स्वास्थ्य सेवामा सुधार गर्न जनशक्ति र उपकरण थप हुँदैछ : मन्त्री बस्नेत
घोराहीे, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले छ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि दरबन्दीसँगै उपकरण थप गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस दाङले बुधवार घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अहिले धेरै अस्पतालमा जनशक्तिसँगै उपकरण अभाव देखिएको भन्दै सरकार त्यसको व्यवस्थापनमा सरकार जुटेको बताउनुभएको हो । त्यसका लागि । स्वास्थ्यमा जनशक्ति बढाउने र उपकरण थप्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो,‘अहिले धेरै स्वास्थ्य सस्थाहरुमा दरबन्दीसँगै जनशक्ति अभावको समस्या आउने गरेको छ । त्यसका लागि चिकित्सा शिक्षा विधेयक संशोधन गरेर अबको ६ महिनाभित्र दरबन्दी थप हुनेछ ।’ त्यसका लागि चिकित्सा शिक्षा विधेयक परिमार्जनको तयारी भइरहेको भन्दै त्यसमा प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष पनि सकारात्मक रहेको मन्त्री बस्नेतको भनाई थियो ।
मन्त्री बस्तेतले निजी अस्पतालले १० प्रतिशत बेड पूर्ण निःशुल्क नगरे अस्पतालको नवीकरण नहुने बताउनुभयो । गरिव तथा विपन्न समुदायले पनि स्वास्थ्य सेवा पाउनुपर्छ भनेर आफुले निजी अस्पतालहरुले अनिवार्य रुपमा निशुल्क बेड छुट्याएर उपचार गर्नुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो,‘निजी अस्पतालहरुले बार्षिक रुपमा दश प्रतिशत बेड निशुल्क छुट्याएर गरिव तथा विपन्नको उपचार गर्नुपर्छ । यदि त्यसो नगरेको पाइएमा अस्पतालहरुको नविकरण हुनेछैन ।’
मन्त्री बस्नेतले सरकार आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने अभियानमा रहेको भन्दै सरकारको अभियानलाई सहयोग गर्न निजी अस्पताललाई आग्रह गर्नुभएको थियो । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने सरकारको योजना रहेको भन्दै मन्त्री बस्नेतले भन्नुभयोे, ‘सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नु यो सरकारको प्रमुख प्राथमिकता हो, यो अभियानमा सवैको साथ आवश्यक छ ।’
नेपाली कांग्रेस दाङका सभापति शंकप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय गेहेन्द्र गिरीले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश तथा संघीय मन्त्रीहरुले पहल गर्नुपर्ने बताएका थिए । प्रदेश तथा संघीय दुवै मन्त्रालयले कांग्रेसले नेतृत्व गरेपनि जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा जनताले पाउन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । जिल्ला उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण अर्जुनकुमार योगीले गरेका थिए ।
