वर्तमान परिदृश्यमा श्रीकृष्ण जन्मोत्सवको सन्देश

राजयोगी ब्रह्मकुमार शिवलाल महतरा
हाम्रो देशमा मनाइने चाडपर्वहरु मनुष्यका लागि त्यसको विवेचन गर्न, त्यसको महानतालाई आत्मसात गर्न तथा स्मृतिहरुलाई ताजा गर्नका लागि मनाइने गरिन्छ । उसरी जन्मदिन त हरेक मनुष्यको मनाइन्छ तर केही महापुरुषहरु अथवा देवपुरुषहरु यस्ता हुन्छन जसबाट मानिसलाई अलौकिक एवम् आध्यात्मिक शक्ति तथा महान कर्म गर्ने प्रेरणा मिल्दछ ।

त्यसैले नै विज्ञानको युगमा पनि यसको महत्व दिनानुदिन बढ्दै गइरहेको छ । हुन त आजको युगमा श्रीकृष्णको जयन्ति मनाउनु मात्र प्रयाप्त छ्रैन बरु उहाँकोद्वारा गरिएका महान कर्महरुका बारेमा गहिरो चिन्तनको आवश्यकता छ । उहाँको जन्म एउटा यस्तो समयमा भएको थियो जब संसारमा अधर्म, पापाचार, अत्याचार, पारिवारिक सद्भाव छिन्न भिन्न, आसुरी प्रवृत्तिहरुको बोलवाला, सत्यता लुप्त भएर जहाँ सर्वत्र झुठको साम्राज्य थियो । उहाँले गर्नु भएका लिलाहरु तथा प्रत्येक कर्महरुको आध्यात्मिक व्याख्या मनुष्यका लागि सन्देश हुन् ।

यदि सामान्य रुपले हेर्ने हो भने त उहाँको जन्म केवल एक साधारण मनुष्यको जन्म जस्तै देखिन्छ तर जब हामी तार्किक र उहाँका कर्तव्यहरुका बाहरेमा व्याख्यान गर्छाैं तब उहाँको मानवीय कल्याणकारी सन्देशको आभास हुन्छ । गीतामा कृष्णले अर्जुनलाई मानवीय धर्मको विस्तृत वर्णन गरेर युद्धका लागि प्ररित गर्नु, परमात्मामा विश्वासका लागि जगत नियन्ता परमात्माको सत्य स्वरुपको साक्षात्कार गराउनु– मनुष्यलाई गहिरिएर सोच्नका लागि प्रयाप्त छ ।

श्रीकृष्ण एक ऐतिहासिक महापुरुष हुनुहुन्थ्यो । यसको स्पष्ट प्रमाण छान्दोग्य उपनिषदमा उपलब्ध छ । ३.१७.६ अध्यायमा भनिएको छ कि देवकी पुत्र श्रीकृष्णलाई महर्षि आंगिरसले निष्काम कर्मरुप उपासनाको शिक्षा दिनुभको थियो । जसलाई ग्रहण गरेर श्रीकृष्ण तृप्त अर्थात् सम्पूर्ण पुरुष हुनुभएको थियो । अर्थात् उहाँ ईश्वर तुल्य महान कर्म गर्नेवाला बन्नुभएको थियो ।

श्रीकृष्णले अर्जुनलाई मनुष्यका देहभन्दा माथी उठेर आत्मकेन्द्रित हुनका लागि आत्मा र त्यसको सम्पूर्ण क्रियाहरुको विवेचन गर्नु भएको थियो । अर्जुनलाई उपदेश दिँदै गर्दा भन्नु भएको छ कि जसलाई तिमी आफ्नो सम्झिरहेका छौँ र जसलाई सगे सम्बन्धि भनिरहेका छौँ तीनीहरु सबै केबल शरीरिक रुपमा मात्र हुन् । तीनीहरु त पहिले नै मरिसकेका छन् । आत्मा कहिलै पनि मर्दैन र संसारमा जति पनि मानिस छन् ती सबै आत्मा हुन्, शरीर होइनन् ।

