Goraksha

National Daily

कथा :आशाको दियो बलिरहेको छ

नारायणप्रसाद श्रेष्ठ
प्राकृतिक सुन्दरताले मनै लोभ्याउने गरी चिटिक्क परेर बनेको गैरी गाउँको टाकुरामा सिंगारिएको राताघरे साहिलो रामबहादुरको मन आज निकै अत्तालिएको देखिन्छ । गाउँघर बजार घुम्दा सधै हासीखुसी हसिलो हुने उसको चेहरा आज त्यति साह्रो खुसीको अनुभूति नगरेको देखिन्छ । सधै हासीख्ुसी रहने र सबैलाई मनोरञ्जन गराउँदै हिड्ने रामे आज किन झोक्रिएको छ सबैलाई चिन्ता र चासोको विषय बनेको छ ।

उसको मन परेकी बुढी सितामाया पनि केही नबोली पिढीमा बसिरहेकी थिइन । सधै उकाली–ओराली गर्दै हिड्ने त्यो सानो गाउँका भलादमी पनि आज फाट्टफुट्ट यताउता गरेको देखिन्थे । यी सबै दृश्यहरु तल्लाघरे काहिलीले देखिरहेकी थिइन । सधै के छ काइली आमा भनि बोलाउने रामेले पनि आज नबोलाएको उनलाई पटक्कै मन परेको थिएन । कुरा के रहेछ माया पनि किन टोलाएर बसेकी छ । यति भनि मन सम्हाल्न नसकेर विस्तारै उकालो लागि सितामाया छेउ गइ काइलीले भन्न लागिन्– किन हो ? माया किन तेरो बुढो पनि आज केही नबोली माथितिर लागेको देखेथे ।

त पनि एक्लै पिढीमा बसेकी छस् ? किन तेरो बुढा निन्याउरो मुख लगाए जस्तो देखिन्थ्यो ? माथि चौतारीमा मानिस झुम्मिएर बसेका छन् रे ? रामेलाई के त्यस्तो समस्या प¥यो र छ ? खासै समस्या परे जस्तो त लाग्दैन । रामे त सधै हासीखुसी भएर हिड्ने ग¥थ्यो । अरुलाई अप्ठेरोमा सहयोग गर्ने, दुःखसुखको साथी भनेर गाउँमा चिनिएको मान्छे सबै अचम्म परेको सुन्छु । मलाई पनि छटपटी लागेर तलाइ सोध्न आएकी हुँ । के भएको हो ? त पनि पिढीमा बसेर के गर्दैछस् ।

कतै बुढाबुढी झगडा त गरेनौँ । यति कुरा नाताले काइली आमा पर्ने काकीले सितामायालाई भनेपछि । काइली मा ढोग गरे भनि शिर निहुराउँदै टाउको हल्लाउँदै सीतामायाले भनिन् । हैन काकी केही भाछैन । हिजो साझ ज्युला घट्टे बाजेलाई के अप्ठेरो परेछ खबर आथ्यो त्यता गइ काम फत्ते गरेर आइ खुसी हुँदै पिढीमा बसी खाजा खाँदै गर्दा मलाई भनेका थिए – धेरै भयो बुढी आज आटो सिस्नो र सिमीको तरकारी, गोर्चा (पिठोबाट बनाइने दाले रोटीको परिकार) खाऊ भनेर भनेसी मैले त्यही बनाएकी थिए मिठो मानेर खानु भयो । र केही छिनपछि घरकै कुरा गरी सुतका हौ ।

खास त्यस्तो त केही भएको होइन । सुत्नेबेला हास्दै भन्नुहुन्थ्यो हेर माया अब त हाम्रा दिन पनि आउने छन् । यो घरको मान इज्जत, गाउँले प्रतिको हाम्रो सद्भाव, हाम्रै पसिनाले खनी खोस्री बनाएको त्यो गैरी खेतको धान चामल, हाम्रो सपना कसो नपुग्ला र ? पोहोर साल काइला बाले हेर …रामे स्वतन्त्रताको लडाइ भइरहेछ हाम्रो जीत भए त… ? साच्चै यो गाउँ स्वर्ग बन्छ । बाटा धाटा, पानी पधेरो, बिजुली बत्ती झलमल, विद्यालय, स्वास्थ्य चौकी सबै बन्छ हेर्दै गएस । हामी त आशावादी छाँै । त पनि लाग स्वतन्त्र भएर बाच त सबैलाई मन पर्छ नि ?

