Goraksha

National Daily

अनौठो स्मरण शक्ति कि कवयित्री– बालिका पन्त

गोपाल भुसाल
दाङ हापुर पतेनीमा बाबु भोलाप्रसाद र आमा खगादेवी भुसालको कोखबाट २००१ मंसिर २५ मा जन्मिएकी बालिका पन्तको १२ वर्षको उमेरमा रामपुर साहिपुर निवासी गिरीराज पन्तसँग विवाह भयो । ४ भाइ छोरा र ७ बहिनी छोरीको लालन–पालन, शिक्षा–दिक्षा र घरभित्रको कुटन, पिसन, रासनको बन्दोबस्त, निरन्तर घरमा आइरहने पाहुना–इष्टमित्रको भोजन, शयन तथा सेवा सत्भारको व्यवस्थापनमा नै उहाँको लामो जीवनकाल व्यक्ति भयो ।
२०२५ सालतिर १० महिनाको छोराको मृत्युपछि उहाँका कविता प्रष्फुटन हुन सुरु भयो । पुनः २०५९ सालतिर माहिली बुहारीको अचानक दुर्घटनामा मृत्यु भएपछि त कविता प्रष्फुटनको भेलवहार नै आयो । उहाँमा अनौठो विलक्षण स्मरण शक्ति छ । २÷३ वर्षपछि पनि जस्ताको त्यस्तै मुखाकर कविता सुनाउन सक्नुहुन्छ । स्मरण शक्ति स्थिर रहनुमा २ कारण हुन सक्छन् । एउटा लामो समयसम्मको शुद्ध सते, गुणी आहार–विहार अर्को काल्पिनिक होइन आफ्नो अनुभव र अनुभूतिबाट प्रकट भएको भाव ।
आजभोलि कतिपय कविका रचना आफूले भोगेको भन्दा पनि समाजमा सुनेको पढेको, आफ्नो आँखा र मनको दृष्टिले देखेको, कल्पना शक्तिको आधारमा शब्द, वाक्य, विषय छनोट गरेर कविता, गीत, गजल बुनिएको कुदिएको पाइन्छ । त्यो कलात्मक रोचक सुन्दा वा ! वा ! ताली पाउने हुन सक्छ तर सतही सत्यताको दम–वजन नभएकोले प्रभावकारी हुँदैन । स्मृतिमा धेरै दिन पनि रहँदैन । साहित्य, संगीत, कला क्षेत्रमा सत्यता सामाजिक यथार्थताको भाव भनेको प्राण नै हो ।
बिना प्राणको मानिसलाई जतिसुकै श्रृङ्गार–पटार आभुषणले सजाए पनि त्यो मुर्दा नै हो । बालिका पन्तका गीत कवितामा आफ्नै गाउँले अनपढको अपरिष्कृत भाषा भए पनि समाजमा सबैले भोगेको, व्यवहारमा मिल्ने हृदय छुने भावहरू लुकेको पाइन्छ । जस्तो गुडकी चरी कवितामा
फटेङ्ग्रा किरा खोजेर खुवाई ती पेट भरायौ ।
आमाको मर्म नबुझि धर्म स्वार्थमा हरायौ ।
जीवनको भुमरी कवितामा – मुटुमा बिझे ती तिखा काँडा झिकेर आएन ।
गहिरो भयो दिलको घाउ मलम पाएन ।
आफू अक्षरमात्र पढ्न सक्ने भएकोले मस्तिष्कमा फुरेका कविताहरु जेठी छोरी बिमला र साहिली छोरी निर्मलाले कापीमा टिपेर सङ्कलन गरेको आधारमा पुस्तकाकार तयार भयो र आमाको माया गीत कविता सङ्ग्रह २०६८ सालमा प्रकाशित भयो । यसमा २७ वटा गीत, कविता, भजन सङ्ग्रहित छन् । यसमा बलदेवभजगैया, महेश आचार्य, गिरीराज पन्त । गुरुप्रसाद रेग्मीले शुभेक्ष्या व्यक्त गर्नुभएको छ । र ६० नाघेकी कवयित्रीका प्रतिभालाई मुक्त कण्ठले प्रंशसा गर्नुभएको छ । यस पछिका थप ८÷१० कविता उहाँको मुखैमा छन् । केही युगबोध पत्रिकामा प्रकाशित भएका पनि छन् । उहाँ अहिले ८० वर्षमा लाग्नु भएको छ ।
अझै पनि धेरै विषयको कविता गीत मस्तिष्कमा आउन खोज्छन् तर सबै पूरा हुन सक्दैन भन्नुहुन्छ । लामो समयसम्म बिरामी शैयामा सुत्नु परेको आफ्नो श्रीमान् गिरीराज पन्तको दिसा–पिसाब सोहर्ने जस्ता कठिन सेवा गर्न पनि उहाँ कहिल्यै थाक्नु भएन । एउटा पुगिसरीको धनाड्य परिवार भएर पनि बालिका पन्तले निभाउनु भएको जिम्मेवारी र मेहेनत, परिश्रमको छुट्टै कहानी छ । यसैको समष्टि जीवन अनुभूतिको अव्यक्त प्रकटीकरणको भाव नै उहाँको कवित्व हो भन्दा अति रञ्जित नहोला ।
अहिले उहाँको दिन चर्या बिहान ५ बजे उठेर नुवाईधुवाई सकेर पितृ, कुल देवता सम्झेर स्तुति गर्ने, फल, दुध, दाल, भात रोटी, तरकारी जस्ता साधा शाकाहारी भोजनमा गत ४५ वर्षदेखि रमाउँदै आउनु भएको छ । केही वर्ष यता लडप्रेसर, नसा, ग्याष्ट्रिक, हड्डी खिइने समस्याका औषधी पनि चलिरहेका छन् । सधै घरमा छोराछोरी, नातिनातिनीहरु र अन्य आफन्त आतेजाते भइरहेको विगत सम्झिदा अब कोही घरमा नआउँदा सुनो लाग्छ । जीवन नै के भयो ? जीवन नै के रहेछ ? यस्तो ? जस्तो लाग्छ । कोही न कोही कुरा गर्ने मानिस आइरहे हुँदो हो ।
आफ्नो कुरा सुनिदिए हुँदो हो भन्नु हुन्छ तर आजको व्यस्त समयमा घण्टौ उहाँसँग बसेर कुरा सुनिदिने फुर्सद कसलाई छ र ? आफूले माया गरिन्छ । उनैको भाषामा कुरा गराँै उनैसँग भए पनि भुलौभन्दा पनि आजका बालबच्चालाई मोबाइल हेर्न मइ ठिक्क छ । नजिक पर्ने चाहँदैनन् भन्नुहुन्छ । अन्तमा उहाँका केही मर्म स्पर्सी झ्याउरे छन्दका कविताका भाव हेरौँ । नेपालीहरू विदेश जाने लर्को लागिरहेको सम्बन्धमा भन्नुहुन्छ ।
गुडकी चरी उराई बच्चा पखेटा लगायौँ ।
ठुडमा ल्याई खुवाई चारो खै कहाँ उडायौँ ।
जीवनको सपना योजना पूर्ति सम्बन्धमा भन्नुहुन्छ ।
सपना मनका फुटेर गए सिसाका झुरा झैँ ।
कल्पना मनका उडेर गए सिमलको मुवा झैँ ।
अझै बालिका पन्तमा प्रतिभा प्रष्फुटित भइ रहुन । हामीले सुन्न र पढ्न पाइ राखौँ यही शुभकामना ।