वास्तवमा अर्जुन अर्थात् ज्ञानको आर्जन गर्नेवाला हो । त्यसैले आज प्रत्येक मनुष्यलाई अर्जुन बन्नु अति नै आवश्यक छ । श्रीकृष्णले प्रत्येक मनुष्यको मनःस्थितिका अवस्थाहरुका रुपहरु बताउनु भएको छ । महाभारत आजको प्रत्यक घर–घरको कथा व्याथाका बारेमा बताइएको हो । जसको बिभत्स रुप आज प्रत्येकको घरमा देखिन्छ । आज प्रत्येक घरमा भाइ भतिजावाद यति धेरै छ कि लोभवंश एकले अर्कालाई मार्छ, व्यवविचार र अत्याचारको सीमा मानवीय सम्वेदनादेखि पर्छ ।

श्रीकृष्ण जयन्ति र गीताको सार्थकता तब मात्र छ, कि आजको परिस्थितिमा प्रत्येक मनुष्य अर्जुन बनोस् र श्रीकृष्णका विशेषताहरुलाई आत्मसात गरी साँचो गीताको अध्यायन र विवेचन गरेर जीवनमा उतारर्ने प्रयास गरोस् । महाभारतकालमा त केबल एउटी द्रोपदीको चीर हरण भएको थियो तर आज लाखौँ द्रोपदीहरुका चीर हरण भइरहेका छन् । वास्तवमा यो कसले गरिरहेको छ ? यसको जिम्मेवार को हो ? यस विषयमा पनि हामीले सोच्नु पर्दछ । कुनै पनि मनुष्य कसैको शत्रु हुँदैन ।

यसको स्पष्ट उल्लेख भागवद्गितामा गरिएको छ । जसमा श्रीकृष्ण भन्नु हुन्छ कि हे अर्जुन, मनुष्यकोभित्र व्याप्त काम, क्रोध, लोभ, मोह, अहंकार आदि नै मनुष्यका शत्रु हुन् । जब हामी तीनैको माथी विजय प्राप्त गर्छौ तब मात्र हामी सुख शान्तिले रहन सक्छौँ । तथा एउटा सुखमय साम्राज्यको स्थापना गर्न सक्छौँ । आज यसैमाथि अलिकति विचार गरौ, कि जब मनुष्य कामको बशीभूत हुन्छ तब अत्याचार र व्यभिचार गर्दछ । क्रोधमा आउँछ तब हिंसा र लोभका कारण लुटपाट तथा हत्या गर्दछ । मोहका कारण जंजालमा जकडिन्छ तथा अहंकारका कारण आफ्ना राम्रा पक्षहरुको त्याग गरिदिन्छ । जब हामी यीनै विकारदेखि मुक्त हुन्छौँ तब मनभित्रका राम्रा पक्ष र नराम्रा पक्षकाबिच महाभारत चलिरहेको हुन्छ त्यसबाट मुक्ति मिल्ने छ ।

महाभारतकालमा वैदिक र आध्यात्मिक ज्ञान–विज्ञान प्रायः लुप्त भइसकेको थियो । तात्कालिन सामाजिक व्यवस्था लडखडाइ सकेको थियो । यसको स्थानमा आत्माको साँचो स्वरुपका विषयमा सामाजिक कर्तव्यका विषयमा त्यस युगमा तत्ववादिहरुका विभिन्न मतहरुका जंजालहरु देखिन थालिसकेका थिए । उदाहरणार्थ प्रज्ञावाद, नियतिवाद, भूतवाद, स्वभाववाद, आदि चिन्तन धाराहरुले त्यसैकालमा जन्म लिइसकेका थिए । परिणामतः समाज लडखडाउन थाल्यो र मतिभ्रम उत्पन्न हुँदै गयो । ठीक आज यो पनि त्यही समय हो । आज घर–घरमा महाभारत जस्तो परिस्थितिहरु स्पष्ट रुपमा देखिन्छ ।

