गोरक्ष समाचारदाता
दाङ, ६ भदौ । मुख्य दुई पार्टी नेपाली कांग्रेस र नेकपा एमाले जनतासँगको सेवा प्रवाह र विकास निर्माणमा सहजीकरण गर्न भनेर देशभरका पालिकामा संयन्त्रण निर्माण गरेका छन् । त्यो संयन्त्रलाई कांग्रेसले सेवा दल भनेको छ भने एमालेले सभादल नाम दिएको छ ।
एमालेले देशभरका सवै पालिकामा सभादल गठन गरिसकेको छ । कांग्रेसले भने देशभरका पालिकामा सेवा दल गठनको काम थालेको छ । स्थानीय नागरिकको सुख, दुःखको सहयात्रीका रुपमा मानवीय सेवाका कामहरु गर्ने उद्देश्य अनरुप केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सबै स्थानीय तहमा सेवा दल गठन गर्न परिपत्र भएसँगै पालिकाहरुमा त्यो काम अघि बढेको कांग्रेसले जनाएको छ । ‘देशभर सबै पालिकामा हाम्रो पार्टीको संगठन छ, ती संगठनको मातहतमा रहने गरी गाउँमा रहेका युवाहरूको संलग्नतामा ‘गाउँ सेवा दल’ गठन काम सुरु भएको छ’,पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने,‘ती सेवा दलले त्यस क्षेत्रमा मानवीय सेवाका विभिन्न गतिविधि गर्छन्, जनताको सुखदुखमा साथ दिन्छन् ।’
साउनको पहिलो साता बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम ७५३ वटै पालिकालाई सेवा दल गठन गर्न परिपत्र भएको छ । गाउँपालिका क्षेत्रमा गाउँ सेवा दल गठन हुने र सहरी क्षेत्रमा भने फरक नाम दिएर सेवा दलहरू सञ्चालन हुने छ । ‘ठाउँ अनुसार समाजमा विभिन्न समस्या आउँछन् । कतै पहिरो जान्छ, कतै आगलागी हुन्छ । यस्ता प्राकृतिक विपद्मात्रै होइनन्, सामाजिकरुपमा समेत विभिन्न समस्याहरू आउँछन्, त्यस्तो समस्याका बेला सेवा दल नागरिकको साथ हुन्छ, र जनतासँगै रहेर काम गर्ने पार्टीले जनाएको छ । केन्द्रीय कार्यसमिति बैठकले गाउँ, वडा, टोल तहमा मानवीय सेवाका कामलाई व्यवस्थित गर्न सेवा दल गठन गर्ने निर्णय गरेको थियो ।
कांग्रेस दाङका सचिव योगीका अनुसार पार्टीको निर्देशन अनरुप जिल्लाका पालिकाहरुमा सेवा दल गठनको काम अघि बढेको छ । उनका अुनसार घोराहीमा सेवा दल गठन भैसकेको छ भने अन्य पालिकाहरुमा पनि सेवा दल गठन गर्ने तयारी छ । घोराही उपमहानगरमा शरद गिरीको संयोजकत्वमा सेवा दल गठन भएको छ । सेवा दलले जनतालाई पर्ने समस्याहरुमा सहजीकरण गर्ने छ । सेवा दलको मुख्य काम जनताका सेवाप्रवाह र विकास निर्माणमा सहजीकरण गर्ने नै हो’, उनले भने,‘ त्यो अनरुप जिल्लाका पालिकाहरुमा सेवा दल गठनको काम अघि बढ्छ ।’ तर केन्द्रले अहिले सेवा दललाई कसरी अघि बढाउने भन्ने सम्वन्धमा कार्यविधि बनाउन थालेकाले अझै के–के काम गर्ने र कसरी अघि बढ्ने भन्ने पष्ट हुने बताए ।
‘जनताका हरेक सुख,दुःखमा साथ दिएर काम गर्ने भनेको छ,तर स्पष्ट रुपमा के कस्ता काम गर्ने भन्ने अझै खुलेको छैन्’,जिल्ला सचिव योगीले भने,‘केन्द्रले कार्यविधि तयार गरेपछि सेवा दललाई कसरी अघि बढाउने र के काम गर्ने भन्ने खुल्ने छ ।’ उनले खासगरी पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक काममा परिचालन गर्नेगरी कांग्रेसले सेवा दल गठनको प्रक्रिया अघि बढाएको बताए । उनले राजनीतिभन्दा जनताको सेवासँग जोडिनका लागि सहयोग पुग्ने उनी बताउँछन् ।
अहिलेसम्मको बुझाई अनुसार वडा, गाउँ र टोल तहमा मानवीय सेवाका कार्यहरू सेवा दलले गर्ने जिल्ला सचिव योगी बताउँछन् । कांग्रेसले जिल्लाका दश पालिका मध्य एक नगरपालिकासँगै ४ गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ । दुई वटा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जिल्लाका १ सय वडामध्ये ३७ वटा .वडाहरु जितेको छ । एमालेको सभादल नेकपा एमालेले जनताको सेवा प्रवाह र विकास निर्माणमा सहजीकरणसँगै पार्टी र जनप्रतिनिधिविच एकरुपता ल्याउन देशभरका पालिकामा सभादल गठन गरेको छ ।
सभादलले जनताको साथ र समर्थन लिएर काम गर्ने गर्छ । दाङ जिल्लाका दशैपालिकामा पनि सभादल गठन काम पुरा भएको एमाले दाङले जनाएको छ । केन्द्रको निर्णय अनरुप जिल्लाका सवै पालिकामा सभादल गठनको काम भएको र त्यो सभादलले आवश्यकता अनरुप काम थालेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए । ‘सवै पालिकामा सभादल गठन भएको छ । सभादलले विकास निर्माण र जनताको सेवा प्रवाहमा विशेष सहजीकरणको काम गर्छ’,सचिव बुढाथोकीले भने ।
उनका अनुसार जितेको पालिकामा त्यहीको जनप्रतिनिधि र जनप्रतिनिधि नजितेको पालिमा पार्टी प्रतिनिधिको अध्यक्षतामा सभादल गठन भएको छ । जिल्लामा दुई उपमहानगर, एक नगर र ७ वटा गाउँपालिका छन् । एमालेले नेतृत्व जितेको दुई उपमहानगरपालिका हो । घोराही र तुलसीपुर उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसँगै अधिकास वडाहरु जितेको छ । राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जिल्लाका सय वडा मध्य ४० वडाहरु जितेको छ ।