गोरक्ष समाचारदाता
घोराही, ४ भदौ । घरको कमजोर आर्थिक अवस्थाका कारण बिरामीको उपचारमा समस्या भएको भन्दै एक परिवारले उपचारमा सहयोग गरिदिन आग्रह गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ शुक्रवार निवासी पवित्रा चौधरीको उपचारका लागि सहयोग गरिदिनुहुन घरपरिवारले आग्रह गरेका छन् ।
दुवै मृगौलामा समस्या भइ नियमित डाईलासिस गनुपर्ने भएको र डाईलासिसका लागि पैसाको समस्या भएको बिरामीका देवर नेकबहादुर चौधरीले जानकारी दिएका छन् । ‘मृगौलामा समस्या भएपछि पाटन अस्पतालमा डाईलासिससँगै उपचारको काम भइरहेको छ’,देवर चौधरीले भने,‘उपचारका क्रममा धेरै पैसा सकियो । घरको अवस्था पनि कमजोर भएकाले अहिले उपचारमा समस्या भइरहेको छ, कतैबाट सानो सहयोग भएपनि ठुलो राहत हुने थियो ।’
उपचारका लागि आफन्ती, स्थानीय सरकारसँग पनि सहयोग गरेको भन्दै सवैको सहयोग भएमा बिरामीलाई बचाउन सहयोग पुग्ने उनले बताए । ‘घर परिवार सामान्य छ,कृषिको काम गरेर जम्मा भएको पैसा उपचार गर्दागर्दै सकियो’,उनले भने,‘अहिले उपचारका लागि समस्या भइरहेको छ ।’
उनका अनुसार प्रत्येक दिन उपचारका लागि करिव १५ हजार रुपैया खर्च हुने गरेको छ । उनका अनुसार उपचारमा सहयोग गर्ने इच्छुकहरुले बिरामीका श्रीमान अमित चौधरीको नाममा नविल बैंकको घोराही शाखामा रहेको खाता नं. ०२६१००१७५१३९८८ नम्वरमा पैसा जम्मा गर्न सकिने जानकारी दिएका छन् ।