समाज बदल्न सकारात्मक सोचको आवश्यक : नगर प्रमुख चौधरी
लमही, १९ असोज । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले वैदेशिक रोजगारीका लागि गएका व्यक्तिका परिवारलाई समाजले हेर्ने दृष्टिकोण बदलिनुपर्ने बताए ।सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले जबसम्म हामीले सकारात्मक सोच, सकारात्मक भावना राख्दैनौ तबसम्म समाज परिवर्तन नहुने बताएका हुन ।
‘एउटा युवा अथवा युवती आर्थिक चपेटामा परेर परिवारका लागि घरपरिवार छोडेर प्रदेश गएको हुन्छ, भोलि पल्टबाट उस्को कुरा काट्न शुरु हुन्छ’, उनले भने,‘नकारात्मक सोच र विचारले एक जनाको मात्र हैन सिंगो परिवारलाई मानसिक तनाबमा पार्ने काम भैरहेको हुन्छ ।’ नगर प्रमुख चौधरीले समाजमा हुने हरेक सुख दुःखलाई बाडेर बस्न सकियो भने कुनैपनि मानिस दुःखी हुनु नपर्ने भएकाले सवैमा सकारात्मक सोचको आवश्यक रहेको बताएका हुन ।
कार्यक्रममा लमही नगरीपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले नेपालमा आर्थिक अवस्था कम्जोरका कारण थुप्रै नेपालीले अनाहकमा थुप्रै दाजुभाइले ज्यान गुमाउने गरेको बताइन । आर्थिक समस्याकै कारण वैदेशिक रोजगारमा जाने, राम्रो काम नहुँदा पैसा कमाउन नसकेर घर फर्किने, घरमा श्रीमान श्रीमतीको झगडा भैरहने, ऋणकर्जाले गर्दा मानसिक तनाब ब्यहोरेका जस्ता समस्याको कारण मानिसहरु दिनानुदिन डिप्रेसनमा जाने गरेको उनको भनाई थियो ।
उनले हरेक व्यक्तिलाई सकारात्मक सोच सम्वन्धी मनोसामाजिक परामर्श हुन आवश्यक रहेको बताएकी थिइन । कार्यक्रममा लमही नगरपालिका–१ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, सामी कार्यक्रमसंग सम्बन्धित शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
