राजपुर गाउँपालिकामा निस्सा वितरण

गोरक्ष समाचारदाता
दाङ, २६ असोज । राजपुर गाउँपालिकाले यहाँ रहेका वडामा क्रमशः निस्सा वितरण सुरु गरेको छ । विगतदेखि पालिकाभित्र बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, विपन्न तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेको थियो ।

सोही आधारमा छनोटमा परेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, विपन्न तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरिएको हो । यही क्रममा गाउँपालिले वडा नम्बर ३, ४ र ५ मा निस्सा वितरण गरिरहेको छ । निस्सा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपतीदेवी यादव, वडा नं. ३ अध्यक्ष रामप्रसाद अहिर, वडा नं. ४ का वडाध्यक्ष रामेश्वर अहिर, वडा नं. ५ का वडाध्यक्ष टंकबहादुर विष्ट, वडा सदस्य, भूमि व्यवस्थापन शाखा प्रमुख शरद रेग्मी, शाखाका कर्मचारी, वडाका कर्मचारीलगायत स्थानीयबासीको सहभागिता थियो ।

निस्सा प्राप्त गरेको प्रमाणपत्रकै आधारमा जग्गा नापजाँच तथा अन्य प्रक्रिया अघि बढ्ने भएकोले यसको संरक्षण गरेर राख्न पालिका अध्यक्ष शरदकुमार बुढाथोकीले आग्रह गरे । क्रमशः निस्सा वितरण सबै वडामा गरिसक्ने र त्यसपछि अन्य प्रक्रियाको काम थालेर चाँडै राजपुरका सुकुम्बासी तथा भूमिहीनलाई धनीपुर्जा उपलब्ध गराइने बताए ।