यस्तो परिस्थितिबाट उम्कनका लागि हामीलाई बाहिरी हतियारको होइन, आत्मिक र ईश्वरीय हतियारको उपयोगले सबैभन्दा पहिले आफूभित्र लुकेका ती महाशत्रुहरुलाई नष्ट गर्नु आवश्यक छ । जसको प्रभावले हामी कुकर्म र व्यवविचार गरिरहेका छौँ । श्रीकृष्णले आसुरी साम्राज्यलाई समाप्त गर्नका लागि बाल–लिलाहरुको धेरैभन्दा धेरै उपयोग गर्नु भएको थियो । गोप–गोपीकाको साथमा खेल–खेलमा नै उहाँले अनेकौँ अकासुर, बकासुर, कालिया नाग तथा पुतना आदिको बध गर्नु भएको थियो । वास्तवमा यी नाम विकारहरुका अलग–अलग रुपहरुको वर्णन हो ।

श्रीकृष्णको यही आध्यात्मिक सन्देश थियो कि मनुष्यको जीवन एक खेल जस्तै हो । यसमा कयौँ विशेष युद्ध गर्नका लागि योजनाको आवश्यकता पर्दैन । किनकी जो देखिन्छ उसको साथमा युद्ध गर्न सजिलो छ तर जो अदृश्य हुन्छ त्यसको साथमा युद्ध गर्नका लागि हामीलाई आन्तरिक गहिराईमा गएर त्यसको यथास्थितिलाई जानेर मात्र समाप्त गर्न सकिन्छ । दैनिक दिनाचर्यामा रहँदा–रहँदै आफूभित्र लुकेका ती अदृश्य शत्रुहरुलाई एक–एक गरेर नाश गर्नु आवश्यक छ, जसका कारण आज संसार मसानघाटमा परिणत हुँदै गइरहेको छ ।

प्रत्येक मनुष्यले मनुष्यतालाई छोडेर आसुरी प्रवृत्तिका कारण राक्षस् बन्दै गइरहेको छ । राक्षसहरुको अर्को कुनै रुप हुँदैन आसुरी प्रवृत्तिका कारण मनुष्य नै राक्षस बन्दछ र दिव्य गुणहरुका आधारमा नै देवता अथवा पाण्डव भनिन थाल्छ । श्रीकृष्णले सदैव पाण्डवहरुको साथ दिनुभएको थियो । कौरब र पाण्डवहरुका नामको पनि आध्यात्मिक व्याख्या छ । कौरब अर्थात् परमात्मादेखि विपरित बुद्धि तथा पाण्डव अर्थात् परमात्मामा निष्ठा राख्ने प्रीत बुद्धि भएकाहरु । यसैले हामी यीनै विकारहरु माथी विजय प्राप्त तब मात्र गर्न सक्छौं जब परमात्माको साथमा प्रीत बुद्धि हुन्छ ।

अन्यथा यस संसारलाई महाभारतको जस्तो स्थितिमा जानबाट कसैले पनि रोक्न सक्दैन । मनुष्य यति धेरै आसुरी वृत्तिवाला भइसकेको छ कि जुन हतियारहरुबाट आफ्नो रक्षा सम्झिन्छ तीनै हतियारहरु उसको विनाशका मुख्य औजार बन्नेछन । आज विकारहरुको वश मनुष्य एक अर्काको रगतको प्यासा भएको छ । श्रीकृष्ण जयन्तिमा यही ईश्वरीय सन्देश छ कि श्रीकृष्णकोभित्र जुन मूल्य र विशेषताहरु छन तीनलाई आफ्नो जीवनमा धारण गर्ने प्रयास गरौँ । तथा गीतामा बर्णित मनुष्यकाभित्र लुकेका शत्रुहरुको नाश गरौँ, तब मात्र स–साना कुराहरुका लागि आज जो घर घरमा महाभारत चलिरहेको छ त्यसलाई समाप्त गर्न सक्ने छौँ र तब श्रीकृष्ण जयन्ति पर्व सार्थक सिद्ध हुने छ ।