Goraksha

National Daily

प्रकाशकीय : तपाईँको अपेक्षा, हाम्रो प्रतिबद्धता

हामी आजदेखि १९औँ वर्षमा प्रवेश गरेका छौँ । गोरक्ष  दैनिक पत्रिकाले विगतका वर्षहरुमा जस्तो भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन असमर्थ रहेको पनि जानकारी गराउँछौँ । विश्वव्याधी कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वव्यापी अर्थतन्त्रमा प्रभाव प¥यो । हामी पनि त्यसको प्रभावमा छौँ । त्यसपछि विश्व अर्थतन्त्र उस्कने हाम्रो अपेक्षा थियो तर यही बिचमा रुस र युक्रेनको सशस्त्र युद्धले फेरि विश्वको अर्थतन्त्र प्रभावित भएको छ । परनिर्भरमुखी अर्थतन्त्र भएका मुलुकहरु यसबाट गम्भीर प्रभावित भएका छन् । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन ।
हाम्रो एक मात्र मिसन भनेको पारदर्शिता र सुशासन हो । सङ्घीयताको अभ्यास गरिरहँदा कहीँकतै सुशासनमा केही समस्या आएको हामी सबैले देखेका छौँ । तैपनि मुलुकलाई सही गन्तव्यमा लग्नु हामीजस्तै आम सञ्चार क्षेत्रको दायित्व हो । त्यसमा हामी कहिल्यै विचलित हुने छैनौँ । समृद्धिका हरेक अभियानमा हाम्रो सधैँ साथ र सहयोग हुने छ भन्ने पनि विश्वास दिलाउन चाहन्छु । सूचना प्रविधिको विकाससँगै छापा सञ्चार माध्यमहरु केही समस्यामा छन् भन्ने मैले लेखिरहनु पर्दैन तर पनि छापा माध्यमको आफ्नै विशेषता छ भन्ने पनि हामीले आत्मसात गरेका छौँ ।
हरेक पलमासँगै रहेका हामी र सम्पूर्ण पाठक अनि विज्ञापनदाताबिचको सहकार्यले नै गोरक्ष राष्ट्रिय दैनिकको यो यात्राको निरन्तरतालाई सम्भव तुल्याएको हो । यो अवसरमा हामी हाम्रा आदरणीय पाठकलाई सम्झिन चाहन्छौँ, जसले हामीलाई निरन्तर खबरदारी गरिरहनु भएको छ । लेखकहरु जो हाम्रो पत्रिकामार्फत् आम पाठकलाई वैचारिक बहसमा सामेल गराइरहनु भएको छ । पाठकहरु जसले रचनात्मक सुझावमार्फत् हामीलाई परिस्कृत सुझाव दिइरहनुभएको छ । हरेक पलमा पत्रिका पुगे–नपुगेको खबर दिइरहनु भएको छ अनि विज्ञापनदाता, जसले हाम्रो आर्थिक पक्षको व्यवस्थापनमा महत्वपूर्ण  जिम्मेवारी निर्वाह गरिदिनु भएको छ ।
नागरिकको आवाजलाई अभिव्यक्त गर्ने माध्यमका रुपमा यो पत्रिकालाई स्थापित गर्न खटिने हाम्रा सबै कर्मचारी सदस्यहरुप्रति पनि हामी आभार प्रकट गर्दछौँ । हाम्रा कर्मचारी जो प्रकाशन गृहको हितका निम्ति रातदिन खटेको छ, आम पाठकको हातहातमा पत्रिका पु¥याउन जसले मिहिनेत र लगनशीलता देखाइरहनु भएको छ, सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । गोरक्ष दैनिकमा प्रकाशन गरिएका यसका सैद्धान्तिक प्रतिबद्धताहरुबाट हामी पछि हटेका छैनौँ र हट्ने पनि छैनौँ ।
आम मानिसको जनजीविकाको सहयात्री बन्ने हाम्रो धेयसँगै विधिको शासन र लोकतान्त्रिक संस्कारयुक्त समाज निर्माण हाम्रो प्रतिबद्धता हो । यस अनुरुप समाजका सुदृढीकरणहरुलाई सम्बोधन गर्ने लोकतान्त्रिकीकरणको अभियानमा हामीले साथ दिँदै आएका छौँ । अहिले दाङका केही विशेष र दूरगामी महत्व राख्ने सवालहरु हाम्रा सामु उपस्थित छन् । हामीले हरेक मुद्दाहरुलाई स्थानीयतामै केन्द्रित गराउन पनि चाहन्छौँ । यो गर्दै पनि आएका छौँ ।
स्थानीय विषयहरु पनि पत्रिकाका पहिलो समाचार बन्न सक्छन् भन्ने कुरा हामीले स्थापित गरिदिएका छौँ । यहीँका नागरिकको सवाल, उनीहरुको आवश्यकता, ती आवश्यकता पूर्तिका उपायहरुको खोजी र ती उपायहरुलाई कार्यान्वयनको तहसम्म पु¥याउन आवश्यक सामूहिक भावनाको विकास हाम्रो अर्को चाहना हो ।
हाम्रा प्रकाशनका हरेक सामग्री कसैप्रतिको आग्रह वा पूर्वाग्रहभन्दा पनि विशुद्ध जनआवाज हुन् । हाम्रो सम्पादकीय नीति, सीमित स्रोत र साधनको अधिक्तम उपयोग गरेर आम पाठकको रुचिलाई समेट्ने क्रममा हामी कतिपय ठाउँमा चुकेका पनि छौँ होला तर पनि हाम्रा पाठकले त्यसलाई स्वीकार गर्नुभएको छ । हाम्रा कमी–कमजोरीले गर्दा पाठकमा पर्न जाने असुविधाप्रति हामी क्षमायाचना पनि गर्दछौँ र आगामी दिनमा यस्ता कमीकमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
हामी छापा माध्यम मात्र नभएर गोरक्ष अनलाइनका माध्यमबाट सूचना प्रविधिमा पनि जोडिएका छौ, पाठकको अपेक्षा अनुसार अनलाइन संस्करणलाई आगामी दिनमा थप व्यवस्थीत गर्दै लग्ने सोचमा छौँ । अन्त्यमा आवाजहीनहरुको आवाज गोरक्ष राष्ट्रिय दैनिक सधैँ सबैका माझमा रहने प्रतिवद्धता व्यक्त गर्दछौ ।