कृषि ज्ञान कन्द्रेको बजेट ६ करोड २५ लाख

अमरराज आचार्य
दाङ, १९ भदौ । कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्षका २०८०÷०८१ को बजेट गत वर्षको भन्दा कम भएको जनाएको छ । सोमवार चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै केन्द्रले यस्तो जनाएको हो । केन्द्रका अनुसार गत आर्थिक वर्षमा सात करोड २३ लाख बजेट आएको थियो तर विनियोजित बजेटमध्ये ५५ प्रतिशत बजेट खर्च नभएर फर्केको थियो । कार्यालयले सोमवार एक कार्यक्रम आयोजना गरी कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो ।

कार्यक्रम ज्ञान केन्द्र प्रमुख नरेश धितालको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । चालु आर्थिक वर्षका लागि सङ्घ र प्रदेश सरकारबाट विनियोजन भइ कार्यान्वयनका लागि आएको स्वीकृत भएको कार्यक्रम सार्वजनिक गरिएको हो । कृषि क्षेत्रको बजेट अघिल्लो आर्थिक वर्षमा घटेको कार्यालय प्रमुख धितालले बताए । ज्ञान केन्द्रका अनुसार, जिल्लामा यस वर्ष विभिन्न ६ वटा शीर्षकमा ६ करोड २५ लाख ३१ हजार विनियोजन भएको छ । केन्द्रको गत आर्थिक वर्षमा सात करोड २३ लाख बजेट विनियोजन भएको थियो ।

केन्द्रका अनुसार यस वर्ष कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा दुई करोड ९० लाख २१ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रम २३ लाख ५७ हजार, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम २३ लाख ४७ हजार, साधारण खर्च तथा क्षमता विकास कार्यक्रम दुई करोड ९ लाख ६ हजार, सङ्घअन्तर्गत सशर्त कार्यक्रम ३५ लाख, कृषि विभाग सङ्घ सशर्त अनुदानमा ३५ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक विकास कार्यक्रममा १९ लाख रुपैयाँ बजेट विनियोजन भएको ज्ञान केन्द्र प्रमुख धितालले बताए । उनका अनुसार यस वर्ष कृषि प्रवर्धनका लागि सिँचाइ र कृषि विकास गर्न सबैभन्दा बढी बजेट छुट्याइएको छ । यसका लागि सिँचाइ सहित कृषि विकास कार्यक्रम ९० लाख रहेको छ ।

कार्यक्रममा चालु आर्थिक वर्षको कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिका बारेमा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी गराएका थिए । उनले गत वर्षमा विनियोजन भएर आएको कूल बजेटमध्ये करिब ५५ प्रतिशत बजेट कार्यान्वयन हुन नसकेको बताए । यसो हुनुमा कार्यविधिलगायत कानुनी जटिलताले बजेट कार्यान्वयन समयमा हुन नसकेको हुँदा यो पटक पालिकामार्फत् समयमा सूचना गर्ने, कृषकको माग र आवश्यकतामा आधारित योजना अघि सार्ने र झन्झटिलो प्रक्रिया निरुत्साहित गर्ने काम कार्यविधिमा समावेश गर्ने बताए । उनले सिँचाइ सुविधामा जोड दिइएको जानकारी गराउँदै कृषि उत्पादन हुने क्षेत्रमा सहज सिँचाइ पु¥याउन सके किसानले आफै खेती गर्ने हुँदा यसतर्फ ध्यान दिनु जरुरी रहेको बताए । कृषिका लागि सहज सिँचाइ, प्राविधिक सहयोग, अनुदान र बजारीकरणमा जोड दिनु पर्ने उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले वास्तविक किसानलाई पहिचान गरी कृषि अनुदान दिनु पर्ने बताए । त्यसको प्रभावकारी अनुगमन गर्नु पर्ने उनको सुझाव छ । ‘अनुदानको बजेट दुरुपयोग गर्न हुँदैन’, उनले भने । पहुँचका आधारमा नभई वास्तविक कृषक पहिचान गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । उत्पादन भएको वस्तुको बजारीकरण गर्न सहयोग गर्नु पर्ने उनले बताए । यसले कृषकलाई प्रोत्साहन मिल्ने बताए । उनले बजेटको सही उपयोगमा ल्याउन र कार्यान्वयनमा जोड दिन सुझाव दिए । बर्सेनि बजेट घटिरहेका बेलामा बजेट पूर्ण कार्यान्वयन गरी उत्पादनमुखी काममा ध्यान दिन उनले आग्रह गरे ।

बबई गाउँपालिका अध्यक्ष कूलबहादर खत्रीले कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताए । आप्mनो पालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढेको बताए । ‘कृषिमा नागरिकलाई आकर्षण गर्ने योजना ल्याउनु पर्दछ’, उनले भने । कार्यविधि नहुँदा बजेटको कार्यान्वय नहुने गरेको भन्दै समयमै कार्यविधि बनाएर पठाउनु पर्ने बताए । कृषक शंकर नेपालीले कृषकहरू सधैँ पीडामा रहेको बताए । कृषकलाई सहयोग गर्ने नीति ल्याउनु पर्ने उनले बताए । कृषकले उत्पादन गरेको वस्तु बजारीकरणका लागि ढुवानीमा अनुदान दिनु पर्ने बताए ।

‘पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढ्दै गएको भन्दै यसलाई रोक्नका लागि राज्यले कृषिमा आकर्षण गर्ने नीति योजना ल्याउनु पर्छ’, उनले भने । युवाहरूलाई रोक्न नसकेमा कृषि क्षेत्रमा ठुलो समस्या हुने उनको भनाइ छ । जिल्लामा दुई लाख ९५ हजार ५ सय हेक्टर जिल्लाको कूल क्षेत्रफलमध्ये ७५ हजार ९ सय ८० हेक्टरमा कृषि हुने गरेको छ । कार्यक्रमको सहजीकरण ज्ञान केन्द्रका कमल रेग्मीले गरेका थिए ।