नारायणप्रसाद श्रेष्ठ
ज्ञान, बुद्धि र विवेकशील भएर होला मनिसको कर्म र व्यवहारमा व्यक्तिविशेष फरक–फरक भएको पाइन्छ । आचरण, व्यवहार र दृष्टिकोणमा फरक भई विचार र चिन्तन फरक प्रदर्शन भएको देखिन्छ । एकथरि मानिसहरु देख्दा सफा, सुन्दर भएका देखिन्छन् ।
ज्ञान, सिप र लवाइखवाइ सरल देखिन्छ तर पनि उसको नियत र व्यवहारमा खोट देखिन्छ । अर्कोथरि मानिसहरु देख्दा खासै सुन्दर नदेखिए पनि उसको नियत र व्यवहार सफा र असल भएको पाइन्छ । उसले बोल्दा, लेख्दा खरो र कडा व्यवहार देखिए पनि उसको मन निःस्वार्थ र सेवाभावले प्रेरित भएको पाइन्छ । वास्तवमा यो मानवीय चरित्रभित्र देखिने यथार्थ हो । यही सत्यले सामाजिक बनोटमा राम्रो र नराम्रो पक्षले प्रश्रय पाएको देखिन्छ ।
अहिले वर्तमानमा जेजस्तो विकृति र विसङ्गति भइरहेका छन्, यस्तै सबै द्वेत चरित्र भएकाहरुको कारणले भए, गरेको पाइन्छ । तसर्थ यस सत्यलाई बुझी अब आउने नयाँ पिढीको लागि नयाँ परिवेश बनाउने कुरामा हामी सबै गम्भीर हुन जरुरी छ । हिजोआज ‘जो चोर उसैको ठुलो स्वर’ हुने भन्ने गरी समाज गतिशील भइरहेको छ । सत्य डगमगाइरहेको छ । कुरा र कर्ममा भिन्नता छ । सत्यलाई असत्य बनाउने ढृष्टता गरिँदैछ । सत्ता र शक्तिको आडमा व्यक्तिले आफ्नो निहित स्वार्थ परिपूर्ति गर्दै आफूअनुकूल समाजलाई गतिशील बनाउन खोजिरहेको देखिन्छ । आफूलाई योग्य सम्झिँदै अरु केही पनि होइनन् जस्तो गरेर चरित्र प्रदर्शन गरिरहेका छन् ।
आफूलाई पर्दा आकाश खसेजस्तो अनुभूति गर्ने, अरुलाई पर्दा यो स्वाभाविकै हो, यस्तो भइहाल्छ नि भन्ने जमात अहिले प्रशस्तै भेटिन्छन् । वास्तवमा यी सबै व्यक्तिको लोभ, मोह र आशक्तिप्रतिको लगाव हो । यस्तो आरणले क्षणिक आनन्द त अवश्य दिन्छ तर यसको परिणाम मानिसको लागि दुर्भाग्य हुनसक्छ । किनकि लोभी स्वभावका मानिसलाई जति भए पनि, जति पाए पनि उसको आत्मतृप्ति हुँदैन । लोभको भाँडा उभिन्डो भनेझैँ लोभी र आशक्ति व्यक्तिलाई जति दिए पनि, भए पनि ऊ अरु पाउने चाहनामा लागिरहेको हुन्छ । किनकि लोभीलाई सय देऊ उसले हजार पाउने आशा राख्छ । हजार देउ लाख पाउने कुरा गर्छ ।
लाख देउ करोडौँ खोज्छ । यो कहिल्यै पनि तृप्ति नहुने असन्तुष्टि प्रवृत्ति हो । जब यस्तो प्रवृत्तिले मानिसको आचरण र व्यवहारमा डेरा जमाउने परिस्थिति बन्दछ तब त्यहाँ मानवीयता आचरणहीन कर्मतर्फ प्रविष्ट हुन पुग्दछ । विवेक शून्य भई नियत खराब प्रवृत्तितर्फ उन्मुख हुन पुग्छ । जति हुने उति रुने भनेझैँ इच्छामाथि थप इच्छा राख्दै उसको कर्म र व्यवहार केवल स्वार्थतिर केन्द्रित हुन पुग्छ । फलस्वरुप भ्रष्ट र भ्रष्टाचार मौलाउँदै जान्छ । अनैतिक र आचरणहीन गतिविधि बढ्न थाल्छ । भौतिक आवरणले सजाइएको सुखसुविधातर्फ मानिसको ध्यान केन्द्रित हुन गइ समाज प्रदूषित बन्न पुग्छ । जुन कुरा नेपालको वर्तमान राजनीतिक वृत्तचित्रमा देखापर्दै गरेका छन् ।