हाम्रा साना नानीको भविष्य बनाउ सपना कसो पूरा नहोला । सामन्ती र दलाल पुजीपतिको अन्त भइ जब स्वतन्त्रता प्राप्त हुन्छ । त्यहाँ कोही बेरोजगार हुने छैनन् । काम र माम आहा… कति आनन्द… त्यहीँ सपना बुन्दाबुन्दै काइला बा पोहर साल धर्ती छोडेर गएका थिए । काइली मा सोख र सन्ताप बोकी भर्खर भगवान कहाँ पुग्नुभयो । यस्तै रहेछ हेर ! जीवन गाउँका सबै सहर पसिसके अब हामीले पनि केही सोच्नै पर्छ ।

हिजो माथ्ला घरे ठुलदाजीले सहरमा के जाती नोकरी पाए रे । हाम्रो पनि पालो आउला की ? कसो नहोला र ! मेहनत र पसिनाको कमाइ मिठो हुन्छ भन्छन् – यति कुरा हुँदै सुतेका थियौ । बिहान उठेपछि दिशा जंगल गरी मुख धोइ ओरी आँङ तान्दै भनेका थिए हेर आज मैले त अचम्म सपना देखे ए…मनमा निकै खुलदुली भा छ । बिर्सेको उ दिनको याद आज झलझली आइरहेको छ । खै तातोपानी ले त ? बिहान यति कुरा भइ मैले तातोपानी दिँदै भनेकी थिए– सपनाको कुरा यस्तै हो ।

मनमा धेरै कुरा नखेलाउ त्यतातिर किन ध्यान दिनुप¥यो र सदा झै आफ्नो काम गर्ने गाउँघर जाने घुम्ने कसैलाई अप्ठेरो परे सहयोग गर्ने, फुर्सदमा घरको करेसाबारी गोडमेल गर्ने, गाउँको मुहार फेर्ने, सबैलाई सहयोग गर्ने सके मनले भलो चिताउने यति गरे त भैगो । के को चिन्ता गर्नु प¥यो । गाउँका सबैले हामीलाई नराम्रो भनेका छैनन् । किन पिर गर्छौ मनमा नानाभाती कुरा खेलाएर के पाइन्छ र बुढा ? यति कुरा गरेपछि घरको काम धन्दा सकेर माथि चौपारीतिर लाग्छु है बुढी भनि उकालो लागेका हुन् ।

मैले त चौतारीमा सबै भलादमी बसेर गाउँको विकास कसरी गर्ने ? वर्षा लाग्न थाल्यो खेतबारीमा कसरी रोपो राख्ने ? मल बिउ कहाँबाट ल्याउने ? त्यो रुप्से ठारो खोलाले फेरि कतै नोक्सान त गर्दैन त्यसलाई कसरी रोकथाम गर्ने भनेर छलफल हुँदै होला भनेर पो सोचेकी थिए । के भए छ र काकी ? फेरि म पनि काम धन्दा सकि थकाइ मार्न आँगनको डिलमा बसेकी छु । मैले त केही थाहा पाइन ? यति कुरा सितामायाले भनेसी काइलीले मनमनै सोचिन् यिनलाई पनि केही थाहा रैन छ । मनमनै सोची हो मा हो मिलाउँदै घरतर्फ लागिन् ।

उता चौपारीमा भेला भएका सबैलाई आफू चिन्तित किन भएको सपना होकी विपना हो मैले के देखे के अपेक्षा राखे । के हाम्रा सुदिन फर्केलान् ? आशाको दियो कति दिन बलिरहने हो । यसबारे आज मेरो अतित अगाडि आइरहेछ । बिर्सुभन्दा पनि झलझली अगाडि आइरहेछ । के हो कुन्नी मन त्यसैत्यसै पुलकित भइरहेको छ । यति कुरा गर्दै गाउँलेको मनमा के हो त्यस्तो भनि उत्सुकता जगाउँदै कहिले हसाउने कहिले रुवाउने गरी अतित सम्झँदै रामबहादुरले कथा जस्तै गरी मनका कुरा गरिरहेका थिए । यो कुरा एक कान दुई कान हुँदै तलमाथि छिमेकी सबैलाई थाहा भयो ।

सितामाया पनि के भएछ भनि दौडँदै चौतारी पुगिन् के भो बुढा भनि सम्बोधन गरेकी मात्र के थिइन रामबहादुरले नम्र भएर भने– सुन बुढी त पनि, एक छिन यहि बस । यो कथा होकी सपना हो, विपना होकी यथार्थ हो मलाई थाहा छैन । आज फर्किफर्कि मेरी आमाको त्यो त्याग, त्यो लगनशीलता बिर्सन खोज्दा पनि झनझन उकुशमुकुश भएर आइ रछ । सुन त पनि– यति भनि मन भित्रको सत्य उगार्दै यसरी सुनाउँदै छन् ।

कोही आँखाभरि आँसु गराइ शुक्कशुक्क गरेका छन् भने कोही निन्याउरो मुख लगाइ आफ्नो विगत सम्झँदै निकै गम्भीर भएर कथा सुनेका छन् । वातावरण सुनसान छ यही कारुणीक कथा सुनेर होला चराचुरुङ्गी पनि मन्त्रमुग्ध भएर सुनिरहेको देखिन्छन् । झरीपछि उघ्रीएको समयमा जसरी प्रकृति रमाइरहेको देखिन्छिन् त्यसैगरी त्यो चौपारी पनि आज रमाइरहेको देखिन्छ । कथा कहानी भएर अगाडि बढिरहेको छ । शून्यलाई सुनको माला बुझ्नेलाई फुलको माला भन्दै रामबहादुरले आफ्ना मनका कुराहरु यसरी पोखिरहेका छन् … बाँकी अर्को पटक ।