मोतियाविन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता
तुलसीपुर, २२ असोज । बबई र शान्तिनगर गाउँपालिकाले गाउँपालिकामा रहेको अन्धोपन न्युनीकरण गरि उज्यालो प्रदान गर्ने उद्देश्यले निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता गरेको छ ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल बबई गाउँपालिका र शान्तिनगर गाउँपालि बिच एक बर्षका लागि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया, आँखा शिविर र आँखा चेकजाँचका लागि सोमवार सम्झौता गरेको हो ।
राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम र बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर क्षेत्री खत्री प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी विच एक बर्षका लागि मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गर्ने सम्झौता भएको हो । अस्पताल र गाउँपालिकाको साझेदारीमा गाउँपालिका भित्रका मोतियाविन्दुका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने गरि बबईमा ४० जना र शान्तिनगरमा ६३ जनाको शल्यक्रिया गरिने छ ।
गाउँपालिकाले प्रतिव्यक्ति एसआईसिएसका लागि रु ८ हजार र अन्य लाग्ने खर्च अस्पतालले व्यहोर्ने सम्झौता उल्लेख छ । सम्झौता कार्यक्रममा राप्ती आँखा अस्पतालका कार्यालय सहायक पूर्णबहादुर वली,स्वास्थ्य शाखा संयोजकहरुको समेतको सहभागीता रहेको थियो । साथै एसआईसिएस प्रविधिमार्फत ८ हजार र सेवा प्रदायकले मोतिविन्दुको फेको प्रविधिबाट शल्यक्रिया गर्नुपर्ने भए थप ५ हजार विरामी स्वयमले तिनुपर्ने समेत सम्झौता भएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।
यस सम्झौता संगै आँखामा मोतियाविन्दु भएर पनि आर्थिक अभावका कारण सेवा पाउन नसकेको विरामीहरुले निःशुल्क शल्यक्रिया गर्न पाउने छन् भने अन्धोपन न्यूनीकरणमा ठुलो सहयोग मिल्ने सूचना अधिकारी बालाराम खड्काले बताए । उनीहरुको शल्यक्रिया राप्ती आँखा अस्पतालमा हुने छ ।