आफ्ना् आङमा भैँसी हिडेको नदेख्ने, अरुको आङमा जुम्रा हिडेको देख्ने प्रवृत्तिले प्रश्रय पाई आपसी द्वन्द्व र वैमनस्यताको बिज जब विजारोपण हुने परिस्थिति सिर्जना हुन्छ तब त्यहाँ अन्धश्रद्धाभक्ति बढ्न गई रकम र विलाशी जीवनतर्फ मानवीय चिन्तन बढ्न थाल्छ । सामाजिक मूल्य र मान्यतामा धमिरा लाग्न सुरु भइ समाज प्रदूषित बन्न थाल्छ । जसको कारण भ्रष्टाचारको जालो चारैतिर पुग्न थाल्छ । मानिस अरुको इसारामा चल्नुपर्ने परिस्थिति जन्मन्छ । जसको कारण बोली, कर्म र व्यवहारमा फरक पर्न गई मानवीय संवेदनशीलता समेत गुम्ने खतरा मडारिन पुग्छ ।
त्यसपछि हात्तीको देखाउने र खाने दाँत अलग भएझैँ मानिसको व्यवहार र कर्ममा फरक पर्दैै जान्छ । मानिस जन्दाजान्दै पनि भ्रष्टाचारको दलदलमा फस्दै जान्छ । यस्तो परिस्थितिमा व्यक्तिको परिचय त हुन्छ तर विवेकशील भएर होइन भ्रष्ट र अनैतिक कर्मको मतियार भनी पहिचान हुन पुग्छ । तसर्थ, यस कुराको यथार्थ पहिचान गरी सत्यको अघि–पछि सत्य नै लुकेको हुन्छ भन्ने मान्यता राखी प्रकृतिको नियमानुसार चल्ने शृष्टिचक्रको सत्यतालाई बुझी मानिस स्वयम् विवेकी बन्न सक्नु पर्छ ।
मानिसभित्र रहेका जति पनि अहङ्कार, घमण्ड र स्वार्थ अभिमान छन् ती सबै मानवीय स्वार्थले उत्पन्न भएका र भौतिक सुखसुविधाका कारणले भएका हुन् । त्यसैले घाँटी हेरी हाड निल्नुपर्छ भन्ने उखानलाई आत्मसात गर्दै आफूलाई प्रस्तुत गर्नु पर्छ । कहिल्यै तृप्ति नहुने मानव आकाङ्क्षा नै मानिसलाई पतन गराउने माध्यम हुन् । यो सबै कुरा बुद्धिमानले बुझेर पनि बुझ पचाइरहेको अवस्था छ । जो बुद्धिमान् उही भ्रष्ट र भ्रष्टाचारी हुनुपर्ने अवस्था यही कारणले आउन सक्छ । नैतिकता किनबेचमा पर्न सक्ने स्थिति पैदा हुन्छ ।
शृष्टिको इतिहासमा कुन गलत, कुन सही हो ? त्यो छुट्याउन सक्ने विवेक र ज्ञान मानिसभित्र रहेको पाइन्छ । सोच्ने, बुझ्ने र गर्ने बुद्धि पनि पाएको छ तर पनि क्षणिक मोह र चर्मदृष्टिको लालचमा भ्रष्ट र भ्रष्टाचारी भइरहेको देखिन्छ । यसले अवसरवादीको गलत मनसायबाट सबै अवसरवादीमा गनिनुपर्ने अवस्था आउँछ । सबै ड्याङका मुला एउटै त हुन् भनी राम्रो र नराम्रो एउटै नजरले हेर्ने परिस्थिति जन्मनसक्छ । वास्तवमा यो विषय वर्तमानमा निकै गम्भीर र चुनौतीपूर्ण भएर देखापरेको छ । विवेकशील र सकारात्मक सोच भएका व्यक्तिलाई यसबाट भ्रम सिर्जना हुँदैछ । एकअर्कामा शङ्का उत्पन्न भइ आपसी बैमनस्यता बढ्दै छ । यसले सामाजिक वातावरण धमिलो हुने प्रष्ट देखिन्छ ।
