मुखमा राखिदिएको त्यो क्षण, त्यो गरिबी, त्यो दमन, त्यो शोषण सम्झदा अहिले पनि भक्कानिन्छ मन । बाबा एक रात खोक्दै घरभित्र पसेको र मुखबाट रगत छादेको देख्दा तिमी कति भक्कानिएर रोयकी थियौ । नजिकैको वनबाट के बुटी ल्याइ बाबालाई खुवाउदा पनि रगत आउन नरोकिए पछि तिमी मलाई काखमा च्याप्दै गाउँ–गाउँ घर–घर ढोका चाहार्दा पनि कसैले सहयोग नगरेको र गरिबीको मजाक उडाउँदै तिमीलाई गाउँलेले गरेको अपमान सम्झिदा पनि आङ् सिरिङ्ग गर्छ ।
भगवान् दाहिने भएर होला वा हाम्रो पुकार सुनेर होला तल्ला घरे काइलीले जम्मा गरेको पैसाले औषधीपानी गरेको बाबालाई सन्चो गराएको त्यो क्षण लाग्छ त्यो मेरो जीवनको नबिर्सने क्षण भएर अहिले पनि सम्झना आइरहन्छ । गरिबको सहारा गरिब नै हुन्छ भन्ने सत्य त्यसबेला सावित भएको थियो । अहिले ती काइलीको छोरा त विदेशमा बस्छन् रे भन्ने सुन्छु तर जे होस्े यसरी केही समय बितेपछि बाबाले त्यही रोगका कारण हामीलाई सदाको लागि छोडेर जानुभयो । तिमी रोयौ डाको छोडेर । चिच्यायौ मेरो राजा भनी मरेको शरीरलाई माया ग¥यौ, अंगाल्दै धेरै बेर रोयौ तर तिमीलाई सम्झाउने कोही भएन ।
म मुखदर्शी भएर यो हेरिरहे ! सुनसान वातावरणको त्यो क्षणमा चलेको रुवाबासीले होला खोलापारी साइला, साइली, माथ्लाघरे राहिला, राहिली, छोटे, गाउँको कटुवाल आएर तिमीलाई सम्झाए । लासको सतगत गरे हामी टुहुरो बन्यौ । त्यस पछिका दुःखका कुरा कति सम्झु आमा । ति दुःखका दिन सम्झदा त अहिले पनि वनमा डडेलो लगाए झैँ ति जिमिदार र शोषकको दुरदर्शा गराउ जस्तो लाग्छ । तिम्रो अधवैशे जवानीमा कतिले आँखा गाडे होलान् ? शोषक सामन्तीहरुले तिमीलाई शोषण गर्न कति लोभ, लालच देखाए ? इज्जत लुट्न तम्सीए होलान् तर तिमी सतीसाल झैँ आफ्नो इज्जत प्रतिष्ठा र मर्यादामा कायम रहयौैैैैैैँ ।
मलाई हुर्कायौ, पढायौ मेहनत गर्न सिकायौ एक्लै भए पनि मेहनत र पसिना बगाउँदै गयौ । जब म ज्ञानी बन्दै पढ्ने बुझ्ने हुँदै गए, त्यसपछि समाजले मलाई हेर्ने दृष्टिकोणमा कसरी परिवर्तन भयो । अचम्म ! समाज कसरी परिवर्तन भयो । हिजो हामीलाई हेर्ने दृष्टिकोणमा अहिले कति फरक भयो आमा ? अस्ती नाता लगाउन हिचहिच्याउने वर्ग पनि च्यातिएको गुन्योको नाता लगाउँदै हाम्रा सामु आए । समाज कति स्वार्थी ? हिजो केही नदेख्ने, सराप्दै हिड्ने त्यो समाज, आज म अलि हुनेखाने र इज्जतदार बनेपछि कति फेरिँदो रहेछ ।
कति स्वार्थी दुनिया ! निभ्न लागेको बत्तिको उज्यालो झैँ तिम्रो चेहरा कति खुसी थियौ तर के गर्नु जवानीमा दुःखकष्ट भोगेको त्यो शरीरले सुख सयल गर्ने अवसरै पाएन । लाउला, खाउला भन्ने बेला दुःखकष्ट मात्रै भोग्नु प¥यो । अब त सुखी होला खान लाउन पाउला भनी भन्ने बेला यो पनि नखा उ पनि नखा भनी डाक्टरले भन्दै गर्छन् । यति हुँदा हुँदै पनि तिमीले मेरो जीवनको कथा लेख्दा धेरै मेहनत ग¥यौ । यसरी मेहनत गर्दै गर्दा तिमीले पनि मलाई टुहुरो बनाएर गयौ । घरबार सबैलाई छोडेर सुखको संसारमा पुग्यौ आमा ।
