छिटो र सेवामैत्री बनाउँछौंँ : गौतम [अन्तर्वार्ता]

  •   
  •  

यातायात व्यवस्था कार्यालय तुलसीपुरमा छ । साविक राप्ती अञ्चलका जिल्लाको यातायातको क्षेत्रको नियमन तथा काम गर्ने यातायात कार्यालय विभिन्न समयमा विभिन्न घटनाका कारण आलोचित समेत हुने गरेको छ तर पछिल्नो चरणमा कार्यालयले सुधारोन्मुख योजना अघि सारेको छ ।

यातायात क्षेत्रको सुधारदेखि रुट परमिट, राजस्व सङ्कलनलगायत यातायात क्षेत्रलाई नियमन तथा अनुगमन तथा सुशासन कायमका लागि काम गर्ने संस्थाको हालसम्म आफ्नो स्थायी घर छैन । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरलाई तुलसीपुर–६ गाइडरमा सारिने निर्णय भएको छ । गाइडरमा कार्यालय सार्ने लुम्बिनी प्रदेश सरकारले निर्णय गरेको हो ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले घोराही रोडमा रहेको यातायात कार्यालयलाई गाइडरमा सार्ने निर्णय गरेको छ । गाइडरमा रहेको सामाजिक विकास डिभिजन कार्यालयलाई भने शिक्षा तालिम केन्द्र तुलसीपुर–१२ कपडादेवीमा स्थानान्तरण गरिएको छ । गाइडरमा सबै यातायातका लागि आवश्यक सबै पूर्वाधार निर्माण गर्न सक्ने अवस्था छ । यो क्षेत्रमा मापदण्ड अनुसारका यातायाताका पूर्वाधार निर्माण सहजै गर्न सकिनेछ ।

त्यस्तै यातायात कार्यालयमा अहिले धेरै सुधारका काम पनि भएका छन् । यातायात व्यवस्था कार्यालय दाङ तुलसीपुरले भदौ ७ गतेदेखि लागु हुने गरी सवारी चालक अनुमतिपत्र प्राप्त तथा चालक अनुमतिपत्र बनाउनु परेमा नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले दिएको स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाणपत्र सेवा बापत ३८ रूपैयाँ दस्तुर डाक्टरले लिई कार्यालयबाटै उपलब्ध गराउनेदेखि अन्य नीतिगत तथा व्यथितिहरुको अत्यसँगै सेवालाई सहजीकरणका लागि विभिन्न सुधार भएका छन् ।

यातायात क्षेत्रको सुधार, हाल हुन लागेको नयाँ कार्यक्रम तथा समग्र यातायात क्षेत्रको विकास विस्तार र कार्यालयले दिने सेवा सुविधालगायतका विषयमा कार्यालयका प्रमुख रमेश गौतमसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।

स्वागत छ यहाँलाई साता वातामा ?

 यहाँ अनि यहाँको पत्रिकालाई यातायात व्यवस्था कार्यालय तथा यसले सम्पादन गर्ने कार्य तथा हालको पछिल्लो गतिविधिका विषयमा केही कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु ।

यातायात कार्यालयभित्र बेथितिका चाङ धेरै छन् भन्छन् नि ?

 तपाईँले सोधेको प्रश्नजस्तो त्यति बढी नहोला, बेथितिका चाङ । म पनि यातायात कार्यालयमा सरुवा भएर आएको धेरै भएको छैन । विगतमा के थियो, कस्तो थियो सबै कुरा मलाई थाहा भएन । केही समस्या होलान्, ती विस्तारै समाधान हुँदै छन् । एकै पटक सबै सुधार हुन सक्दैन, विस्तारै हुने हो । म त्यसमा लागेको छु । म यस कार्यालयमा आएदेखि धेरै सुधारका काम भएका छन् र केही हुने क्रममा छन् । तपाईँहरूले पनि केही सुझाव छन् भने दिन सक्नु हुन्छ ।

सुधारका काम भएका छन् भन्नुभयो, के–के भए त सुधार ?

 म यातायात व्यवस्था कार्यालयमा आएदेखि पहिलो काम त सवारी चालक अनुमतिपत्रका लागि स्वाथ्य परीक्षणसम्बन्धी सेवाको लागि भदौ ७ गतेदेखि लागु हुने गरी सेवा वाफत ३८ रूपैयाँ दस्तुर डाक्टरले लिएर कार्यालयबाटै स्वास्थ्यकर्मीले परिक्षण गरेको निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने निर्णय भएको छ । हामीले कार्यालयको कोठा नं. १३ बाट स्वास्थ्य परीक्षणसम्बन्धी सेवा दिने व्यवस्था मिलाएका छौँ । पहिले धेरैले ५–६ सयदेखि न्यूनतम ३ सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता थियो भन्ने सुनेको थिएँ ।

त्यो पनि बाहिर बिचैलीयाले डाक्टरबिनै रकम लिने गरेको गुनासो थियो तर अब भने सवारी चालक अनुमतिपत्रका लागि ३८ रूपैयाँमै स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ । धेरै रकम तिरेर सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाण लिएको भन्ने गुनासो आयो, त्यसलाई मध्यनजर गर्दै अबदेखि कार्यालय परिसरमै एकजना नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले प्रमाणपत्र दिनेछन् ।

त्यस्तै सवारी चालक अनुमतिपत्रका लागि हुने ट्रायलमा बढी रकम लिने गरेको गुनासो आएको छ । त्यसलाई पनि हामीले टेण्डर गरिसकेका छौँ । सवारी चालक अनुमतिपत्रको परीक्षाको दिन पनि धेरै रकम लिएर गाडी भाडामा लगाएको भन्ने गुनासो थियो । त्यसलाई सूचना प्रकाशित गरेर मोटरसाइकको हकमा २ सय र गाडीको हकमा ५ सय नबढाइ लिन पाउथे व्यवस्था गर्ने तयारीमा छौँ । तपाईँले भनेजस्तो यस्तै होला सायद, व्यथिति त्यो सँगै अब क्रमशः अन्य कुरा पनि सुधार गर्ने प्रयासमा छौँ । मैले पहिले पनि भने हामीलाई सबै कुरा थाहा हुँदैन तपाईँहरू तथा अन्य जनताले सुझाव दिएमा हामीले सुधार गर्ने छौँ ।

कार्यालयमा सेवाग्राहीलाई छिटोछरितो र सेवामैत्री भएन भन्ने गुनासो छ नि ?