तसर्थ, समाजलाई प्रदूणमुक्त बनाउन, भ्रष्टाचार शून्य गर्ने अभियानमा सबै जुट्नु निश्चय पनि राष्ट्रको लागि हितकर मान्न सकिन्छ । सूर्य पूर्वबाट उदाउँछ भन्ने कुरा जसरी सत्य प्रमाणित भइ समय गतिशील भएको छ, त्यसरी नै भ्रष्टाचार शून्य सहनशीलता राष्ट्र र राष्ट्रियताका लागि सुनौलो बिहानी हो भनी मान्न सकिन्छ । सत्तालिप्सा र स्वार्थ, यो प्रवृत्ति प्रदूषित गराउने मुख्य आधार हुन् तर पनि अहिले मानवीय चेतना यसतर्फ खासै अकर्षित भई नसकिरहेको अवस्था छ । अहिले आफूलाई सर्वेसर्वा र बुद्धिमान ठान्नेहरुले वर्तमान परिवेशमा जेजस्तो अनैतिक र अमर्यादित कार्य गरेका छन्, वास्तवमा यो सबैको लागि दुर्भाग्य मान्नुपर्छ ।
अहिले ज्ञानी र विवेकशीलवाला नै अज्ञानी र भ्रष्ट देखापरेको अवस्था छ । जब नियतमै खोट छ भने त्यस व्यक्तिप्रतिको विश्वास कति होला ? आम जनमानसले उसलाई हेर्ने दृष्टिकोणमा कस्तो प्रभाव पर्ला ? यसतर्फ सबै सचेत आत्माले गम्भीर चिन्तन गर्नु जरुरी छ । समयको गतिसँगै परिवर्तन हुने सामाजिक गतिविधिलाई हेर्दा वर्तमान निकै उकुसमुकुस भएर आइरहेको देखिन्छ । केही कुरामा नियतमा सफा भएका व्यक्तिले चुनौती र अवसरलाई सदुपयोग गर्दै विकृति र विसङ्गति हटाउन लागिपरे पनि अधिकांशहरु कुन मनोविज्ञानले हो, अर्कै दिशातर्फ उन्मुख भएको देखिन्छ । भन्ने गरिन्छ– जसले केही जान्दैन उसले अपराध पनि गर्दैन ।
जो जान्ने हो उही सक्कली चोर भनेझैँ बुद्धिमानले नै अपराधको प्रवृत्ति र कारण बुझेकोले बुझेकोले नै वातावरण बनाएको परिस्थिति अहिले वर्तमानमा देखिएको छ । समाजमा जति पनि ठुला–ठुला अपराध भइरहेका छन् ती सबै बुझेका र विवेकीले नै गरेको देखिन्छ । वास्तवमा यो असीमित इच्छा र चाहना राख्नाले भए गरेका हुन् । त्यसैले समाज प्रदूषित गराउने भनेकै बुद्धिमान र विवेकशील मानव स्वभावको स्वार्थी र अहङ्कारी प्रवृत्ति भएकोले यसलाई समयमै सच्याउन जरुरी छ ।
नेपालमा हाल भइरहेको भ्रष्टाचार र अनैतिक कार्यको सन्दर्भलाई हेर्ने हो भने भुटानी शरणार्थी काण्ड, ललितानिवास काण्ड, १५५ किलो सुन काण्ड, जातीय द्वन्द्वसम्बन्धी मुद्दाहरु यी सबै बुद्धिमान र विवेकीले नै गरेको परिप्रेक्षमा यस्तो अवराध प्रवृत्ति उन्मुख हुनु नेपालको छविमा दाग लाग्नु हो । यस बेलामा अपराधजन्य कार्यमा संलग्नलाई जतिसक्यो चाँडो कानुनी दायरामा ल्याइसक्नुपर्नेमा ल्याङल्याङ गरी विषय, विषयान्तर गर्ने प्रवृत्ति जुन देखिँदैछ यसले यहाँ कोही चोखो नरहेको पुष्टि हुँदै छ । बुद्धिमान भई नेता र नेतृत्व गर्दैमा सबैको नियत सत्य हुन्छ भन्ने विचार कमजोर हुँदैछ । चेतना भया ।