मेरो भाग्यमा यस्तै लेखेको रहेछ । कति रात रोय, कमसेकम मेरो घरबार केटाकेटी भएर हेरि गएको भए पनि हुन्थ्यो नी ? तिम्रो आशा र भविष्यको दियो बालेर गएकी भए पनि मन बुझाउने बाटो हुन्थ्यौ नी आमा ? तर तिमी पनि निष्ठुरी झै गरी मलाई एक्लै छाडिगयौ । तिम्रो मेहनत र पसिनाले आज यो अवस्थामा आएको यो छोराले तिम्रो सेवामा धोका पुग्ने गरी सेवा गर्न पाएन । मलाई केही सेवा गर्न दिइ गएको भए पनि हुन्थ्यो नी ? न त मैले राम्ररी सेवा गर्न पाए न त तिमीले आफ्नो भविष्यको उज्यालो हेरेर जाने अवस्था भयो । सम्झदा पनि कहाली लाग्छ आमा । विद्याता पनि कति निष्ठुरी हुदो रहेछ ।
कहिलेकाहाँ सम्झन्छु मेरो भाग्य पनि यस्तै रहेछ क्या रे । यसरी थोरै क्षण विश्राम गर्दै उ कथा भन्दै थियो सबै गाउँले एकपछि अर्को गर्दै चौपारी भर्दै थिए । कति आँखाबाट आँसु खसाल्थे कति आफ्नो विगतका इतिहास सम्झन्थे । कतिले सुनिरहेका थिए ।
संसार कति स्वार्थी हुँदो रहेछ आमा । यो समाज यो वातावरण यो परिवेश हेर्दा लाग्छ समाज निकै स्वार्थी हुँदो रहेछ । मान सम्मान र प्रतिष्ठाको लागि ठुलाबडाले गरिबलाई कसरी हेप्दा रहेछन् । स्वार्थ र लोभ मोहमा अरुलाई कुन नजरले हेर्दा रहेछन् ? गरिब त मान्छे नै होइन जस्तो गरी कसरी व्यवहार गर्दा रहेछन् । कहिलेकाहीँ मन निकै विचलित हुन्छ आमा । समाज के स्वार्थको सागर हो र ? खुलदुली लाग्छ ।
तिम्रो दुधको धाराले सिन्चित गरेको मेरो शरीरको प्रत्येक अङ्ग र त्यसधारले बनाएको मेरो अवस्था मैले रिन तिर्न पाइन । फेरि सम्झन्छु सेवा गर्न नपाएको अवस्थालाई हेर्छु कतै पनि रिनचुक्ता गर्न, तिर्न पाए भने तिमी सँग पुनः मिलन नहुने गरी छुटिने अवस्थाको सङ्केत त होइन । तिमीले छोडेर गयौ हामी टुहुरा बन्यौ कहिले काहीँ सम्झन्छु आमा रिन चुकाउन यो जुनीमा नपरोस् । फेरि पनि तिम्रै छोरा भएर जन्मन पाउँ यहि इच्छा राख्छु । खाउखाउ लाउलाउ भन्दा भन्दै तिमीलाई दैवले लग्यो । सम्झनाको पेटारो कति उघारु आमा ?
विगतको सम्झना झलझली आइरहेको छ । आमाको सम्झनामा यो मन रोइरहन्छ । तिमी भए अहिलेको वर्तमानले हामीलाई कसरी सम्झन गरेको छ हेर्ने थियौ । मनलाई आनन्दको सागरमा डुबल्की मार्दै प्रकृतिको अनुपम सुन्दरताभित्र कति रमाउथ्यौ । विगत र वर्तमानलाई कति केलाउथ्यौ । तिम्रा विगतका अनुमान र समाजको अवस्था र ठुलाबडाको हैकम कथा झै कति सुनाउथ्यौ । हे प्रभु ईश्वर शिवबाबा म फेरि तिम्रै सन्तान भएर सेवा गर्न पाउँ यहि कामना राख्दछु । बा आमा तिमीहरु अहिले के गर्दै छौ, थाहा छैन ।
भन्छन्– संसारको गतिविधि सबै यसै भूतलमा रहन्छ रे ? कतै अदृश्य भएर तिमीहरुले हेरिरहेका त छैनौ ? यदि यस्तो हो भने मेरी आमा कहिले सपनामा आएर पनि मलाई भेट्ने गर । यस्तो गर बाबु, उस्तो गर बाबु, यो गरे राम्रो हुन्छ, यो नगरे राम्रो हुन्छ, सम्झाउ आमा । दिनमा नभए पनि रातमा सपनामा आउ आमा । दिउँसै सपना देख्ने यो समाज, यो दुव्र्यहारबाट टाढा उम्कने बाटो सिकाइदेउ । सत्य असत्य के हो त्यो सुटुक्क कानमा भनिदेउ ।
मान, सम्मान, अपमान शब्दलाई नेपाली शब्दकोषबाटै हटाउने बुद्धि सिकाइदेउ । व्यभिचारी गर्ने व्यक्तिको अन्त्य गर्ने उपाय सिकाइदेउ । आफूलाई परे संसार डुबेको देख्ने, अरुलाई परे वास्ता नगर्ने यो समाज भित्रका शोषकको अन्त्य गर्ने उपाय सिकाइदेउ । म तिम्रै प्रतिक्षामा बसिरहेको छु । धैर्य गर्न सक्छु आमा आशाको दियो अझै बलिरहेको छ ।
–बाँकी अर्को पटक…