सेवाग्राहीलाई छिटोछरितो सेवा दिनुपर्छ । उनीहरूलाई छिटोछरितो र सेवामैत्री व्यवहार गर्नु पर्छ । केही कारणले अलि काम ढिला हुन सक्छ । मैले पहिले पनि भने हाम्रो कार्यालय अलि बढी भिडभाड हुने कार्यालय हो । हाम्रो सेवा दिने ठाउँ पनि त्यस्तै छ, भाडाको साँघुरो ठाउँले गर्दा केही समस्या छन् तर पछिल्लो समयमा हामीले कार्यालयभित्र सूचना दिने साइरन बक्स जोडेका छौँ ।

कुन शाखामा के सेवा पाइन्छ भन्ने सन्देश त्यहाँ राख्ने गरिएको छ । सोही अनुसार सेवाग्राही जानु हुन्छ । त्यसैले अब कहाँ जाने, के गर्ने भन्ने अलमल कम हुने मैले अपेक्षा गरेको छु । यसले पनि सेवामा केही सहज हुनेछ । त्यसका साथै सेवामैत्री बनाउन हामी लागेका छौँ ।

यातायात व्यवस्था कार्यालयको आफ्नो भवन छैन, अब कहाँ र कहिलेसम्म आफ्नो भवनमाबाट सेवा दिनुहुन्छ ?

 यसमा म आएदेखि नै मन्त्रालयमा परिपत्रदेखि धेरै काम हामीले पूरा गरी यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरलाई तुलसीपुर–६ गाइडरमा सारिने निर्णय भएको छ । गाइडरमा उपयुक्त सरकारी संरचना रहेकाले भाडाको घरमा रहेको यातायात कार्यालयलाई सार्ने लुम्बिनी प्रदेश सरकारले निर्णय समेत गरेको छ । सोमवार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले यातायात कार्यालयलाई गाइडरमा सार्ने निर्णय गरेको हो ।

गाइडरमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात कार्यालयले अब सेवा दिने छ । यातायताका लागि आवश्यक पूर्वाधार र जग्गा तुलसीपुर–६ गाइडरमा रहेको हँुदा उपयुक्त स्थान अनुसार कार्यालय सार्ने निर्णय भएको छ । त्यहाँ एक बिगाह ४ कट्ठा जग्गा छ । गाइडरमा यातायातका लागि आवश्यक सबै पूर्वाधार निर्माण गर्न सक्ने अवस्था छ । यो क्षेत्रमा मापदण्ड अनुसारका यातायाताका पूर्वाधार निर्माण गर्न सहजै सकिने पनि जग्गा रहेको छ ।

अब हामी त्यसको तयारीमा लाग्ने छाँै । अब त्यहाँ सबै तयारी भएपछि हामी सर्ने छौँ । त्यहाँ सरेपछि पक्कै पनि कार्यालयको कामकाज सहज हुनेछ । भाडामा बसेर यसरी काम गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ, यो हाम्रो लागि सुन्दर पक्ष हो । त्यस्तै हामीले सुरक्षा तथा अन्य कुरालाई मध्यनजर गर्दै प्रहरी बिट पनि राख्ने सोचमा छौँ । यसले पनि हामीलाई थप सेवा दिन सहज हुनेछ ।

साना सवारीका साधन रुटअनुसार चलेनन्, रुट परमिट एकातिर, चल्ने अर्कोतिर भने गुनासो छ नि ?

 यसमा स्थानीय सरकारले रुट जारी गर्छ । साना भाडाका सवारी साधनका लागि हामीले पत्राचार पनि गरिसकेका छौँ । हामीले अब ट्राफिक प्रहरीसँग समन्वय गरेर समय मिलाएर अनुगमन पनि गर्ने छौँ । घोराही तुलसीपुरमा चल्ने सवारी साधानले धेरै भाडा लगे भन्ने गुनासो पनि आएको छ । नियम सबैले मान्नु पर्छ, नीतिनियम अनुसार सबै चल्नु पर्छ ।

अन्त्यमा केही भन्नु छ ?

 यातायात व्यवस्था कार्यालय तथा हामीले गरेका काम तथा सुधार गर्नु पर्ने कुरा जनता माझ राख्न दिएकोमा तपाईँ तथा पत्रिकालाई धन्यवाद दिन चाहन्छु । हामीले यातायात व्यवस्था कार्यालयको सुधार तथा सेवा सवलीकरणमा लागेका छौँ । सुधार एकैपटक गर्न सक्ने विषय होइन । विस्तारै केही कमीकमजोरी भए सुधार गरेर अगाडि बढ्ने छौँ । केन्द्रीय, प्रदेश र स्थानीय सरकारको नीति नियम र यातायात क्षेत्रको सहज व्यवस्थापनका लागि हामी सधैँ प्रयासरत रहने छौँ ।