Goraksha

National Daily

जनतालाई पार्टीसँग जोड्न समाजवादी जागरण अभियान : अध्यक्ष नेपाल

दाङ,२४ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्नका लागि मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको बताएका छन् ।

एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’अन्तर्गत बुधवार दाङको घोराहीमा भएको सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले जनतासँग नजोडिएर देशको विकास गर्न नसकिने बताएका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशाका बारेमा जनतालाई बुझाउँदै समाजवादी पार्टी निर्माणको अभियानमा जोडिन सवैलाई आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले भने,‘समाजवादी पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनतालाई बुझाउन अभियान सञ्चालन गरेका हौँ । अभियानलका क्रममा जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग जोड्न भूमिका खेल्नेछ ।’ उनले अव नेपालमा समाजवादी कम्युनिष्टभन्दा अरुको विकल्प नभएको भन्दै पार्टीलाई जिल्ला–जिल्ला, नगर–गाउँ–गाउँसम्म पु¥याउने अभियानको लक्ष्य रहेको बताए । समाजवादी पार्टी निर्माणको अभियान लामो रहेको भन्दै अध्यक्षले नेपालले लोभका कारण पार्टीमा आएका नेता तथा कार्यकर्ताहरु छोड्दै हिड्नु अन्यथा नभएको बताए ।

नेकपा समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको विकासका लागि कृषि क्षेत्रको बिकास हुन आवश्यक रहेको बताए । कृषिको विकास विना देशको विकास सम्भव नहुने र युवा जनशक्ति विदेशीने क्रम नरोकिने बताए ।

कृषिको विकास गर्दै स्वदेशमै उद्योग कलकारखाना सञ्चालन गर्न सक्ने हो भने युवाहरुलाई रोजगारीका लागि बाहिर जान नपर्ने भन्दै त्यसको नेतृत्व समाजवादी एकीकृत पार्टीले गर्ने बताए । त्यसका लागि किसानलाई सहकारीका माध्यमबाट संगठित गर्दै कृषिको विकासमा लगाउने राज्यले किसानलाई मल, बिउ, प्रविधिक जनशक्तिसँगै उत्पादन भएको अन्य तथा तरकारी स्टोरका लागि कोल्डस्टोरहरु देशका ठाउँठाउँमा निर्माण गरेर सहयोग गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी नेता खनालले संविधानले नेपाली जनतालाई हक दिए पनि अझै धेरै विभेद कायम रहेको भन्दै भने,‘हिजो सामन्ती वर्गले शोषण गर्थे, अहिले पूँजीपति वर्गले गरिव वर्गलाई शोषण गरिरहेका छन् । तल्लो बर्गहरु अहिले पनि गाँस, बास र कपासको हकबाट बञ्चित हुनुपर्ने अवस्था छ । समाजवादीले यस्तो अवस्थाको अन्त्य चाहान्छ्।’ दलाल पूँजीपतिहरूले देशका हरेक भागहरु कव्जा गरेको भन्दै त्यसको अन्त्य गर्न आवश्यक रहेको नेता खनालको जोड थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्दासम्म देशको आर्थिक समृति नहुने बताए । देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै महासचिव खनालले किसानले उत्पादन गरेको हरेक बस्तुको बिक्रीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए ।

यसरी कृषिको विकास गर्न सके कम्तिमा पाँच बर्षमा परिवर्तनको अनुभूति गर्न सकिने दावी गर्दै महासचिव भुसालले भन्नुभयो,‘हाम्रो देशमा कृषिको राम्रो सम्भावना रहेको छ । कृषि क्षेत्रलाई व्यवस्थीत गर्दै विकास गरे यहिबाट समृद्धि हासिल गर्न सकिन्छ,युवाहरुलाई काम गर्न मरुभुमिमा जानुपर्ने छैन । त्यसका लागि राज्यले कृषि क्षेत्रलाई व्यवस्थीत गर्न ध्यानदिनुपर्छ ।’

महासचिव भुसाललले नेकपा एमालेका अध्यक्ष केपी शर्माबाट पार्टी कहिल्यै नबन्ने भन्दै जनतालाई उनका कुरा विश्वास नगर्न आग्रह गरे । ओलीको ध्यान जहिले नि सत्ताको नेतृत्व ताक्ने, त्यसका लागि जालझेल गर्ने र छलकपटमै रहेको महासचिव भुसाललको आरोप थियो ।कार्यक्रममा बोल्दै नेकपा समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले एकीकृत समाजवादी पार्टीबाट जनताले ठुलो आशा गरेको बताए ।

देशको विकाससँगै सुशासन कायम र भ्रष्टाचार अन्त्यलगायतका कुरामा समाजवादी प्रतिवद्ध रहेको भन्दै देश र जनताको हितविपरित कुनै पनि गतिविधि नगर्ने बताएका हुन । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा सचेतक मेटमणि चौधरीले देश र जनतालाई प्राथमिकतामा राखेर विकास र निर्माणको काम गर्ने सच्चा कम्युनिष्ट पार्टी एककीकृत समाजवादी मात्रै भएको बताए ।

एकीकृत समाजवादी पार्टीकै कारण अहिले सरकारले सफलता प्राप्त गर्नेदेखि सुशासन कायम, भष्टाचारको अन्त्यलगातका सकारात्मक कामहरु गरिरहेको बताएका थिए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश कमिटी सदस्य ससमोती चौधरीलगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण रामप्रसाद गैरे गरेका थिए ।