calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

मेरो खुशी : पहिलो पटक जनप्रतिनिधि भएको दिन …

उनको ध्येय समाज सेवा थियो । समाज सेवाका लागि राजनीति एउटा भ¥याङ, त्यसैले उनले रोजे राजनीति । मिसन पोलिटिक्स अर्थात राजनीति गर्नेका अनेक गन्तव्य हुन्छन्, अनेक चाहना हुन्छन् । उनले रोजे तात्कालीन जिल्ला विकास समितिको सदस्य । त्यही दौरानमा उनी विसं २०५३ सालको स्थानीय तहको निर्वाचनमा जिल्ला विकास समितिको सदस्य पदमा निर्वाचित भए । त्यो दिन र तिथि मिति उनले स्मरण गरेनन् तर त्यो साल विसं २०५३ थियो ।

लेखिदिनु होला मेरो सबैभन्दा अविस्मरणीय खुसीको क्षण त्यही ‘त्रिपन्न’को चुनावको नतिजाको दिन हो । जसले मलाई जनताको प्रतिनिधि बनाएको थियो । यो खुसीको स्मरण हो, हाल जिल्ला समन्वय समितिका प्रमुखको भूमिकामा काम गर्दै आएका जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माको । कृषि उनको साँझबिहानको चासो । जागिरे जिन्दगी उनले कहिल्यै रोजेनन् । न उनलाई शिक्षक बन्ने चाहना भया न लोक सेवा लडेर जागिरे बन्ने । चाहना थियो त केवल समाज सेवाका लागि राजनीति ।

त्यही भएर उनले आफ्नो खुसीको अविस्मरणीय क्षणका रूपमा पहिलो पटक जनप्रतिनिधि बनेको दिनलाई स्मरण गरे । उनी जुन बेला स्थानीय तहको निर्वाचनमा होमिएका थिए, जुनबेला देशमा तत्कालीन माओवादी र सरकारको सशस्त्र द्वन्द्व चलिरहेको थियो । त्यही समयमा भएको निर्वाचनमा होमिन कम्ति चुनौती थिएन । किनकि त्यो बेला नेपाली कांग्रेस माओवादीको पहिलो निसाना थियो । कसैलाई सुराकीको आरोप त कसैलाई असहयोगको आरोपमा माओवादी स्थानीय कार्यकताले झन्झट दिन्थे । त्यस्तो अवस्थामा पनि जनप्रतिनिधि बन्नु एउटा चुनौती थियो ।

नित्यानन्द शर्मा भन्छन्–‘मलाई समाज सेवाको चाहना थियो, त्यहि भएर त्यस्तो समयमा पनि मैले जनप्रतिनिधि बन्न अठोट गरेँ, जसले मलाई सफल गन्तव्यमा डो¥यायो ।’ उनी जिल्ला विकास समितिमा निर्वाचित हुन साविकको लालमटिया, गोबर्डिया, सिसहनिया र हाँसीपुरले मत दिनुपर्ने थियो । ती गाविसका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै वडा सदस्यले मत दिएर मात्र जिल्ला विकास समितिको सदस्य चुन्न सकिने व्यवस्था थियो । जिल्ला विकास समिति सदस्य लड्न पनि सम्बन्धित वडाबाट सदस्यमा निर्वाचित भएको हुनु पथ्र्यो ।

विसं २०५३ सालमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएको दिनको खुसीलाई उनले सबैभन्दा पहिले देउखुरी क्षेत्रबाट निर्वाचित सांसद हरि चौधरीलाई बाँडे । त्यसपछि आफू निर्वाचित भएको खुसी स्थानीय नेता श्रीनारायण चौधरीलाई बाँडे । त्यसपछि मात्रै उनले आफू निर्वाचित भएको त्यो क्षणको खुसी परिवारमा लगे । परिवारमा बुवा चाँडै बित्नुभएको थियो । त्यही भएर उनले घरमा गएर आमा खेता शर्मा र श्रीमती गोमा पौडेललाई आफू जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएको खुसी सुनाए ।

