एउटै घरका तीन जनामा हिमोफेलिया

गोरक्ष समाचारदाता
तुलसीपुर, ३१ साउन । तुलसीपुर उपमहानगरपालिकाले हिमोफेलिया फ्याक्टर उपचारका लागि पीडितको घरमै पुगेर सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का १४ वर्षिय रुद्र वलीलाई तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले घरमै पुगेर सहयोग गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाभित्र ६ जनामा यस्तो समस्या देखिएको छ । समस्या देखिएका ६ जनालाई यातायात सुविधाबापत प्रत्येकलाई १५ हजार सहयोग गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर केसीको अध्यक्षता एवम नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा सहयोग गरिएको हो ।

वडा नं. ७ का एउटै घरका तीन दाजुभाइमा यस्तो समस्या देखिएको छ । वडा नं. ७ डाँडापातुका ३८ वर्षका शेरबहादुर चौधरी, ३३ वर्षका रामबहादुर चौधरी र ३० वर्षका काशीराम चौधरी यो रोगबाट प्रभावित छन् । २०६८ सालमा भाइको शल्यक्रियाका क्रममा रक्तश्रावकै कारण रोग पत्ता लागेको दाजु रामबहादुर चौधरीले बताए । चौधरीले वर्षमा १६ पटक उपचार गर्नका लागि काठमाडांै जानुपर्ने र एकपल्ट जाँदा तीन दाजुभाइको २० हजार रुपैयाँ खर्च हुने बताए ।

तुलसीपुर उपमहानगरपालिका भित्र अहिलेसम्म ६ जनामा यस्तो रोगका बिरामी भेटिएको स्वास्थ्य शाखाका अधिकृत विष्णु गिरीले बताइन् । गिरीका अनुसार यो रोग लागेका बिरामीमा शरीरमा नीलो डाम देखिने, रक्तश्राव हुने, जोर्नी सुनिने जस्ता लक्षण देखा पर्दछन् । नगर प्रमुख खड्काले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर आगामी वर्षदेखि हिमोफेलियाका बिरामीको उपचार खर्चमा थप व्यवस्था गरिने बताए । नेपालमा २०७८ को जनगणना अनुसार चार हजार नौ सय ३७ जना र लुम्बिनी प्रदेशमा ९ सय ५८ जना बिरामी छन् । रगत जमाउने तत्वको अभावमा यो रोग देखापर्दछ ।

यो रोगबाट प्रायः पुरुषलाई नै प्रभावित हुने गरेका छन् । हिमोफिलिया वंशाणुगत समस्या हो तर कसैमा वंशानणुगत नभएर अन्य कारणले पनि हुन सक्छ । रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमी भए वा सो फ्याक्टरको अनुपस्थिति भएमा रगत जम्न ढिलाइ हुन्छ र लामो समयसम्म रगत नरोकिन सक्छ । यही समस्यालाई हिमोफिलिया भनिन्छ । रक्तस्रावको स्थितिमा हाम्रो शरीरले सो रक्तस्राव रोक्न तीन चरणको कार्य गर्दछ ।

रक्तस्राव भएको स्थानको रक्तनलीहरूमा सङ्कुचन हुन्छ । प्लेटलेट प्लगको निर्माण हुन्छ । छालामा फाइब्रिन जालोको निर्माण भई रक्तस्राव रोकिन्छ । हिमोफिलिया प्रायः पुरुषहरूमा हुन्छ । महिलाहरू नगन्ने रूपमा मात्र पीडित हुन्छन् । प्रति १० हजार शिशुहरूमा एक जना हिमोफिलिक हुने सम्भावना हुन्छ ।