Goraksha

National Daily

प्रियसी

लक्ष्मण शर्मा

सन् २०१८÷०१९ तिर म लर्न एण्ड अर्न प्रोगाम अन्तर्गत इजरायल पुगेको थिएँ । म जस्तै त्यो प्रोग्राममा ९ देशका मानिस त्यसरी नै त्यहाँ पुगेका रहेछन् । त्यो मेरो पहिलो विदेश अनुभव थियो । प्राकृतिक सुन्दरताले भरिपूर्ण विकासोन्मुख देशबाट एकैचोटि विश्वको ११औँ शक्तिशाली विकसित देशमा पुग्दा लाग्थ्यो कुनै छुट्टै लोकमा आएको छु ।

‘माई नेम इज सलिना, आइ एम फर्म भियतनाम’ । उसले आफ्नो परिचय दिँदै हात अगाडि बढाई । म लजालु स्वभावको अन्तरमुखी मान्छे । त्यो भन्दा अगाडि मनमनै कसैलाई मन पराए पनि कुनै केटीसँग आँखामा आँखा जुधाएर बोल्न सक्ने साहास मसँग थिएन ।

सलिना भियतनामी साथी

भर्खर १८÷१९ वर्ष पुगेकी हुँदी हो । रूपको त के बयान गर्नु र खोई । कुनै कथाकी सुन्दर पात्र जस्तै । भगवान्ले फुर्सदमा बनाएको अनुपम सिर्जना हो, ऊ थोरै चुलबुले, थोरै निर्दोष मुहार, धेरै चञ्चले देखिन्थी ।

त्यो दिन अनायस मेरो हात पनि अगाडि बढ्यो भने ‘आई एम लक्ष्मण, फर्म नेपाल’, उसले ‘ओ ! नेपाल बुद्घ कन्ट्री, सच अ पिस प्लेस’ भन्दै नेपालको तारिफ गरी । सुनेर मेरो छाती चौडा भयो । दशौँ हजार माइलबाट पनि उसले बुद्धको बारेमा जुन वर्णन गरी त्यो बुद्धले संसारलाई दिएको दिव्य ज्ञनको परिणाम हो जस्तो लाग्यो ।

ऊ निकै खुल्ला हृदयकी थिई । हरेक कुरा सेयर गर्ने उसको स्वभाव थियो । संयोगबस हामी पढ्ने र सिक्ने ठाउँ एउटै ठाउँमा परेको थियो । त्यहाँ हामी १० जना थियौँ । ९ देशका अलग–अलग नागरिक तर पनि किन–किन ऊ मलाई राम्रो लाग्दै गएको थाहै भएन । म आफू लजालु स्वभावको भएर होला मलाई बोल्ड र खुल्ला हृदयको केटी मन पथ्र्यो । सायद त्यो गुण उसमा थियो कि !

विस्तारै हामी एकआर्कासँग धेरै कुरा सेयर गर्न थालिसकेका थियौँ । हामीले सिकेका, नजानेका धेरै काम मिलेर, छलफल गरेर गर्ने गथ्र्यौँ । कहिलेकाहीँ हामीले हाम्रो भाषा, संस्कृति र सिस्टमको कुरा गरेर समय बिताउथ्यौँ ।

सामाजिक सञ्जालको जमाना थियो । मैले उसको फेसबुक आइडीमा फ्रेन्ड रिक्वेस्टको ग्रिन सिग्नल पठाएँ । पठाएको केही समयमा उताबाट एक्सेप्टको जनाउ घण्टी आयो । मेरो कौतुहलताको बाँध फुट्यो । फेसबुक च्याटमा ऊसँग जिस्कन मन लाग्यो अनि रमाइला भिडियो मिमहरू पठाउँन्थे । ‘गलफ्र्रण्ड खोजिदेउ न’, भन्थेँ, ‘म छु त, मलाई नै बनाउ न ।’ भन्थी । ‘ह्या बाई ।’ यस्तै बोल्दा बोल्दै जिस्किँदा जिस्कँदै निकै नजिक भएकी थिई उ मसँग ।

कोठामा ऊ एक्लै बस्थी । इजरायलको विभिन्न ठाउँमा हामी सँगै घुम्न जान्थ्यौँ । साथीभाइले शङ्का गर्न थालेका थिए । मलाई भने प्रदेशमा समय काट्ने साथी भेटेजस्तो भएको थियो । मैले उसलाई नराम्रो नजरले कहिल्यै हेरिनँ, न त नकारात्मक भावना नै राखेँ । सहरमा एक्लै हुर्किएका युवायुवती यस्तै हुन्छन् भन्ने कुरा मैले राम्रो सँग बुझ्थेँ र बुझ्छु पनि । नत्र चढ्दो जवानीमा पोटिलो शरीरसँग अर्को शरीरलाई स्पर्श गर्ने रहर कसलाई हुँदैन र ?

