विवाह खर्च कटाएर विद्यालयमा अक्ष्यकोष स्थापना
घोराही,५ असोज । दाङमा एक जोडीले विवाहको अवसरमा अक्षयकोष स्थापना गरेका छन् । बंगलाचुली गाउँपालिका–१ स्युजा निवासी गणेश विश्वकर्मा र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–२ उँघु निवासी पवित्रा राईले विवाहमा हुने खर्च कटाएर स्युजामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा ५० हजार राशीको अक्ष्यकोष स्थापना गरेका हुन ।
गणेशले एसएलसी उत्तिर्ण गरेको विद्यालयमा कक्षा १० को बार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने १÷१ जना छात्रछात्रालाई प्रत्येक वर्ष जेहेन्दार छात्रवृत्ति प्रदान गर्नेगरी छात्रवृति प्रदान गरी अक्ष्यकोष स्थापना गरेका हुन । समाजमा सुधार र परिवर्तनको सुरुवात आफैबाट गर्ने भन्दै उनले विवाहमा हुने खर्च कटौती गरेर गणेश पवित्रा वैवाहिक अक्ष्यकोष स्थापना गरेका हुन । विद्यालयमा आइतवार चेकको हस्तान्तर गर्ने उनले बताए ।
गणेश विश्वकर्मा र पवित्रा राईले अदालतमा विवाह गरेका हुन । कुनैपनि प्रकारको परम्परागत धार्मिक रितिथिति भन्दा पर रही परम्परादेखि गरिँदै आएको विवाहमा गरिने खर्चलाई सामाजिक कार्यमा लगानी गर्दै वैवाहिक सम्बन्धलाई गौरवपूर्ण इतिहासको रुपमा विकास गर्न अदालतिय विवाह गरेको उनले बताए । दलित अधिकारकर्मी, सामाजीक अभियान्तासँगै नेपाली कांग्रेस दाङका युवा नेता समेत रहेका विश्वकर्मा हाल बंगलाचुली गाउँकापालिकाको गाउँकार्यपालिका सदस्य र स्थानीय तहको न्यायीक समितिका सदस्य समेत हुन ।