calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

कांग्रेसको आन्तरिक विशेष अभियान : नेताका मन माझ्ने थलो

गोरक्ष समाचारदाता
दाङ, २६ साउन । नेपाली कांग्रेसले थालेको ‘आन्तरिक विशेष अभियान’ नेताहरूबिच मन माझ्ने थलो भएको छ । नेपाली कांग्रेसले सुरु गरेको आन्तरिक विशेष अभियान पार्टीका नेताहरूको मनमा रहेका तिक्तता तथा गुनासा राख्ने र माझामाझ गर्ने ठाउँ बनेको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले विहूवार घोराहीमा गरेको आन्तरिक विशेष अभियान अन्तर्गतको कार्यक्रममा बोल्ने अधिकांश नेताले पार्टी नेतृत्व पार्टीको विधान र प्रक्रिया अनुसार नचल्दा पार्टी कमजोर हुनुका साथै सङ्गठनहरू समेत निष्क्रिय रहेको र कार्यकर्तामा निराशा छाएको गुनासो पोखे । पार्टीलाई सङ्गठित गर्दै चलायमान बनाउन पार्टीको नीति र सिद्धान्तलाई फलो गर्दैै आफ्नो व्यक्तिगत प्रवृत्तिलाई समेत सुधार गर्दै केन्द्रदेखि जिल्ला तहसम्मका नेता इमान्दार रूपमा लाग्नुपर्ने उनीहरूको सुझाव थियो ।

नेताले नेतृत्वको प्रवृत्तिमा सुधार नगरे जागरण अभियान, विशेष अभियानलगायतका अभियान चलाए पनि काम नलाग्ने भन्दै सचेत समेत बनाए । पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै वडा तहसम्मका जिम्मेवारीमा बसेका नेताहरू इमानदार बन्ने, जनताको भावना बुझेर काम गर्ने र क्रियाशील बन्न सके पार्टी कमजोर नबन्ने कांग्रेसका पूर्व जिल्ला सचिव टेकबहादुर वलीले सुझाव दिए । कांग्रेसमा नीति र सिद्धान्तभन्दा पनि व्यक्तिगत प्रवृत्तिमा कमजोरी हुँदा नेतासँगै कार्यकर्तामा निराशा छाएको भन्दै आन्तरिक विशेष अभियानका क्रममा नेताले आपूmमा भएको गलत प्रवृत्ति सुधारमा ध्यान दिनुपर्ने उनले सुल्झाए ।

‘कांग्रेसको नीति र सिद्धान्तमा कुनै समस्या छैन । व्यक्तिगत प्रवृत्तिमा समस्या हो’, पूर्व जिल्ला सचिव वलीले भने, ‘नेतृत्वमा बस्नेको गलत प्रवृत्तिकै कारण पार्टी कमजोर बन्ने अवस्थामा छ । जिल्लादेखि केन्द्रसम्म नेतृत्वमा बस्ने हरेक तहका नेताहरू ध्यान दिँदै आपूmमा भएको गलत प्रवृत्तिलाई सुधार गर्न आवश्यक छ ।’ कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले व्यक्तिका बिचमा रिसिबीभन्दा सहकार्य गरेर सङ्गठन निर्माणमा अघि बढनुपर्ने बताए । उनले भाषणमा राम्रा कुरा गर्ने तर व्यक्तिगत व्यवहारमा सुधार नहुँदा जनता निराश भएको बताए ।

उनले कांग्रेसलाई बलियो बनाउने नर्सरी नेविसङ्घ भएको भन्दै नेविसङ्घलाई पार्टीले जोडेर अघि बढाउन पार्टीका नेताले सहयोग गर्नुपर्ने समेत बताए । किसान आन्दोलनबाट सुरुवात भएको नेपाली कांग्रेस पार्टीले किसानका पिरमर्का बुझ्न नसक्दा कमजोर हुन पुगेको नेपाल किसान महासङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । उनले केन्द्रदेखि नै पार्टी नेतृत्वले किसानलाई बर्सेनि देखिएका समस्या समाधानका लागि ध्यान दिनुपर्ने बताए । ‘नेताबिचमा मनमुटाव राखेर पार्टी बन्दैन, पार्टी बनाउन मन भित्रका तिक्तता हटाउनु पर्छ । अप्ठेरो पर्दा एकले अर्काेलाई सहयोग गर्ने भावना जागृत हुनुपर्छ’, कार्यक्रममा जिल्ला अध्यक्ष चौधरीले भने, ‘पख्लास र देख्लास भन्ने रिसिबी राखेर सङ्गठन बन्दैन ।’

कार्यक्रममा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १८ का इकाई सभापति केशव रावतले पार्टी नेतृत्व तथा जनप्रतिनिधिका कारण सर्वसाधारण जनतामा निराशा छाएको भन्दै त्यसलाई सम्बोधन गर्न ध्यान दिनु पर्ने बताए । ‘निर्वाचनमा आफ्ना नेतालाई जिताउन खट्ने कार्यकर्तालाई जितेपछि जनप्रतिनिधिले नचिन्ने प्रवृत्ति बढ्यो । त्यसर्ले जनप्रतिनिधिसँग जनता निराश छन्’, उनले भने, ‘त्यसको असर हामीलाई परेको छ । जनप्रतिनिधले भनेको काम गर्दैनन्, जसले गर्दा जनताले नपत्याउने अवस्था आइसक्यो ।’