आमाबाट आशीर्वाद लिए अनि श्रीमती गोमाबाट साथ र सहयोगको शुभेक्षा । त्यसपछि उनी आफ्नो घर भानपुरबाट कहिले घोराही, कहिले हाँसीपुर, कहिले गोबर्डिया, कहिले सिसहनियामा स्थानीयबासीका विकासका चाहना बटुल्न पुग्थे । ‘मेरा झोलाभरि स्थानीयका विकासे योजनाका चाङ हुन्थे, मैले प्राथमिकताका आधारमा जिल्ला विकास समितिबाट योजना पार्थेँ’, नित्यानन्दले भने । जिल्ला विकास समितिको सदस्य भइरहँदा उनलाई तत्कालीन जिल्ला विकास समितिका सभापति भरत केसीले शपथ खुवाएका थिए ।

त्यही शपथले उनलाई जिल्लाको विकास निर्माणका लागि यही क्षेत्रको नेतृत्व गर्नुपर्ने रहेछ भन्ने भावना पलायो तर व्यवस्था परिवर्तन पछि जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भयो । गाविसहरू सङ्घीयता आएसँगै गाउँपालिका बने । नगरपालिकाहरू उपमहानगरपालिका बने । केहि अधिकार विकेन्द्रित भए तर पनि उनको जिल्ला विकास समितिको अपनत्व र महत्व घटेन । ‘एक पटक जिल्ला समन्वय समितिको प्रमुख बन्नु पर्छ भन्ने मेरो चाहना थियो, त्यही भएर यहाँ आउन फेरि सदस्यमै चुनाव लड्नु प¥र्यो’, शर्माले भने ।

जिल्ला समन्वय समितिको प्रमुख बन्न पाउनुमा उनले त्यसको श्रेय दाङका अग्रज कांग्रेस नेतृत्वलाई दिन्छन् । बहुदल प्राप्तिपछि जिल्लामा क्रियाशील सदस्यता बाँड्न आएका बलदेव मजगैयाँदेखि खुमबहादुर खड्कासम्मलाई र अहिलेको नेतृत्व केन्द्रीय सदस्य दीपक गिरी, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे तथा जिल्ला सभापति शंकरप्रसाद डाँगी समेतको सल्लाहमा उनी वडाबाट सदस्यमै चुनावी प्रतिस्पर्धा गरे । विजयी पनि बने । उनी कांग्रेसको तर्फबाट विजयी बनिरहँदा वडाध्यक्ष सहित अन्य सम्पूर्ण पदमा एमालेले जितेको थियो ।

‘म नेपाली कांग्रेसको एउटा क्रियाशील कार्यकर्ता थिएँ, त्यसैले मलाई सबै अग्रज नेतृत्वबाट सधैँ हौसला र उत्प्रेरण मिलिरह्यो, खेमाको राजनीति मेरो शब्दकोशमा थिएन’, शर्माले आफ्नो अविस्मरणीय क्षण सुनाउँदै भने । उनी अहिले जिल्ला समन्वय समितिको नेतृत्वमा छन् तर जिल्ला समन्वय समितिको कार्यकारी अधिकार कटौती भएकोमा धेरै चासो छ । कम्तिमा थोरै भए पनि कार्यकारी अधिकार दिन सङ्घ र प्रदेश सरकारले दिल खुल्ला गर्नुपर्ने उनको चाहना हो तर पछिल्लो समयमा त्यो साकार हुन सकिरहेको छैन । आलङ्कारिक पदमा बसिरहँदा कार्यकारी अधिकार भए हुन्थ्यो भन्ने चाहना पलाउनु स्वाभाविक हो ।

