Goraksha

National Daily

दाङ उवासंघको निर्वाचन, सुझावसँगै मत माग्दै उम्मेदवार

गोरक्ष समाचारदाता
दाङ, ११ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि उम्मेदवार बनेकाहरू मतदाता भेटघाट र घरदैलोमा छन् । दुवै समूहका उम्मेदवारले बुधवार मतदाता भेटघाट र घरदैलो गरेका छन् । उनीहरूले आर्थिक मन्दीले ओरोलो लागेको बजारलाई माथि उकास्ने र व्यवसायी सुरक्षा बारे मतदातासँग सुझाव समेत लिने गरेका छन् । नयाँ नेतृत्व चयनको लागि असोज १३ मा मतदान हुँदैछ । चुनावका लागि दुईवटा समूह चुनावी प्रतिस्पर्धामा छन् । एउटा समूहको नेतृत्व बसन्त जोशीले गरेका छन् भने अर्को पक्षको नेतृत्व रामप्रसाद खनालले गरेका छन् ।

यसैबिच जोशी समूहको संयुक्त प्यानलका उम्मेवारले व्यवसायीसँग सुझाव लिने र मत माग्ने गरेका छन् । घोराही बजार क्षेत्रका व्यवसायी एवम् वरिपरिका बजारका सदस्यलाई भेटघाट गरिरहेका छन् । यो समूहले चुनावी प्रतिबद्धता समेत तयार पारेर मतदाताबिच गएका छन् । बुधवार बिहानदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १४, १५ का विभिन्न स्थानका व्यवसायीसँग भेटघाट गरेको संयुक्त निर्वाचन प्रचारप्रसार समितिका संयोजक विश्व पौडेलले बताए । बुधवार सहिद गेट, बिपी चोक, ट्राफिक चोक, निमा हल रोड, बैंक रोडगायतका क्षेत्रमा घरदैलो गरेको उनले बताए ।

संयुक्त व्यावसायिक प्यानलबाट अध्यक्षमा बसन्त जोशी, बरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा लीलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगतप्रसाद आचार्य, सहकोषाध्यक्षमा माधव खनाल उम्मेदवार छन् । यसैगरेर उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लीला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एसोसिएट सदस्यमा युवराज पोख्रेल, वाणिज्य सदस्यमा रुद्रबहादुर जैशी, दीपक पण्डित, निमबहादुर बुढाथोकी (टीका), युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ (लामा) र सुरज बुढाथोकी छन् ।

यसैगरेर पोख्रेल नेतृत्वको समूहले बुधवार घोराहीसँगै नारायणपुर बजारमा मतदाता भेटघाट गरेको छ । ‘मतदाता भेटघाट गर्दै आएका छौँ । मतदातासँग सुझाव समेत लिने गरेका छौँ’, अध्यक्ष पदका उम्मेदवार पोख्रेलले भने । उनका अनुसार आर्थिक मन्दीले ओरोलो लागेको बजारलाई माथि उकास्न र व्यवसायी हकहितसँगै व्यवसायी पलायन रोक्न मतदातासँग सुझाव लिने काम भएको छ । ‘व्यवसायी सुरक्षालगायतका एजेण्डामा मतदातासँग सुझाव लिने र मत माग्ने काम भएको छ’, उनले भने ‘मतदाता प्राप्त सुरक्षालाई विशेष ध्यान दिने काम भएको छ ।’ सुरक्षा बारे मतदातासँग सुझाव समेत लिने गरेका छन् ।

पोख्रेलको समूहबाट बरिष्ठ उपाध्यक्षमा दीपेन्द्र पुन मगर, उद्योग उपाध्यक्षमा ध्रुवकुमार गहतराज, वाणिज्य उपाध्यक्षमा राजभक्त राना, महासचिवमा शालिकराम खनाल, सचिवमा भीमसेन डिसी, कोषाध्यक्षमा प्रेमबहादुर पुन, सहकोषाध्यक्षमा यादवबहादुर श्रेष्ठ छन् । उद्योग सदस्यमा सन्तोष नेपाली, महिला सदस्यमा देवकला बस्नेत, वस्तुगत सदस्यमा ओमप्रकाश पोख्रेल, एसोसिएट सदस्यमा गणेशप्रसाद दाहाल, खुला सदस्यमा रणविक्रम चन्द, राजकुमार गुप्ता, सुशील आचार्य, कृष्णबहादुर कुवर, अर्जुन पन्थी, रेवन्तकुमार श्रेष्ठ, सञ्जय विश्वकर्मा, शेरबहादुर पुन उम्मेदवार छन् ।