गोरक्ष समाचारदाता
घोराही,८ भदौ । घोराही उपमहानगरपालिका–७ हनरिया निवासी २९ बर्षीय रञ्जु चौधरीको दैनिकी एक दशकअघि धेरै नै कष्टकर थियो । सम्पतीका नाममा ४ कट्ठा खेत मात्रै भएकाले उक्त खेतमा गरेको खेतीले बर्षभरी खान समेत पुग्दैन थियो ।
जस्ले गर्दा अर्काको घरमा काम गरेर परिवार पाल्नुपर्ने बाध्यता उनको परिवारलाई थियो । त्यही भरमा रञ्जुले ६ जनाको परिवारले जीविको पार्जन गर्दै आएका थिए । परिवारमा ५० बर्षीय ससुरा कालिराम चौधरी, ४५ बर्षीय सासु बिमला चौधरी, २९ वर्षीया श्रीमान् अर्जुन चौधरी र २ छोरीहरु अस्मीता र अनुषा रहेका छन् ।
थोरै जग्गा भएकाले रन्जुका परिवारलाई साँझबिहानको जोहो गर्न निक्कै कठिन थियो, तरपनि रन्जु र उनको घरपरिवारले हरेश खाएनन् । त्यही समयमा ग्रामीण महिला उत्थान केन्द्रले गाउँमा समूह गठन गरेर व्यवसाय गर्नका लागि थोरै भएपनि ऋण सहयोग गर्ने गरेको थियो । त्यही बुझेकी रन्जु महिला समूहमा आवद्ध भइन । करिव १४ वर्ष अघि ग्रामीण महिला उत्थान केन्द्रले गठन गरेको समुहमा आवद्ध भएकी रन्जुले काम गरेर जम्मा गरेको थोरै भएपनि पैसा सुरुमा बचत गर्न थालिन ।
यसरी बचत गर्दै जाँदा पहिलो पटक १० हजार ऋण लिएर एउटा बंगुर किनेर रन्जुले व्यवसायको सुरुवात गरेकी थिइन । बंगुुरका पाठापाठी भएपछि बेचेर १० हजारको किस्ता तिरेकी उनले फेरि समूहबाट ५० हजार ऋण लिइन । बंगुरपछि २ वटा दुध दिने भैंसी किनिन् । भैंसीको दुध बेचेर दैनिक ३ सय रुपैया आम्दानी लिन थालेकी उनले त्यही पैसाबाट किस्ता तिर्दै पुरा गरेकी थिइन ।
समुहबाट किस्ता ल्याउने र कारोबार गर्ने यो क्रम चलिरह्यो त्यसपछि फेरि रञ्जुले १ लाख माग गरेर किराना पसल, तरकारी खेतीका साथै बंगुरपालन ब्यवसाय गर्दै आम्दानी लिन थालेकी हुन । यसबाट राम्रो आम्दानी भएपछि २ छोरीलाई राम्रो शिक्षाका लागि पढाउनेदेखि किस्ता तिर्न कुनै समस्या नभएको रञ्जु बताउँछिन । रन्जु एक्लैले सवै काम गर्न भ्याउदैनिन् । उनलाई घरपरिवारले सघाउने गरेका छन् ।
उनका अनुसार ससुरा किराना पसलमा बसेर सहयोग गर्ने गरेका छन भने सासु–बुहारीले घरको कामसँगै खेतबारीमा तरकारी खेतीसँगै भैसी तथा बंगुरपालन हेर्ने गरेका छन् । श्रीमान् ७ वर्षअघि विदेश गएको भन्दै रन्जुले भनिन्,‘घरको आम्दानीले घर व्यवहार चलाउनेदेखि छोरीलाई पढाउन पुग्ने गरेको छ भने श्रीमानको पैसा बचत हुने गरेको छ ।’ उनले पछिल्लो समय व्यवसाय बढाउँदै जादा पछिल्लो समय थप पाँच लाख रुपैया कर्जा लिएर अटोरिक्सा किनेको बताइन । गाउँमा अटो रिक्सा चलाएर मासिक ३० हजार बढी आम्दानी गर्ने गरेकी छिन ।
तरकारी खेती तथा बंगुरपालनबाट बार्षिक रुपमा करिव डेढ लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन । साना ठुला गरेर २१ वटा बंगुरहरु रहेका छन् । पहिले चार कट्ठा जमिन मात्रै भएको रन्जुसँग अहिले दश कट्ठा थपेर १५ कट्ठा पु¥याएरकी छिन । सुरुका दिनहरुमा साँझ–विहान खान लाउनका लागि दुःख भएपनि अहिले सवैको मेहनतले सुख भएको ससुरा कालीराम चौधरी बताउँछन् । इमान्दार रुपमा श्रमप्रति विश्वास गरेर सानो पुजीबाट पनि राम्रो प्रगति गर्न सकिने उनी बताउँछन् । साथै आर्थिक रुपमा विपन्न परिवारलाई केही गर्नका लागि सुरुमा ऋण सहयोग गर्ने ग्रामीण महिला उत्थान केन्द्रलाई र आत्मनिर्भर लघुबित्त संस्थालाई सधै सम्ने गरेको उनी बताउँछिन ।