त्यसो त उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको थियो । विसं २०३६ सालमा सुरु भएको बहुदल प्राप्तिको आन्दोलनमा पनि उनी निकै क्रियाशील रहे । हरेक गाउँमा रहेका स्कुल र क्याम्पसमा पुगेर उनले नेविसङ्घका इकाई विस्तार गर्न क्रियाशीलता देखाए । विद्यार्थी नेता कमलकिशोर घिमिरे, नन्दकुमार धिताल, भोला अधिकारी, शालिकराम रेग्मीलगायतका विद्यार्थी नेतालाई पनि स्मरण गर्छन्, उनी ।

हामी सबैको त्याग र मिहिनेतले धेरै विद्यालय र कलेजमा नेविसङ्घ गठन भएको हो । त्यसो त उनको अर्को खुसीको अविस्मरणीय क्षेत्र विसं २०७९ को निर्वाचनमा वडा सदस्य निर्वाचित भएपछिको हो । उनी वडा सदस्यमा निर्वाचित भएकै दिन घरमा सामान्य खुसी साटासाट पनि भएको थियो । श्रीमती गोमा, छोरा निश्चल र छोरी नीतिकाले नित्यानन्द निर्वाचित भएकोमा खुसी मनाएका थिए । खासमा उनलाई राजनीति र समाज सेवामा अहोरात्र खट्नमा श्रीमती गोमाको सधैँ साथ र सहयोग रह्यो ।

माथि उल्लिखित खुसीका अविस्मरणीय क्षणका अभिव्यक्ति हुन्, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माका । बुवा हुमातान्त शर्मा मरासिनी र आमा खेता शर्माको कोखबाट विसं २०२१ सालमा प्युठान जिल्लाको साविक हंशपुर गाउँपञ्चायतमा जन्मिएका नित्यानन्दको नामै काफी छ, खुसीका लागि । नित्यानन्द, अर्थात दिनदिनै आनन्दित हुने । उनको जन्मथलो प्युठान । प्राथमिक शिक्षा जन्मेकै गाउँको नेरा प्रावि हंशपुर । त्यसपछि कक्षा ६ देखि ८ सम्मको शिक्षा देउखुरीको लालमटिया गाविसको स्कूलबाट ।

महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेर पढाइलाई थाँती राख्दै राजनीतिमा जमे, नित्यानन्द । खासमा उनको राजनीतिक यात्रा विसं २०३६ सालमाको देशव्यापी आन्दोलनताका सुरु भयो । जुनबेला उनी लालमटिया स्कुलमा अध्ययन गर्थे । विसं २०५३ को स्थानीय तहको निर्वाचनमा सिसहिनिया गाविस वडा नम्बर ३ को अध्यक्षमा पनि उनी निर्वाचित भए । विसं २०५४ मा जिल्ला विकास समिति दाङको सदस्य । त्यसपछि विसं २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गापाको वडा नं ७ बाट वडा सदस्य । सोही वर्ष जिल्ला समन्वय समितिको उपप्रमुखमा दरखास्त, निर्वाचनपछि कांग्रेसको ८ मत आयो । एमाले र माओवादीको तालमेल भएका कारण पराजय भोग्नु प¥यो ।

त्यसपछि अहिले विसं २०७९ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकाको वडा नं ७ को वडा सदस्य हँुदै जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भए । कांग्रेस माओवादी तालमेलका कारण एमालेले मनोनयन दर्ता नै नगरेपछि शर्मालाई निर्वाचन कार्यालयले निर्विरोध रूपमा जिल्ला समन्वय प्रमुखमा निर्वाचित भएको प्रमाणपत्र दियो । शर्मा राजनीतिमा मात्र होइन नेपाल परिवार नियोजन सङ्घ दाङको आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीको सदस्य, वन उपभोक्ता समूह, विद्यालय व्यवस्थापन समितिलगायत थुप्रै संस्थामा आबद्ध छन् ।

प्रस्तुती : खेमराज रिजाल