Goraksha

National Daily

रिपोर्टर्स डायरी : जव प्रहरीको मन समेत पग्लीयो…

शिबराज खनाल

सिन्धुपाल्चोकबाट बर्दियाको राजापुर फर्कदै गरेका ३० जना मजदुरलाई वडा प्रहरी कार्यलय लमहीमा कार्यरत प्रहरी जवान काली बहादुर बिक( जुङे) ले आज लमही स्थित अर्जुन खोलामा आफ्नै खर्चले पानी र चाउचाउ बितरण गरे ।

राज्यले त्यसरी हिड्नेलाई थुन्ने जनाइरहेको छ । तर मानवीय नाताले सरकारको त्यो निर्णय कार्यान्वयन हुने संभावना मैले देखेन ।

‘पैदल यात्रुहरु भोकै र प्यासै हिँडेको देख्दा मनवताको भावना जागेर आयो, मन थाम्न सकेन अरु त के गर्न सक्छुर सर, मैले सके जत्तिको सहयोगमात्र गरेको हँु’ प्रहरी जवान कालीबहादुर बिकले मुस्कुराउदै भने । उनी ड्युटीमा खटिएका छन् र इमान्दारीपूर्वक ड्युटी निभाइ पनि राखेका छन् । दूरी बनाउन भन्दैछन्, भिडभाड नगरेर हिड्न भन्दैछन् । पुसिसको जस्तो कडा आवाज पनि निकाल्छन् । अनी आफै भावबिह्वल हुन्छन् र पानी किन्न जान्छन् । जुँगे प्रहरीमात्रै हैन, आजकल ड्युटीमा रहेका धेरैको मन यसरी पग्लन्छ सायद ।

यति बेला राजमार्गमा पश्चिमबाट पुर्ब रोजगारीका लागि गएका मजदुरहरु घर फर्कनेहरुको लाम दिनपछि दिन झनै बाक्लो हुँदै गहिरहेको देखिन्छ । यो लामदेख्दा दयालु मनहुनेहरु पग्लदा रहेछन् पनि ।

पत्रकारिताको मेरो छोटो अनुभवमा यस्तो पीडादायी क्षण देख्दैछु । निर्ममतापूर्वक ड्युटी गर्ने वर्गमा गनिन्छन्, प्रहरीहरु । उनीहरुको मन समेत पग्लेर मानवकल्याणमा उम्लिएको मैले पहिलो पटक देखें भन्दा अन्यथा हुँदैन ।

यस्तै अर्को भावबिहोर चित्र देखेको थिए मैले हिंजो । लमहीबाट अमिलियासम्म अनुगमनमा जाँदै थियौ हामी केही पत्रकार र व्यवसायी अगुवाहरु । बाटोमा बच्चाबच्ची सहित जंगलका फलफुलका भरमा हिंडेका यात्रुहरु देखिए । हाम्रा पुर्खाहरु कन्दमुल खाएर बाँचेका थिए भन्ने भनाई झट्ट याद आयो । यस्तै त होला त्यो पनि भन्ने अनुमान गरें मैले ।

मलिन र थकित अनुहारका साथ हिंडिरहेकाहरुलाई के नै गर्न सकिन्थ्यो र । सामान्य सोधपुछ ग¥यौं, ढाडस दिने प्रयास गरेर अगाडि बढ्यौं ।
त्यो टाउकोनै पोल्ने गर्मी अनी तातिरहेको राजमार्गको पिच बाटोमा एक जोर चप्पलको भरमा निरन्तर पैदल यात्रा मन थाम्नै गाह्रो ।

यो अबस्था देखेर फोटो खिच्न मन लागि हाल्यो । नजिक पुगे एक शब्द बोले ‘तपाईं कहाँबाट आउनु भयो ?’
‘हजुर हामी बुटवलवाट आएको’ एक महिलाले उत्तर दिइन् ।
‘कहाँसम्म जाने ?’
‘हामी कैलाली जाने हो’ उनले आफ्नै शुरमा भनिन्,‘खै कैले पुगिन्छ ।’
ती महिलासंग २ वटा ससाना बालकहरु पनि थिए, देख्दै मन छुने अबस्था ।
एकै छिनमा एक जना पुरुषको आवाज आयो, ‘यो पाकेको छ, छोरीलाई खुवाउ ।’
हातमा खल्टुको फल देखाइरहेका उनी ती महिलाका श्रीमान रहेछन् ।
मैले सोधिहाले, ‘तपाईहरु यो रहरले खाँदै हो ?’
उनले भने, ‘होइन दाइ भोक लाग्यो, यो जङ्गलमा यो खानुबाहेक के नै उपाए छ र ?’

समाचार लेख्ने कि उनीहरुलाई राहतको जोहोमा जुट्ने ? अत्यन्तै दोधारमा फिल्डमा खटिनु परेको छ आजकल ।