गोरक्ष समाचारदाता
दाङ, २१ भदौ । मानव बेचविखन तथा ओसारपसारका घटना बर्सेनि बढ्दै गएका छन् । कतिपय घटना प्रहरी कहाँ आइपुग्ने गरेका छ भने अधिकांश घटना गुपचुपमै रहने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पछिल्लो ४ आर्थिक वर्षमा जिल्लामा मानव बेचविखन तथा ओसारपसारका १० वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी निरीक्षक एवम् महिला सेल प्रमुख मीरा खड्काका अनुसार आर्थिक २०७६÷०७७ मा एउटा, २०७७÷०७८ मा २ वटा, २०७८÷०७९ मा ३ र गत आर्थिक वर्ष २०७९÷०८० बढेर ४ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा ७ जना प्रतिवादी पक्राउ परेका छन् । उक्त घटनामा ५ जना पीडित बनेका छन् ।
मानव बेचविखन तथा ओसारपसार मुद्दामा दोषी ठहर भए १५ देखि २० वर्षसम्म कैद र एकदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको कानुनी व्यवस्था छ । गढवा गाउँपालिका वडा नं. ८ कोइलाबास नाका मानव तस्करको प्रमुख नाकाका रूपमा रहेको छ । विभिन्न आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि सो क्षेत्रमा शान्ति पुनःस्थापना गृहले काम गर्दै आएको छ । सो संस्थाका अनुसार बितेको एक आर्थिक वर्षमा २३ जनाको पुनःस्थापना गरिएको छ । यसैगरी ७ सय ९५ जना महिला बालबालिकालाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध सूचना तथा परामर्शको काम भएको शान्ति पुनःस्थापना गृह कोइलाबासकी सुपरभाइजर सम्झना चदाराले बताइन् ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलारामका अनुसार रोजगारीका लागि भन्दै आफैले पैसा खर्चेर खाडी मुलुक पुगेका धेरैजसो महिला बेचिने गरेको छन् । समाजले पछिल्लो समय त्यस्ता समस्यामा परेकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराउने काम गर्दै आएको उनले बताए । मानव बेचविखनमा पर्नेमा सबैभन्दा बढी महिला छन् । त्यसमा पनि १५ देखि २५ वर्ष उमेर समूहका धेरै सङ्ख्या रहेको प्रहरी अध्ययनले बताउँछ । रोजगारीको सिलसिलामा बिदेसिने महिला अक्सर यसको शिकार हुने गरेका घटना प्रहरी समक्ष आउने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
‘समाजका सामु ठुलो चुनौतीका रूपमा देखापर्दै गएको छ, प्रहरी प्रशासनले एक्लै चाहेर पनि रोक्न सक्ने अवस्था छैन । पहिलो कुरा व्यक्ति स्वयम् सचेत बन्न जरुरी छ’, प्रहरी निरीक्षक खड्काले भनिन्, ‘सचेतनाको पाटोमा हामीले सक्दो कोसिस गरेका छौँ तर यतिले मात्रै पुग्दैन । यसका लागि राज्यका हरेक निकाय, समुदाय लाग्न जरुरी छ ।’ गिरोहले आकर्षक रोजगारी तथा आम्दानीको प्रलोभनमा पारी विभिन्न स्थानबाट लैजाने र अन्त्यमा शारीरिक तथा मानसिक शोषण गर्ने गरेको घटना पछिल्लो समय बढ्दै गएको उनको भनाइ छ ।
नेपाल प्रहरीले मानव बेचविखन निरुत्साहित गर्नकै लागि २०७६ को बैशाख अन्तिममा मानव बेचविखन अनुसन्धान व्यूरो नै स्थापना गरेको छ । यसैबिच मानव बेचविखनविरुद्ध १७औँ राष्ट्रिय दिवसको अवसरमा बुधवार जिल्ला प्रशासन कार्यालय दाङले आयोजना गरेको सचेतनामूलक अन्तरक्रियामा जिल्लाका मानव बेचविखनको अवस्थाका बारेमा छलफल भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा गरिएको अन्तरत्र्रिmयामा जिल्लामा भएका मानव बेचविखनका घटना, रोकथामको प्रयास र देखापरेका चुनौतीका बारेमा प्रहरी कार्यालयकी प्रहरी निरीक्षक मीरा खड्काले जानकारी गराएकी थिइन् । कार्यक्रममा सहभागीले मानव बेचविखनको घटना न्यूनिकरण गर्न घरबाटै सचेतना अभियानको थालनी गर्नु पर्नेमा जोड दिएका थिए ।