केही समयपछि उसको जन्म दिन आयो । मैले शुभकामना दिँदै शब्दगुच्छाले उसकोे वाल रङ्गाइदिएँ । ‘आज पार्टी गर्नु पर्छ । मेरा साथीहरू पनि आउँछन् तपाईँ पनि आउनु रमाइलो गर्नुपर्छ ल !’ भन्दै निम्तो दिई ।

‘हस’् भन्दै मैले च्याट बन्द गरेँ । साँझ परेपछि उसका साथीहरू पनि आएका थिए । होटलबाट अर्डर गरेर आएका थुप्रै परिकार थिए । रक्सीका पनि विभिन्न भेराइटी थिए । म गएपछि पार्टी सुरु भयो । केक काटेर सुरुमा मलाई खुवाई, उसका साथीहरू जिल्ल परेर हेरिरहे, बधाई भने । हुटिङ गर्न थाले । म अलमलमा थिएँ । के हो भनेर ! साथीसँग चिनाउँदा पनि मेरो ब्वायफ्रेन्ड भन्न थाली । म झसङ्ग भएँ । भन्न पनि के भन्ने नभनु आफूले त्यस्तो केही सोचेको छैन । रमाउन मन हुँदाहुँदै पनि रमाउन सकेनँ ।

‘थोरै रक्सी खानु पर्छ है आज, हजुरले खाए म पनि खान्छु’, भन्दै सलिना जिद्दी गर्न थाली । म खाँदिन बरु तिमी खाउ न भन्दै म तर्किएँ । निकै बल गरेकी थिई, मलाई रक्सी पिउन । मैले नखाएपछि आफ्ना साथीसँग रक्सी खाई । पहिलोचोटि खाएर होला उसलाई अरुलाई भन्दा धेरै मात लागेको थियो ।

पूर्णिमाको समय जुनेली रात थियो । हरियो खुल्ला चौरमा चौरतिर म्युजिक घन्किरहेको थियो । टकिला रक्सीको चुस्की लगाउँदै जब ऊ नाच्थी, लाग्थ्यो स्वर्गको परी नाच्दै आकाशबाट झरिरहेकी छे । क्या जोवन थियो । क्या मस्त सुन्दरता । ऊ रक्सीले अर्धचेत जस्तै भइसकेकी थिई । उसका साथीहरू राती १२ बजे नेतिबोधमा रहेको आई क्लबतिर जाने भन्दै लागे । चौरमा ऊ र म मात्र भयौँ ।

उसलाई उसको कोठामा सुताएर म आफ्नो कोठातिर लागेँ । उसले अनायासै मेरो ब्यायफ्रेन्ड भनेर उसको साथीलाई किन भनी होला भन्दै सोचमग्न भएँ । मैले कहिल्यैै उसलाई प्रेमिकाको रूपमा सोचेकै थिइनँ । न त उसले पहिले कहिल्यै यो कुरा मसँग शेयर गरेकी थिई । खै के सोचेर भनी म अलमलमा परेँ ।

लाग्यो अब उसको सामिप्यताबाट टाढा हुनुपर्छ । दिन प्रतिदिन ऊ मलाई हद गर्न थालेकी थिई । जतिबेला पनि घुम्न जाऔँ, यस्तो खाऔँ भनेर बोलाइरहन्थी । परदेशमा मेरा आफ्नै समस्या थिए । ऊ सँग जतिबेला पनि समय बिताउने मसँग फुर्सद थिएन तर ऊ भने मलाई डियर, बेनी भन्न थालिसकेकी थिई । ऊ मसँग कुनै कुरामा आशा राख्दिन थिई । घुम्ने, खाने गर्दा पनि पैसा सबै ऊ आफै तिर्थी ।

म केयर गर्दैनथे तर ऊ केही भन्दैन्थी । उसको मायामा पर्ने डरले म ऊबाट टाढा हुन खोज्दै थिएँ । केही समयपछि हामी आफ्नो देश फर्कने समय आउँदै थियो । मैले ऊ सँगको भेटघाट कुराकानी विस्तारै कम गर्दै लैजाने सोच बनाएँ । म सामाजिक सञ्जालबाट अलग हुने विचार गरी सम्पर्क टुटाएँ, मोबाइल अफ गरेँ । त्यसको केही समयपछि म नेपाल फर्केँ ।

नेपाल फर्किएपछि फेसबुक अन गरेँ । ऊ भियतनाम पुगिसकेकी रहिछ । थुपै्र पटक फोन, म्यासेज गरेकी रहिछ । म्यासेजको रेस्पोन्स गरेँ । ऊ सुरुमा रिसाएजस्तै गरे पनि विस्तारै बोल्दै गई । मसँग छुटे पछिका विभिन्न किस्सा सुनाइ । यो क्रममा उसले ब्यायफ्रेन्ड पनि बनाइछे ।

फोटो पठाई, राम्रो छ भन्ने प्रतिक्रिया दिएँ । ऊ अझै पनि मलाई डियर बेबी भनेर बोलाउँछे । दिनदिनै च्याट गर्छे, भियतनामको समुद्री तटको किनारमा बसेर बिकिनी लगाएको फोटो पठाउँदै लेख्छे, ‘आइ मिस यु डियर बेबी ।’

कसले भन्छ मयामा शक्ति हुँदैन भनेर । यदि आकर्षणको शक्ति नहुने भए ऊसंँग अब छुट्टिन्छु भन्दै कसम खाएको दुई वर्ष पछि उसको यादमा संस्मरण लेख्ने थिएन । भगवान्सँग क्षमा माग्दै सामाजिक सञ्जाल चलाउने थिएन । ऊ अझै पनि उस्तै छे, डियर पाठक !