एकतावद्ध भएर निर्वाचनमा जानेमा जोड

दाङ, १० भदौ । दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा एकतावद्ध भएर अघि बढ्नुपर्ने प्रजातान्त्रिक उद्यमी संघले आयोजना गरेको कार्यक्रमका सहभागीले जोड दिएका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा प्रजातान्त्रिक उद्यमी संघले शनिवार घोराहीमा उम्मेदवारका आकांक्षी तथा उद्योगी एवं व्यवसायीहरुसँग गरेको छलफल कार्यक्रममा सहभागीहरुले व्यक्तिभन्दा पनि सस्थागत निर्णय अनुसार निर्वाचनमा लाग्नुपर्नेमा जोड दिएका हुन ।

उनीहरुले विगतमा भएका कमिकमजोरीहरुलाई सच्याउँदै आगामी असोजमा हुने निर्वाचनमा नेतृत्व आफ्नो पक्षमा ल्याउनेगरी लाग्नुपर्ने बताएका हुन । त्यसका लागि व्यक्तिगत चाहनाभन्दा पनि सस्थागत हित र व्यवसायीक भलाइलाई नेतृत्वका आकांक्षीहरुले बुझ्नुपर्नेमा जोड दिएका थिए । निर्वाचनका लागि प्रजातान्त्रिक उद्यमी संघले सवै व्यवसायीहलाई समेटेर अगाडि बढनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

उद्योग बाणिज्य संघमा जान इच्छुक साथीहरुको नामावली संकलनसँगै उनीहरुले अघि सारेका योजनाहरुका बारेमा छलफल भएको प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर खत्री (मानु)ले जानकारी दिएका छन् । भेलामा बोल्ने अधिकांस सहभागीले एकतावद्ध रुपमा सस्थागत हित हुनेगरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको समेत बताए । ‘आउँदै गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनलाई मध्यनजर गरेर भेला आयोजना गरेका थियौ’,अध्यक्ष खत्रीले भने,‘भेलाबाट संघको निर्वाचनमा आकांक्षीहरुसँगै उहाँहरुका कुरा पनि सुनेका छौ ।

यहिबाट संघलाई हाक्न सक्ने,योग्य,सक्षम व्यक्तिलाई उम्मेदवार बनाउने छौ ।’ उद्योग बाणिज्य संघको नेतृत्वका आकाक्षी व्यवसायीक क्षेत्रको समस्याका वारेमा जानकार एवं हकहितका लागि बोल्न सक्ने व्यक्ति हुनुपर्नेमा सहभागीले जोड दिएको उनको भनाई छ । उनका अनुसार भेलामा संघको नेतृत्वका लागि बर्तमान कार्यसमितिबाट बरिष्ठ उपाध्यक्ष नरेश कार्की,सचिव नरेश श्रेष्ठ, कोषाध्यक्ष सुशील पोख्रेल, सदस्य भरत रेग्मी र निर्वातमान उद्योग उपाध्यक्ष बसन्त जोशीले आफनो आकाक्षा रहेको जानकारी दिएका थिए ।

भेला प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष अध्यक्ष कालीबहादुर खत्री (मानु)को अध्यक्षता तथा प्रजातान्त्रिक उद्यमी संघका संस्थापक अध्यक्ष हुमाकान्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । संघका उपाध्यक्ष छविनारायण गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंचिव श्रीधर धितालले गरेका थिए । दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचन आउने असोज १३ गते तोकिएको छ । निर्वाचनका लागि सर्वसहमतिको पनि प्रयास भइरहेको छ ।