कोरोना परीक्षण मेसिन एक-दुई दिनमै दाङ झर्ने

दाङ बैशाख ४ गते । नयाँ बर्षको उपहार स्वरुप दाङमा कोरोना संक्रमण परीक्षण गर्ने मसिन (पिसिआर) सञ्चालनमा आउने भनिएता पनि अझै त्यो मसिन दाङमा झरेको छैन । तर स्रोतहरुका अनुसार अब एक दुई दिनमै मसिन आउने छ र लगत्तै परीक्षण हुने छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जडान गर्ने गरी सो मसिन आउँदै छ । ‘उपकुलपति डा.संगीता भण्डारी काठमाण्डौंमा हुनुहुन्छ, सायद संगै लिएर आउनु हुन्छ’ आज प्रदेशका मुख्यमन्त्रीसंगको भिडियो संवादमा जोडिइका नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले भने, ‘मुख्यमन्त्रीले आफुसंग डा.भण्डारीले संयोजन गरिरहेको र एक दुई दिनमा दाङ आइपुग्ने जानकारी दिनुभएको छ ।’
पन्तका अनुसार पिसिआर मसिनका लागि आबश्यक रकमको कुनै समस्या नहुने गरी प्रतिष्ठान र प्रदेश सरकारबीच कुराकानी भैरहेको जानकारी पनि मुख्यमन्त्रीले भिडियो संवादमा दिएका थिए । भिडियो संवादमा दाङका राजनीतिक नेतृत्व, जनप्रतिनिधीहरु र नागरिक समाजका अगुवाहरु जोडिएका थिए ।
‘मैले प्रतिष्ठानबाट तत्काल सेवा प्रदान गर्ने गरी सहकार्य गर्नका लागि आग्रह गरे’ नागरिक समाजका संयोजक पन्तले भने, ‘मुख्यमन्त्री यो कुरामा सहमत र सकारात्मक देखिनुभयो ।’ पन्तका अनुसार मिडियो संवादमा दाङमा राहत वितरणको अबस्थाका बारेमा जानकारी लिने दिने कुरामा बढी छलफल भएको थियो ।