उनले जिल्लामा देखिएका विकास निर्माणका समस्यासँगै समसामयिक विषयलाई बुझेर पार्टीले कदम चालनु पर्ने समेत बताए । नेताले अहिलेकै प्रवृत्ति देखाए २०८४ सालको निर्वाचनमा पार्टी कमजोर बन्ने भन्दै अहिलेदेखि नै पार्टीलाई विधि र प्रक्रियाका आधारमा चलाउन आफ्नो व्यक्तिगत प्रवृत्तिमा सुधार गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले नेतृत्वमा इमानदारितासँगै पार्टीलाई नीति र प्रक्रियामा हिडाएर अहिले देखिएका सबै समस्या हल हुने बताए । ‘नेतृत्वले इमानदारीपूर्वक पार्टीलाई चलाउन नसक्दा पार्टीसँगै भ्रातृ संस्था कमजोर भएका छन्’, उनले भने, ‘त्यसका लागि पार्टीका हरेक तहमा बसेका नेता तथा कार्यकता इमानदार भएर लाग्न आवश्यक छ ।’ कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका गजेन्द्रबहादुर हमालले कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र मतभेदलाई कम गर्दै सङ्गठन चलायमान बनाउन यो अभियान सुरु भएको बताए । यसले सङ्गठनलाई बलियो र क्रियाशील बनाउने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता तथा प्रदेश सभा सदस्य प्रचण्डविक्रम न्यौपानेले पार्टी सङ्गठन मजबुत बनाउन जनतासँग कांग्रेसलाई जोड्ने कार्यक्रम ल्याएर अघि बढ्नु पर्ने बताए । पार्टी भित्रका आन्तरिक मतभेद र मनमुटावलाई मत्थर गर्दै सङ्गठन निर्माणका लागि जनस्तरबाटै लाग्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा प्रतिनिधि पुष्पा श्रेष्ठले पार्टी सुधार्न आफू सुध्रिन आवश्यक रहेको बताइन् ।

उनले सङ्गठन बनाउन नेतृत्वले महिला, युवा, विद्यार्थी लगायतलाई सङ्गठित गर्नतर्फ ध्यान दिनु पर्ने बताइन् । कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले विधि र प्रक्रियामा रहेर पार्टी र भ्रातृ सङ्घसंस्थालाई अघि बढाउनु पर्ने बताए । नियमसङ्गत रूपमा नेतृत्व चल्न सके धेरै कुरा समाधान हुने बताए । गौतमले सत्ता परिवर्तनले मात्रै देशको परिवर्तन नहुने भन्दै जनताको जनजीविकामा परिवर्तन ल्याउने गरी काम गर्नु पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले सबै ठाउँमा जनताका समस्या सम्बोधन गर्ने गरी आफूले प्रदेश संसदको भूमिका खेल्दै आएको बताइन् । कांग्रेसका नेता लेबेन्द्र धितालले जिम्मेवारी अनुसार इमानदार भएर काम गर्न सके पार्टीलाई राम्रो बनाउन सकिने बताए । कार्यक्रममा जनआन्दोलनका घाइते जिउँदो सहिद एवम् कांग्रेसका नेता कृष्ण गिरीले पार्टी भित्रको आन्तरिक गुट उपगुट, नातावाद, कृपावादसँगै फरक मत राख्नेलाई पेल्ने प्रवृत्तिको अन्त्य नहुँदासम्म पार्टी कमजोर भइरहने बताए ।

कार्यक्रममा कांग्रेस दाङका पूर्व जिल्ला सभापति मोहनलाल वली, कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, महासमिति सदस्य भूपबहादुर डाँगी, कमलकिशोर घिमिरे, जिल्ला सचिव बालिका लम्साल, महाधिवेशन प्रतिनिधि मोहन घिमिरे, महासमिति सदस्य किरणकिशोर घिमिरे, कांग्रेस क्षेत्र नं २ का संस्थापक सचिव गोविन्द मजगैयाँ, घोराही उपमहानगरपालिका–१० का वडाध्यक्ष दीपक पाण्डेय, नेपाली कांग्रेस क्षेत्र नं २ (क) सचिव माया पोख्रेल, तरुण दलका केन्द्रीय सदस्य सनत घिमिरे, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य निरज गिरी, कांग्रेस दाङका पूर्व जिल्ला कोषाध्यक्ष सावित्रा राना, महिला सङ्घ दाङका अध्यक्ष गोमा रावत, नेपाली कांग्रेस घोराही नगर सचिव पुष्पराज आचार्य, नेपाली कांग्रेस घोराही–१८ का वडा सभापति केशर रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम दाङ कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको थियो । प्रदेश सभा २ (ख) का सभापति अभियान बस्नेतको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण हिमबहादुर डाँगीले गरेका थिए ।