खोला किनारमा थुपारिएका ढुङ्गा जफत

गोरक्ष समाचारदाता
तुलसीपुर, २ भदौ । तुलसीपुर उपमहानगरपालिकाले खोला किनार, चौर तथा बाटोमा थुपारिएका ढुङ्गा बालुवा जफत गर्न सुरु गरेको छ । एक सातादेखि तुलसीपुर उपमहानगरपालिकाले गैरकानुनी रूपमा सङ्कलन गरेर राखिएका ढुङ्गा जफत गर्न सुरु गरेको जनाएको छ । उपमहानगरपालिकाले गत शुक्रवारदेखि अवैध रूपमा सङ्कलन गरिएका ढुङ्गा जफत गर्न सुरु गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४, १६, १९, ११, १७ लगायतका वडाबाट ढुङ जफत गरेको तुलसीपुर उपमहानगरपालिकाका प्राकृतिक स्रोत साधन अनुगमन समितिका संयोजक शंकरकुमार खड्काले बताए ।

उनका अनुसार खोला किनार तथा अन्य स्थानमा खोलाबाट उठाएर राखिएका ढुङ्गा जफत गरेको हो । उनले पहिलो चरणमा ढुङ्गा मात्र उठाएको बताए । उनले एक सातामा करिब साढे ७ सय टेक्टर र एक सय ७८ टिप्पर ढुङ्गा उठाएर विभिन्न स्थानमाा स्टक गरेको बताए । हाल तुलसीपुर उपमहानगरपालिकाभित्र ढुङ बालुवा उत्खनन्का लागि खोलाहरू ठेक्कामा नलागेको र विभिन्न व्यक्तिले बिक्रीका लागि सङ्कलन गरेका ढुङ्गाहरू नियन्त्रणमा लिएको बताएको छ । ‘हामीले प्रमाणित भएका र घर निर्माणका लागि किनेका ढुुङ्गाहरू उठाएका होइनौँ, प्रमाणित नभएका, कुनै प्रमाण नभएका घर, बाटो खोलाको छेउछाउँमा सङ्कलन गरेर राखेको वस्तु उठाएका छौँ’, खड्काले भने ।

केही दिनअघि मात्रै सिँचाइ कुलोको बाँधमा रहेको जाली फोडेर ढुङ्गा उठाएको गुनासो तुलसीपुर उपमहानगरमा आएपछि ढुङ्गा जफत अभियान थालिएको हो । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुखको निर्देशनमा अवैध रूपमा सङ्कलन गरिएका ढुङ्गा जफत थालिएको हो । ‘विभिन्न कुलाहरूको बाँधमा अवैध ढुङ््गा निकाशी भयो भनेर स्थानीय आउनुभयो, डेलिगेसन । त्यसपछि त्यसलाई रोक्न यो अभियान सुरु भएको हो । यो जारी छ’, उनले भने । खड्काले कोही कसैले प्रमाण देखाए तथा लिएर आए भने त्यो ढुङ्गा नउठाउने बताए ।

खोला तथा कुलाका बाँध दोहन गरेर ल्याइएका ढुङ्गा जफत गर्ने उपमहानगरको अभियान भएको र कुनै पनि घरायसी प्रयोजनका लागि प्रमाणित भएका ढङ्गा भने जफत नगरेको उनले प्रष्ट पारे । केही नागरिकले भने आफ्नै जग्गाबाट उत्खनन् गरिएका ढुङ्गा पनि उपमहानगरपालिकाले जफत गरेको गुनासो गरेका छन् भने सार्वजनिक सूचना समेत सम्बन्धित वडाबाट जारी भएको भन्दै घर, गोठ, पर्खाल निर्माणका लागि सङ्कलन गरिएको ढुङ्गा भए तत्काल सम्बन्धित वडामा सम्पर्क गरी प्रमाणीकरण गर्न आग्रह गरिएको खड्काले बताए । उनले बालुवा तथा ढुङ्गाको निरीक्षण गर्न इन्जिनियरहरू खटिएको भन्दै अवैध रूपमा रहेका नदीजन्य वस्तुहरू पनि जफत गर्ने बताए ।

जफत गरेका ढुङ्गालाई वडा नं. १७ को कार्यालय नजिकै, तुलसीपुर–७ को पर्सेनीमा रहेको खाली जग्गा, १२ को पुकार पसलको पूर्वतिर र वडा नं. १६ को गुहार खोला पुलको छेउमा खाली जग्गामा राखिएको संयोजक खड्काले बताए । जफत गरिएको ढुङ्गालाई सम्बन्धित व्यक्तिले सरकारी दररेट अनुसार राजस्व बुझाएमा फिर्ता गरिने समेत बताए । नगर प्रहरी तथा कर्मचारीले विभिन्न स्थानमा पुगेर नियन्त्रण लिइरहेको उनले बताए । ‘घर अगाडि राखिएका ढुङ्गाको सम्बन्धित वडामा गएर प्रमाणीकरण गर्न भनेका छौँ यदि नभए त्यो पनि उठाउछांैँ’, उनले भने ।

पहिलो चरणमा खोला छेउछाउँ, बाटोमा राखिएको ढुङ्गाहरू उठाएको र केही समयपछि बाटोमा राखिएको निर्माण सामग्रीलाई पनि व्यवस्थित तरिकाले राख्न स्थानीयलाई सचेत गराउने काम गरिएको भन्दै निर्देशनलाई बेवास्ता गरे कारबाही गरिने बताए । ‘पहिलो चरणमा सम्बन्धित निकायलाई जानकारी र सचेतना दिन्छौँ, यदि बेवास्ता भए व्यवारिसे भए सडकमा राखिएका निर्माण सामग्री पनि खोलाखोलामा राखिएका उठाएजस्तै गरी उठाउने छौँ’, खड्काले भने, ‘यो अभियानले उपमहानगरको राजस्वमा समेत टेवा पुग्नेछ ।’